
बुटवल-अविरल वर्षासँगै खसेको पहिरोले सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै झण्डै ५० मिटर सडक बगाएको छ।
यसअघि पनि लगातार पहिरो खस्ने गरेको सो क्षेत्रमा माथिबाट खसेको पहिरो र डुम्रे खोलाको बाढीले सडकको ५० मिटर क्षेत्र बगाएको हो।
मंगलबार दिउँसो खोला बढ्दै गएपछि तल्लो भागबाट कटान सुरु गरेको र माथिबाट पहिरो खसेपछि राजमार्ग नै बगाएको सडक डिभिजन पाल्पाका सूचना अधिकारी शिवु खत्रीले जानकारी दिए।
सिद्धार्थ राजमार्ग मंगलबार बेलुकीदेखि नै अवरुद्ध भएको थियो। जसका कारण सो सडकमा आवतजावत बन्द भएको छ।