
सिमकोट – हुम्लामा नेपालगञ्ज र सुर्खेतबाट कुखुराको मासु आयातमा प्रतिबन्ध लगाइएको छ।
आएकै दिन बिक्री गर्न नपाइने र तीन दिनसम्म सिमकोट विमानस्थलमा मासु राख्नुपर्ने भएपछि हवाई मार्गबाट मासु आयातमा प्रतिबन्ध लगाइएको हो।
कोरोना संक्रमणका कारण हुम्ला जिल्लामा हवाई मार्गबाट आउने मासुलाई प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए।
हवाई मार्गबाट आएकै दिन मासु बजारमा बिक्री गर्न नपाइने र तीन दिनपछि आएको मासु बिग्रिने भएको हुँदा कोरोना संक्रमणको अवधिभर कुखुराको मासु आयातमा प्रतिबन्ध लगाइएको उनले बताए।
हुम्लामा हवाई मार्गबाट ढुवानी भएको खाद्य तथा तरकारीलगायत सामग्रीलाई ७२ घण्टासम्म सिमकोट विमानस्थलबाटै उठाउन नपाइने नियम जिल्ला कोरोना व्यवस्थापन समितिले बनाएको छ।
अन्य सबै सामान सो अवधिपछि मात्र उठाउने गरिँदै आएको छ। लामो समयसम्म मासु राख्दा बिग्रिने भएको कारण मासु आयातमै प्रतिबन्ध लगाइएको उनले बताए।
७० प्रतिशत माग नेपालगन्ज र सुर्खेतबाट आएको मासुले हुम्लामा धान्ने गर्दै आएको थियो। कुखुराको मासु आयातमा प्रतिबन्ध लागेपछि हुम्लामा मासुको समस्या हुन थालेको छ।
खसी कम पाइने भएको कारण हुम्लामा नेपालगञ्ज र सुर्खेतबाट कुखुराको मासु आयात हुँदै आएको हो।
हुम्लामा कुखुराको मासु प्रतिकेजी ५५० रुपैयाँ पर्ने गर्थ्यो। मासु आयातमा प्रतिबन्ध लागेपछि आधा दर्जन व्यवसायीले मारमा परेका छन्।