
काठमाडौँ – स्वतन्त्र रुपमा सञ्चालन हुने गरी नेपाल विश्वविद्यालय गठन गर्न सरकारले तयारी अघि बढाएको छ।
गठन आदेश ऐन अन्तर्गत केही महिनाअघि नै ‘नेपाल विश्व विद्यालय पूर्वाधार विकास तयारी समिति’ गठन गरेको थियो। जेठ ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त तयारी समितिमा पदाधिकारी नियुक्त गरेको हो।
समितिको अध्यक्षमा डा. अर्जुन कार्की रहेका छन् भने अरु नौ जना विभिन्न क्षेत्रमा ख्याति प्राप्त व्यक्तिहरु रहेका छन्।
सरकारका प्रवक्ता वसन्त नेम्वाङका अनुसार उक्त तयारी समितिमा डा. अमिना सिंह, डा. असिम ढकाल, प्राध्यापक डा. विपिनचन्द्र अधिकारी, विरेस शाह, डा. दोभान राई, डा. संगिता कौशल मिश्र, डा. सूर्यराज आचार्य, डा. उत्तमबाबु श्रेष्ठ र श्रवणकुमार राणा रहेका छन्। नवलपरासीको गैँडाकोटमा स्थापना हुने विश्वविद्यालय स्वतन्त्र ढंगले सञ्चालन हुने र त्यसमा २१ जनाको बोर्ड रहेको डा. आचार्यले जानकारी दिए।
उक्त बोर्डको सिफारिसकै आधारमा सरकारले तयारी समितिमा पदाधिकारी नियुक्त गरेको हो। तत्काल विश्वविद्यालय गठनका लागि ऐन ल्याउन सम्भव नभएपछि विशिष्ट व्यक्तिहरुको आग्रहमा तत्कालका लागि गठन आदेश ऐन अन्तरगत विकास समिति बनाइएको आचार्यले बताए।