
काठमाडौँ– फूलबारी–१८ का ४२ वर्षे ओमबहादुर नेपाली काँधमा झोला भिरेर नेपाल–भारत सीमा गौरीफण्टातिर लम्किँदै थिए।
यत्तिकैमा उनलाई नेपाल पुलिसले कता? भन्दै बोलायो। उनी लुरु लुरु नेपाल पुलिसको डेस्कतिर आए।
प्रहरीले उनको नाम, ठेगाना र जान लागेको ठाउँ सोध्यो र जाने अनुमति दियो।
उनी भारतको मथुरा जान लागेका रहेछन्, रोजगारीका लागि। करिब दुई महिनाअघि आमाको निधन भएकाले नेपाल आएको नेपाली बताउँछन्। आमाको काजक्रिया सकाएर रोजगारीकै लागि पुनः भारत जान लागेका रहेछन्।
भारतमा कोरोनाको दोस्रो लहरले निकै भयावह रूप लिएको थियो, भलै अहिले केही कम भएको छ। तर, जोखिम भने यथावत् छ।
तैपनि, जोखिम मोलेर उनी भारत लागे, परिवारको आर्थिक भार कम गर्न। ‘कोरोनाको डर त किन नलाग्नु, बालबच्चा पाल्नै पर्यो। काम उतै छ। अहिले काम पनि चालु भइसकेको छ। जानै पर्यो। नेपालमा बसेर बालबच्चा पाल्न, पढाउन लेखाउन सकिँदैन’, उनले गुनासो गरे।
नेपालमा आफ्नो परिवारका आवश्यकता पूरा गर्न सक्ने काम कतै नपाएको उनी बताउँछन्। ‘भारत नगएर के गर्नु। भारत नगई हाम्रो गुजारा नै हुँदैन’, उनी भन्छन्, ‘नपालमा बसेर पनि के गर्नु। कमाइ खाने भाँडो उतै छ।’
उनको मात्र होइन, हजारौँ नेपालीको ‘कमाइ खाने भाँडो’ नै हो भारत। उनी त केवल प्रतिनिधि पात्र मात्र हुन्।
उनीजस्ता हजारौँ नेपाली रोजगारीका लागि भारत जाने गर्छन्।
रोजगारीकै लागि भारत जाने लाइनमा टीकापुरका १८ वर्षीय राहुल कठरिया पनि थिए। पढ्ने, लेख्ने उमेरमा उनी पनि कामकै लागि भारतको पञ्जाव जाँदै रहेछन्।
‘पञ्जावमा काम गर्छु। घरमा कमाउने कोही छैनन्’, उनी भन्छन्, ‘कोरोनाको डर भए पनि पैसा त कमाउनुपर्यो।’
कोरोनाको दोस्रो लहरले भारतमा भएको मानव क्षतिको उनलाई कुनै भय छैन।
भय छ त केवल पैसा कमाउने। ‘कोरोना त कम भइसक्यो भारतमा अब त्यस्तो डर छैन’, उनले भने, ‘काम पनि त गर्नुपर्यो।’
राहुलजस्तै २८ वर्षीय रुपा जोशी पनि आफ्ना छोरासहित जयपुर लागिन्।
उनीहरूको ठाउँ फरक भए पनि काम भने एउटै, पैसा कमाउने। ‘भारत नगएर के गर्नु, यता काम केही छैन’, रुपाले भनिन्, ‘बालबच्चा कसरी पाल्नु? गरेर खाने।’
असार सुरु भएलगत्तै एक हजार ६ सय ८२ जना भारत गएका छन् भने एक हजार चार सय १८ नेपाल फर्किएको नेपाल प्रहरीको तथ्यांकमा उल्लेख छ।
कोरोना महामारीको दोस्रो लहरले विश्व नै आतंकित छ। यस्तो अवस्थामा पनि नेपालीहरू जोखिम मोलेरै भए पनि कामका लागि भारत गइरहेका छन्।
नेपालीहरू जोखिम मोलेर भारत जाने मात्र होइन, जोखिम मोलेर नेपाल फर्किरहेका पनि छन्।
विशेष गरी रोपाइँका लागि तथा अन्य कामका लागि नेपाली फर्किने गरेका छन्। बाजुराका ६५ वर्षीय प्रकाश बड घराउसी कामका लागि नेपपाल आएको बताउँछन्।
‘दुई–चार महिनामा काम सकाएर फेरि भारत फर्किने योजना रहेको उनले सुनाए। ‘असार लाग्यो रोपाइँ गर्नु छ र घरमा बिहे पनि छ’, उनले भने, ‘काम सकाएर फेरि जान्छु।’
भारतमा कोरोनाको जोखिम उच्च भए पनि आफूहरू सुरक्षित साथ घर फर्केको उनले बताए। ‘भारतमा धेरै डर थियो। तर भगवान्को कृपाले हामीलाई कोरोना लागेन’, उनले भने, ‘यहाँ पनि कोराना चेक भयो, रिपोर्ट नेगेटिभ आएर अब घर जाँदै छौँ।’
आफूसहित साथीहरू पनि सुरक्षित रहेको उनले जानकारी दिए। यसरी नेपाल फर्किने नेपालीको संख्या जेठ महिनामा मात्रै १८ हजार सात सय २३ छ भने १२ हजार ४ सय ७ भारत गएका असइ खड्गजंग शाहीले जानकारी दिए।
कोरोना महामारीका बेला सीमानाकामा आउने–जाने क्रम भइरहेकाले जोखिमको केन्द्रविन्दुमा छ, सुदूरपश्चिम।
प्रहरी शाहीका अनुसार खुला सिमानाका कारण मुख्य ठाउँबाट जान रोके पनि अन्य ठाउँबाट नेपालीहरू गइरहेको उनले बताए।
‘हामीले चेकजाँचमा रोके पनि खुला सीमा भएकाले कोही नदी तरेर जान्छन् भने कोही अर्को बाटो जान्छन्’, उनले भने।
यस्तो प्रवृत्तिले कोरोना जोखिम मात्र होइन, मानव तस्करी मौलाउने पनि उनको भनाइ छ।
खुला सीमा भएका सबै क्षेत्र जोखिममा रहेको सेती प्रादेशिक अस्पतालका कोभिड निमित्त प्रमुख तथा संयोजक डा. निरञ्जन शर्माले जानकारी दिए।
उनले भने, ‘जबसम्म नाकामा स्वास्थ्य पूर्वाधारको राम्रो व्यवस्था हुँदैन तबसम्म नाकामा जोखिम कायमै रहन्छ।’
उनका अनुसार पहिलो लहरमा सरकारले स्वास्थ्य सुरक्षामा ध्यान दिए पनि दोस्रो लहरमा चुकेको छ।
‘पहिलो लहरमा सरकारले नाकामा स्वास्थ्य पूर्वाधारको राम्रो व्यवस्था गरेका कारण समुदायमा कोरोना फैलन पाएन’, उनले भने, ‘तर दोस्रो लहरमा भने नाकामा सरकारले हेलचेक्र्याइँ गरेको छ।
नकामा क्वारेन्टाइनको राम्रो व्यवस्था हुनुपर्छ। पहिले धेरै लापरवाही भएका कारण कोरोना बढेको हो।’
केही समययता कोरोना संक्रमणको दर घटेको छ। डा.शर्माका अनुसार अहिले लकडाउनको असर देखिएको हो। तर जोखिम भने हटेको छैन।