
सिमकोट– कोरोनाविरुद्धको खोपमा शिक्षकलाई प्राथमिकतामा नपारेको भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठनले असन्तुष्टि जनाएको छ।
सरकारले नयाँ शैक्षिक सत्र असार १ गतेबाट सञ्चालन गर्ने निर्णय गरेपनि हालसम्म शिक्षकलाई कोरोनाविरुद्धको खोप लगाउने कुनै पनि योजना नबनाएको भन्दै नयाँ शैक्षिक सत्रका कार्यक्रममा सहभागिता नजनाउने चेतवनी संगठनले दिएको छ।
जोखिमको बेला शिक्षक तथा विद्यालयका कर्मचारीलाई खोपको व्यवस्था नगरेको भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठनले हुम्लाका प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई परीक्षाका गतिविधि र नयाँ शैक्षिक सत्र सञ्चालनका कार्यक्रममा सहभागिता नजनाउने जानकारी गराएको संगठनकी उपाध्यक्ष हिरा बोहराले बताइन्।
खोपको व्यवस्था नभएसम्म एसईई र विद्यालयका अन्य कक्षाका परीक्षाको आन्तरिक मूल्यांकनका कार्य र असार १ गतेबाट नयाँ शैक्षिक सत्रका लागि भर्ना अभियान र पठनपाठनका कार्यमा सहभागिता नजनाउने उनले बताइन्। विरोध स्वरुप संगठनले जिल्ला प्रसान कार्यालयमार्फत नेपाल सरकारलाई ज्ञापन पत्र पठाएको छ।
आफ्ना माग पूरा नभएसम्म र शिक्षकलाई खोपको व्यवस्था नगरेसम्म शैक्षिक गतिविधिमा शिक्षकहरु संलग्न नहुने ज्ञापन पत्रमा उल्लेख गरिएको छ।
शिक्षकका यी माग तत्काल पूरा गर्न र शिक्षकलाई खोपका विषयमा गरिएको विभेद अन्त्य गर्नसमेत ज्ञापन पत्रमार्फत सरकारको ध्यानाकर्षण गरिएको छ। ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले माथिल्लो निकायमा संगठनका मागहरु अगाडि बढाउने जनाएका थिए।