
सिमकोट – हुम्लाको खार्पुनाथ गाउँपालिकाले आगामी आर्थिक वर्षमा गाउँपालिकाको क्षेत्रका सबै नागरिकको स्वास्थ्य बिमा गर्ने भएको छ।
गाउँपालिकामा जटिल रोगका बिरामी बढेकाे र उनीहरुकाे आर्थिक अवस्था कमजोर भएपछि गाउँपालिकाले सबै नागरिकको स्वास्थ्य बिमा गर्न लागेको हो।
गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले असार १० गते घोषणा भएको बजेट तथा कार्यक्रमले पालिकाभित्रका सबै नागरिकको स्वास्थ्य बिमा गर्ने कार्यक्रम तय गरेको जानकारी दिए।
खार्पुनाथ गाउँपालिकामा ६ हजार ९ सय ११ जनसंख्या रहेको छ । स्वास्थ्य बिमा कार्यक्रम गर्नका लागि पाँच जना सदस्य भएको परिवारलाई दुई हजार पाँच सय रुपैयाँ बिमा शुल्क लाग्ने गर्छ।
अध्यक्ष रावलले सबै परिवारको उक्त बिमा शुल्क गाउँपालिकाले तिर्ने बताए।
यसका लागि गाउँपालिकाले ४२ लाख बजेट व्यवस्था गरेको उनले जानकारी दिए। उक्त कार्यक्रम कार्यान्वयनमा आएपछि जिल्लामै सबै नागरिकको स्वास्थ्य बिमा गर्ने खार्पुनाथ पहिलो गाउँपालिका हुनेछ ।
यसअघि सिमकोट गाउँपालिकाको वडा नम्बर ५ ले पनि वडाका सबै नागरिकको स्वास्थ्य बिमा गरिसकेको छ।