
सिमकोट– हुम्लाको खार्पुनाथ गाउँपालिका –३ कारङ्गा गाउँका ६ परिवार पहिरोको जोखिम बढेपछि विस्थापित भएका छन्।
कारङ्गा गाउँमा बस्दै आएका २० घरधुरीमध्ये ६ परिवारले पहिरो खस्ने डरका कारण आफन्तको घरमा आश्रय लिएका छन्।
गाउँमाथि रहेको भीरबाट दुई वटा ढुङ्गा खस्दा घरको छत प्वाल पारेपछि आफन्तको घरमा बसाई सरेको पीडित हस्त बहादुर शाहीले बताए।
माथिल्लो तलामा समेत क्षति पुगेपछि आफूहरुले बसाई सरेको उनले बता। भिरमा रहेको ठूलो ढुङ्गा आसपास क्षेत्रबाट स–साना ढुङ्गा खस्न सुरु भएको छ।
गाउँको माथिपट्टिको भीरमा ठूलो ढुङ्गा रहेको र त्यो खस्ने अवस्थामा रहेको कारण ६ घरधुरी उच्च जोखिमा परेपछि विस्थापित भएको गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर रावलले जानकारी दिए।
ढुङ्गा खस्ने कुरा आएपछि त्यसको व्यवस्थापनका लागि प्राविधिक पठाएको र चाँडै निकास दिने उनले बताए।
बस्तीमाथिको जमीन भासिँदै गएपछि कारङ्गा गाउँ पहिरोको उच्च जोखिममा रहेको छ। लगातारको वर्षाले बस्तीभन्दा करिब १०० मिटरमाथि जमिन भासिएको स्थानीयले बताएका छन्।