
सिमकोट – जिल्लामा पहिलो पटक कोरोना संक्रमणबाट मृतक सर्केगार्ड गाउँपालिका–२ को रिप गाउँका ५७ वर्षका टोप्ले विकको दाहसंस्कार आफन्तबाट गरिएको छ।
विकलाई लिएर आउने दुई जना छोरा र दुई जना आफन्तले नयाँ प्रावधानअनुसार दाहसंस्कार गर्न पाएका हुन्।
जिल्ला कोभिड व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले कोरोना संक्रमणको कारण मृत्यु भएका लासको दासंस्कारसम्बन्धी नयाँ कार्यविधिमा आफन्तले गर्न पाउने प्रावधान भएका कारण विकको लासलाई छोराहरूबाट सुरु गरिएको बताए।
उक्त लासलाई मृतकका छोरा भीम विक र जसबहादुर विकसहित चार जनाले गरेका हुन्।
यसका लागि गाउँपालिकाले कोरोना संक्रमितबाट मृत्यु भएको लासको दासंस्कारका लागि तोकेको स्थानमा गरिएको छ। उक्त लासको दाहसंस्कारका लागि नेपाली सेना जाने तयारी अवस्थामा रहे पनि लास भएको स्थान पुग्न सदरमुकाम सिमकोटबाट दुई दिन जान मात्र लाग्ने भएपछि समन्वयमा आफन्तले नै अन्तिम संस्कार गरेको उनले बताए।
यदि, आफन्तले नमानेको भए शुक्रबार सेना पुगेपछि मात्र दाहसंस्कार हुने थियो। नयाँ प्रावधानले ठूलो भूगोल भएका स्थानमा सहज बनाएको छ।
कोरोना संक्रमणको कारण हुम्लामा पहिलो पटक मृत्यु भएको थियो। कोरोना संक्रमित सर्केगार्ड गाउँपालिका–२ को रिप गाउँका स्थानीय ५७ वर्षका पुरुषको उपचार गर्न जिल्ला अस्पतालमा ल्याउने क्रममा बाटोमा मृत्यु भएको हो।
बिरामी भएर सर्केगार्ड स्वास्थ्य चौकीमा उपचारका लागि ल्याएका बेला उनको एन्टिजिन किटबाट कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो।
उनको बुधबार श्वास प्रश्वासमा बढी समस्या भएपछि घरका परिवारले गाउँपालिका केन्द्रको स्वास्थ्य चौकीमा पु¥याएको हो। बिरामी बिक दमका दीर्घरोगी हुन्।
अक्सिजनको व्यवस्था स्वास्थ्य चौकीमा भएको भए पनि विद्युत् समस्याको कारण त्यो पनि सम्भव भएको थिएन। उपचार नहुने भएपछि जिल्ला अस्पतालका चिकित्सकसँगको समन्वयमा बिहीबार बिहान मात्र बिरामीलाई जिल्लामा ल्याउनका लागि हिँडाउने कार्य भएको थियो।