
सिमकोट – कर्णाली करिडोरको सडक निर्माणको जिम्मा पाएको नेपाली सेनाले हुम्ला खण्डमा लामा छोटा ११ वटा भीर छिचोलेर सडक निर्माण कार्य पूरा गरेको छ।
सेनाले पाँच वर्षको अवधि लगाएर असजिला र चट्टानी भाग भएका ती भीरहरु छिचोलेर सडक बनाउन सफल भएकाे हाे।
सेनाले कोरोना कहरकै बेला पनि निरन्तर काम गरेकाे थियाे।
अदानचुलीका स्थानीय परबहादुर थापाले सडक निर्माण समयमै सम्पन्न गर्न सेनाले दिनरात नभनेर काम गरेकाे बताए।
हुम्ला खण्डको कवाडीदेखि सलीसल्लासम्मको ३९ किलो मिटर क्षेत्रमा २०७३ चैत्र ९ गतेबाट सेनाले काम सुरु गरेको थियो।
सेनाले हुम्ला खण्डको सडक निर्माण गर्दा दूरी छोटो भए पनि कडा चट्टानी भाग र असजिला ११ वटा भीर छिचोलेर निर्माण कार्य पूरा गरेको खुलालु, लैफु कवाडी हुँदै सलीसल्ला खण्डको सडक निर्माण दलका प्रमुख मिलन कार्कीले जानकारी दिए।
काम पहिलेबाटै सुरु भए पनि अप्ठ्यारा र असजिला भीरहरुमा कोरोना संङ्क्रमण अवधिमै बढी काम भएको योजना प्रमुख कार्कीले बताए ।
उनले सेनाले दैनिक १५/१६ घण्टा काम गरेकाे बताए।
सेनाको सडक निर्माण दलले हुम्ला खण्डमा छिचोलेका भीरहरुमा तीर्थ सैना भीर डेढ सय मिटर, हल्गाडे दुई सय मिटर, काने भीर ढाई सय मिटर, चङ्खेला भीर डेढ सय मिटर, बालुकुना गौडा भीर दुई सय मिटर, लहरे भीर डेढ सय मिटर, खच्चा भीर दुई सय मिटर, नेरघाट भीर चार सय मिटर, बाँदर खोला भीर दुई सय मिटर र सलीसल्ला भीर एक किलो मिटर लम्बाइका छन्।
सलीसल्ला भीर सबै भन्दा असजिलो भएको कारण सेनाले डोरी बाँधेर समेत होल खोप्ने कार्य सम्पन्न गरेको थियो। यसका लागि सेना र सर्वसाधारण गरि साँढे पाँच सय कामदार संलग्न थिए।