
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा महत्त्वपूर्ण हेरफेरको तयारी गरेका छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार उनले आफ्ना पार्टीका चार जना मन्त्रीलाई मात्रै मन्त्रिपरिषद्मा स्थान दिएर बाँकी सबैलाई हटाउने तयारी गरेका छन्। उनले आफ्ना पार्टीबाट सामेल अर्थमन्त्री विष्णु पौडेललाई बढुवा गरी उपप्रधानमन्त्रीसमेत बनाउने तयारी गरेका छन्।
यस्तै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङलाई यथास्थानमा राख्ने उनको तयारी छ।
बाँकी बन तथा वातावरण मन्त्री प्रेम आले, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विक, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज राउत, भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाम्फे, सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङ, कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्याललाई हटाउने तयारी ओलीले गरेको बुझिएको छ। यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री भानुभक्त ढकाल, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुलीकुमारी महतो र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नालाई हटाउने उनको तयारी भएको स्रोतले बतायो।
स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीको सट्टा आफ्ना पार्टीका नेता शेरबहादुर तामाङलाई ल्याउने ओलीको तयारी छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको स्टटा रघुवीर महासेठलाई ल्याउने ओलीको तयारी छ।