
सिमकोट– निषेधाज्ञा जारी रहेका बेला सिमकोटस्थित सनभ्याली रिसोर्ट क्षेत्रमा धमाधम ढल निर्माण भइरहेको छ। स्थानीय प्रशासनको अनुमति लिएर निषेधाज्ञामा लगातार काम गरेर ढल तयार गर्ने कार्य अन्तिम चरणमा पुगेको हो।
सिमकोट गाउँपालिका–५ र ६ को रलिङ होटलदेखि सनभ्याली क्षेत्रसम्मको ढल निर्माण अन्तिम चरणमा पुगेकोे निर्माण उपभोक्ता समितिका अध्यक्ष कर्कित लामाले बताए।
जेठ ५ गतेबाट सुरु भएको ढलको निर्माण १६ दिनमै ९० प्रतिशत कार्य सम्पन्न भएको र बाँकी काम पनि एक हप्ताभित्र सम्पन्न गर्ने तयारीसाथ काम भइरहेको छ।
६० सेन्टिमिटर चौढा र १३० मिटर लम्बाइ भएको ढल स्थानीय सेवाग्राहीको उपभोक्ता समितिबाट निर्माण गरिएको हो। यसका लागि सिमकोट गाउँपालिका, लापा र सेवाग्राहीको जनश्रमदानसहित ४० लाख लागत साझेदारीमा निर्माण भएको हो।