
काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले सेवाग्राहीबाट कुनै गुनासो नआउनेगरी कार्य सम्पादन गर्न निर्देशन दिएका छन्।
मन्त्रालयमा शुक्रबार आफ्नो कार्यभार सम्हाल्दै मन्त्री श्रेष्ठले आ–आफ्नो परिभाषित काम र जिम्मेवारीलाई कुनै पनि प्रकारका गुनासो नआउनेगरी पूरा गर्न निर्देशन दिएका हुन्।
उनले कार्यसम्पादनमा ढिला नगर्न पनि निर्देशन दिए। मन्त्रालयलाई विकासमा लानका लागि अनुशासनको आवश्यकता रहेको भन्दै उनले अनुशासनको परिपालना गर्न पनि आग्रह गरे।
उनले भने, ‘हामीले हाम्रो संस्थालाई विकासमा लैजानका लागि त्यहाँ अनुशासनको खाँचो हुन्छ। हरेक पदको आ–आफ्नो अनुशासनको परिभाषित ड्युटी हुन्छ। त्यो ड्युटीमा आ–आफ्नो परिभाषित काम, आ–आफ्नो जिम्मेवारीलाई कुनै खालको विलम्ब नहुनेगरी कहीँ–कतै, कुनै गुनासो नआउने गरी सेवाग्राहीसँग सम्पर्कमा रहने राष्ट्रसेवकको बढी जिम्मेवारी हुन्छ।’
मन्त्री श्रेष्ठले कर्मचारीलाई सही काम गर्न नआत्तिन र नडराउन निर्देशन पनि दिए।
उनले विदेशमा रहेका श्रमिकको अप्ठ्यारोमा सहजीकरण गर्नुपर्ने पनि बताए। उनले कुनै पनि आग्रह, पूर्वाग्रह नराखी एउटै परिवारको रूपमा काम गर्नुपर्नेमा जोड दिए।
मन्त्री श्रेष्ठले आजै वन तथा वातावरण, युवा तथा खेलकुद, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पनि कार्यभार सम्हालेका हुन्।