
सिमकोट – हिल्दुम साना जलविद्युत् आयोजनाले यसअघि गर्दै आएको लोडसेडिङ दैनिक तीन घण्टामा झारेको छ। पर्याप्त मात्रामा वर्षा हुनु र विद्युत् उपभोक्ता घटेपछि आयोजनाले लोड सेडिङ गर्ने कार्य घटाएको हो।
सिमकोट र खर्पुनाथ गाउँपालिकामा विद्युत् आपूर्ति गर्दै आएको हिल्दुम साना जलविद्युत् आयोजनाले हाल दैनिक तीन घण्टामा लोड सेडिङ झारेको स्थानीय सेवाग्राही लोकेन्द्र रावतले बताए।
यसअघि उक्त आयोजनाले २२ घण्टासम्म लोडसेडिङ गर्दा सेवाग्राहीले निकै हैरानी खेप्नुपरेको थियो। हिजोआज बिहान बेलुका गरी तीन घण्टासम्म मात्र लोडसेडिङ हुन थालेपछि सबै क्षेत्रलाई सहज भएको छ।
केही दिनयता दैनिक वर्षा हुनु र कोरोनाका कारण निषेधाज्ञा जारी भएपछि मानिस गाउँतिर लागेपछि उपभोग गर्ने मानिस कर्म आएका कारण लोडसेडिङ घटेको हिल्दु साना जलविद्युत् वितरण केन्द्रका प्रमुख साजन ऐडीले बताए।
यसअघि तीनदेखि चार घण्टा विद्युत् उपभोग गरिरहेका सेवाग्राहीलाई निकै राहत मिलेको उनले बताए।
पानीको स्रोत कम हुँदा दैनिक एक सय ४० किलोवाट विद्युत् उत्पादन हुने गरेकामा तीन सय किलोवाटसम्म विद्युत् उत्पादन हुनाले पनि सहज भएको उनले जानकारी दिए।
यसबाट विद्युत्बाट सञ्चालनमा आएको व्यवसाय पुरानै लयमा फर्केका छन्। उक्त आयोजनाका दुई हजार एक सय ग्राहक संख्या छ।