
सिमकोट– राउटे समुदायमा राहत वितरण गर्न निषेध गरिएको छ।
कोरोना महामारी र राउटे समुदायमा भएको घटनालाई ध्यानमा राखी ती बस्तीमा गएर राहत वितरण गर्ने कार्यलाई पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको हो।
राउटे समुदायका दुई युवतीमाथि भएको दुर्व्यवहारको घटना र संवेदनशीलतालाई दृष्टिगत गरी प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो।
सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महराका अनुसार अब समुदायमा वितरण हुने राहतको उचित व्यवस्थापन गर्न विभिन्न दाताबाट राउटे समुदायका लागि आउने राहतलाई एकद्वार प्रणालीमार्फत वितरण गर्नुपर्ने छ।
उनले समुदायका लागि प्राप्त हुने सबै प्रकारका नगदी तथा जिन्सी सामग्री कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले मौज्दात गरेर सोको व्यवस्थित अभिलेख राखेर मात्र वितरण गर्न सकिने बताए।
जेठ २४ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकको निर्णयबाट गठित सहजीकरण समितिले समुदायको लागि आवश्यक सामग्री आकलन गरी उक्त मौज्दातबाट उपलब्ध गराउने, दाताहरू आफै उपस्थित भई राहत उपलब्ध गराउन चाहेमा सोको अभिलेख सामाजिक विकास मन्त्रालयले राखी स्थानीय तह र सहजीकरण समितिको सदस्यको रोहबरमा मात्र बस्ती नजिक गई राउटे मुखियालाई उपलब्ध गराउनु पर्नेछ।