
सिमकोट – कोरोना संक्रमणबाट हुम्ला जिल्लाकै लागि पहिलो मृतक टोबले विकका परिवारका सदस्यहरूले दलित र न्यून आयस्रोत भएकै कारण बिरामीको उद्धारमा सहयोग नपाएको गुनासो गरेका छन्।
कोरोना संक्रमित बुवाको उपचार गर्न जिल्ला अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएपछि उनीहरूले उक्त गुनासो गरेका हुन्।
कोरोना संक्रमित बुवालाई हेलिकप्टरबाट उद्धार गरेर थप उपचार गर्न पाएको भए बचाउन सकिने मृतकका छोरा भीम विकले बताएका छन्। स्वास्थ्य चौकीमा उपचार गर्न सम्भव नभएपछि बिहानै बिरामीका छोराहरूले गाउँपालिकासँग हेलिकप्टरमा उद्धारको कुरा पनि सुनाए पनि कतै सुनुवाइ नभएकाले बाध्य भएर पैदलै उपचार गर्न ल्याउनुपरेको उनले गुनासो सुनाए।
आर्थिक स्रोत कमी भएको कारण आफँै हेलिकप्टर रिजर्भ गर्न नसक्ने तर गाउँपालिका, प्रदेश सरकारको आशा गरे पनि त्यो पूरा नभएको पीडितले बताएका छन्।
कोरोना संक्रमित बिरामीको उद्धार गर्न हेलिकप्टरले साढे नौ लाख भाड लिने गर्छन्। आखिर आर्थिक कमी भएकै कारण बुवालाई गुमाउनुपरेको अर्का छोरा जसबहादुर विकले बताए।
सायद पैसावाल भए बुवालाई बचाउन सकिने उनले सुनाए। तर, गरिबले त्यो सोच्नु मूर्खता भएको उनले बताए। सर्केगार्ड स्वास्थ्य चौकीमा उपचारका लागि लगिए पनि पावरको कारण अक्सिजन दिन नसकिएपछि थप उपचार गर्न जिल्ला अस्पतालमा ल्याउँदा ल्याउँदै दुल्ली कुनामा मृत्यु भएको थियो। दुवै छोरा बिरामी बुवालाई लिएर जिल्ला अस्पतालतर्फ आउँदै थिए।