
सिमकोट – गर्भवती महिलालाई व्यथा लागेपछि तीन घण्टा पैदल बोकेर जिल्ला अस्पतालमा ल्याउनुपरेको छ। वर्षासँगैको पहिरोले सिमकोट खार्पु खण्डको सडक अवरुद्ध हुँदा यातायात सञ्चालनमा नआएपछि बोक्नुपरेको हो।
सडक अवरुद्ध हुँदा सुत्केरी व्यथा लागेकी खार्पुनाथ गाउँपालिका–४ माझा गाउँकी २० वर्षकी डाँफु सुनारलाई पैदल बोकेर ल्याएको आफन्त चन्द्र टमटाले बताए।
दुई दिनअगाडि व्यथा लागेर छिप्रा स्वास्थ्य चौकीमा भर्ना गरिएको भएपनि उपचार हुन नसकेपछि जिल्ला अस्पतालमा बोकेर ल्याउन परेको उहाँले बताउनुभयो। उकालो र हिलाम्मे बाटोमा बिरामीलाई बोकेर ल्याउन निकै कठिन भएको उनले बताए। उक्त खण्डको सडक १२ देखि १५ स्थानमा पहिरोले भत्काएका कारण सडक अवरुद्ध भएको हो।
चालिस मिनेट लाग्ने गरेकामा पैदल बोकेर ल्याउनुपरेपछि कठिन भएको हो। पाँच जना आफन्तले खार्पुबाट अस्पतालसम्म बोकेर ल्याएका हुन्।
पहिलो गर्भ भएका कारण भेट दुखेपछि बिरामी गर्भवती महिला आत्तिएको र पाठेघर नफुकेको कारण अल्ट्रा साउन्ड गरेपछि मात्रै के हो भन्ने थाहा हुने अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले बताइन्।
साउन २६ गते सुत्केरी हुने मिति स्वास्थ्यकर्मीले दिएका थिए। सुत्केरी हुने समय अझै बाँकी रहेको सबै चेकजाँच गरेपछि मात्र बताउन सकिने उनले बताइन्। अस्पतालमा उनको उपचार सुरु भएको छ।