
काठमाडौँ- नेकपा एमाले माधवकुमार नेपाल खेमामा अध्यक्ष केपी शर्मा ओलीसँग एकताका लागि प्रयास गर्ने या नगर्ने भन्नेमा स्पष्ट रुपमा २ धार देखिएको छ। यो खेमाका स्थायी कमिटी सदस्यहरु सुन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराई कार्यदलका सदस्य आफ्ना खेमाका नेता भीम रावल पार्टीबाटै निस्काशित भइसकेको अवस्थामा पनि ओलीसँगको एकताको प्रयासमा छन्।
कार्यदल निष्कृय भएका बेला आफूहरुले पार्टी एकताका लागि व्यक्तिगतरुपमा अनौपचारिक वार्ता गरिरहेको स्पष्टीकरण उनीहरुले दिएका छन्।
बिहीबारदेखि सुरु भएको यो खेमाको भर्चुअल केन्द्रीय कमिटी बैठकको पहिलो दिन नेता पाण्डे र भुसालले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास राख्नु पर्ने र पार्टी पुर्नगठनमा हतार गर्न नहुने सुझाव समेत दिएका छन्। साथै ओली पक्षसँगको अनौपचारिक वार्तामा सामेल हुनुभन्दा पहिले नेता नेपाललाई जानकारी गराएको उनीहरुको दाबी गरेका थिए।
तर यही खेमाका एमाले पोलिटब्युरो सदस्य जगन्नाथ खतिवडा, विजय पौडेल, प्रकाश ज्वाला र केन्दीय सदस्य राजेन्द्र राईले शुक्रबार संयुक्त वक्तव्य जारी गरी वार्ताकार नेताहरुलाई लक्षित गर्दै कार्यदलका सदस्य समेत निष्काशित भइसकेको अवस्थामा कार्यदलकै नाममा आफ्ना खेमाका स्थायी कमिटीका सदस्यहरु कोही वार्तामा जाने र कोही त्यसको जवाफदेहिता नलिने स्थितिमा पुग्नु आश्चार्यजनक भएको बताएका छन्।
स्थायी कमिटी सदस्यहरुको यस्तो कार्यबाट आफ्नो विचार समूह कमजोर भएको उनीहरुको निष्कर्ष छ। उनीहरुले भनेका छन्,‘ यो परिदृष्यले पनि हामी के निर्णय लिन्छौँ, कस्ता कामहरु गर्छौँ, क–कसले जवाफदेहिता बहन गछौँ र कसरी आफ्नो विचार समूहको एकतालाई कमजोर पारिरहेका हुन्छौँ भन्ने प्रष्ट पारेको छ ।’
साथै उनीहरुको प्रश्न छ,‘कार्यदलका सदस्यहरु, सांसद तथा केन्द्रीय सदस्यहरु नै पार्टीवाट निष्काशनमा परिसकेका र थप त्यही सूचनाको पखाईमा रहेको अवस्थामा के कमरेडहरुको सहमतिले सबै केन्द्रीय सदस्यहरुको सबै विचारको प्रतिनिधित्व गर्न सक्छ?’
ओली विदेशी शक्तिका लागि काम गरिरहेको आफूहरुको साझा ठहर भएका बेला ओलीलाई विश्वास गरेर घर न घाटको नबन्न वार्ताकार नेताहरुलाई उनीहरुले सुझाव समेत दिएका छन्।
साथै ओलीसँग मिल्न नसकिने निष्कर्ष निकाल्दै अन्य राजनीतिक दलसँग सहकार्य अघि बढाएका बेला ओलीको अपराधजन्य कार्यको ढाकछोप गरेर आफूहरुले विश्वासनियता गुमाउन नहुने उनीहरुको भनाइ छ।
उनीहरुले भनेका छन्,‘ ओलीको अपराधजन्य कार्यहरुलाई ढाकछोप गर्ने गरी कुनै बहानामा जोगाईदिने, पार्टीमा विद्रोह गर्ने हजारौँ कार्यकर्ता तयार भएको बेलामा त्यसलाई तुहाईदिने, अब केपीओली सँग मिल्न सकिँदैन भनेर निष्कर्ष निकाली अन्य राजनीतिक दलसँग सहकार्यको थालनी गरेको दिनदेखि नै घात गर्न थाल्ने कार्यले हामी प्रतिको विश्वसनीयता र ब्यक्तित्वलाई मात्र समाप्त गर्दैन, समग्र राजनीतिलाई झन दुषित बनाउने समूहको रुपमा चित्रित हुनेछौँ।’
उनीहरुले ओली सरकारको बहिर्गमन र राजनीतिक दलहरुसँगको सहकार्य आजको आवश्यकता भएकोमा पनि जोड दिएका छन्।
कार्यदलका नाममा भएका छलफलहरुको समग्र जानकारी नभएको र आफूहरुको अन्तरसंघर्षले कस्तो दिशा लिनुपर्छ भन्नेमा १० बुँदे सुझावसमेत उनीहरुले पेश गरेका छन्।
मध्यरातमा वार्ताको चाप बढाएर सर्वोच्च अदातलविरुद्ध परेका मुद्दा प्रभावित गर्ने प्रयास भइरहेको निष्कर्ष निकाल्दै उनीहरुले मुद्दाको किनारा नलागेसम्म वार्ता वा सम्झौताको कुनै पहल नगर्न आग्रह समेत गरेका छन्।
ओलीसँग एकता भइहालेका खण्डमा पनि उनले आगामी चुनावमा आफ्ना खेमाका नेताहरु खोजी खोजी हराएर किनारा लगाउने यी नेताहरुको ठहर छ।
ओलीले गत फागुन २८ गते नै पार्टी विभाजन गरेको निष्कर्ष निकालेका उनीहरुले स्वतन्त्र, निष्पक्ष महाधिवेशनको माग पनि गरेका छन्।
यो खेमाको भर्चूअल केन्द्रीय कमिटी बैठक जारी छ। बिहीबारको बैठकमा पनि एकता गर्ने कि पार्टी फुटाउने भन्ने विषयमा मतभेद भएको थियो।
नेता नेपाल, पार्टीका अर्का वरिष्ठ नेता माधवकुमार नेपाललगायतले पार्टी पुनर्गठनमा अब ढिलाई गर्न नहुने सुझाव दिएका थिए। तर आफ्ना खेमाका सबै नेताहरुको सुझावको सम्मान पनि गर्ने धारणा उनीहरुले राखेका थिए।
ओलीले यो खेमाका नेता नेपाल, खनाल, रावलसहित ११ जना नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निष्काशित गरेका छन्। पार्टीबाट निकाल्न यो खेमाका थप १२ जना नेताहरुलाई स्पष्टीकरण सोधेपनि त्यसमा निर्णय लिन ओलीले सकेका छैनन्।
उनले पटक/पटक आफू पक्षीय स्थायी कमिटी बैठक स्थगित गर्दै आएका छन्। बिहीबार दिउँसो चार बजेलाई निर्धारित ओली पक्षीय स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।