
काठमाडौँ – पहिरोका कारण मनाङको मनाङ मिसाङ गाउँपालिकामा थुनिएको मर्स्याङ्गदी नदीकाे बहाव पुनः सुचारु भएको छ।
मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार ढुकुर पोखरीमाथिको नाउल डाँडाबाट खसेको पहिरोका कारण मनाङ मिसाङ गाउँपालिकाको १ र ३ नम्बर वडाको बिच भएर बग्ने मर्स्याङ्गदी नदी धुनिएको थियो।
तर बुधबार बिहानदेखि नदीको बहाव पुनः सुचारु भएको उनले बताए। जल सतह भने कम नभएको उनले जानकारी दिएका छन्।
यस्तै नासोँ गाउँपालिकाको वडा नम्बर २ ताल गाउँका करिब ६० घर डुबानमा परेका छन्। स्थानीय बासिन्दाहरु सुरक्षित स्थानमा रहेका छन्।
यसैगरि सदरमुकामा चामेका तीन सयजनालाई जिल्ला कारागारको नयाँ भवनमा राखिएको छ। चामेमा बाढीले चार घर बगाएको छ भने पाँच घर डुबानमा परेका छन्।
लगातार पानी परिरहेको तथा खोलानाला र मर्स्याङ्गदी नदीमा बहाव उच्च रहेकाले जोखिम कायम रहेको छ।