
सिमकोट– हुम्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपाकिाले गाउँपालिकाकाभित्रका दुई जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि सहयोग गर्ने भएको छ। आगामी आर्थिक वर्षको बजेटमार्फत उच्च शिक्षा अध्ययन गर्ने एक जना प्राविधिकसहित दुई जना विद्यार्थीलाई सहयोग गर्ने कार्यक्रम ल्याएको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले गाउँपालिकाबाट उच्च शिक्षा अध्ययन गर्ने दुई जना विद्यार्थीलाई दुई लाख रुपैयाँ सहयोग गर्ने आगामी वर्षको बजेटले कार्यक्रम ल्याएको जानकारी दिए।
आर्थिक अभावले उच्च शिक्षा अध्ययनमा समस्या भएका विद्यार्थीलाई यसबाट सहयोग पुग्नेछ। नाम्खा गाउँपालिकाबाट बर्सेनि लाखौं खर्च गरेर विद्यार्थी उच्च शिक्षा अध्ययन गर्न जिल्लाबाहिर जाने गर्छन्।
आर्थिक अभाव भएका विद्यार्थीले भने पढाइ छाड्नुपर्ने बाध्यता रहेका कारण पढाइमा सहयोग पुग्ने कार्यक्रम राखिएको उनले बताए। त्यससँगै गाउँपालिकाले आगामी वर्षको बजेटमा हिल्सा र यारी विद्युतीकरण, पर्यटन, शिक्षा, स्वास्थ्य, आयआर्जनलाई प्राथमिकतामा राखेको छ।
आगामी वर्षको बजेट तथा कार्यक्रम गाउँ सभामा पेस गर्दै गाउँपालिकाका उपाध्यक्ष पेमा लामाले बजेट ल्याएका हुन्। त्यसैगरी, बजेटले गाउँपालिकालाई छाउपडीमुक्त घोषणा गर्ने कार्यक्रम पनि तय गरेको छ।
प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले आगामी आर्थिक वर्षको बजेट प्रदेश सरकारबाट प्राप्त बजेटसहित ३२ करोड २२ लाख ३९ हजारको बजेट तथा कार्यक्रम ल्याएको बताए। गाउँपालिकाको समृद्धिको आधार पर्यटन क्षेत्र भएकाले गुरुयोजनाले तय गरेका रणनीति पूरा गर्न बजेटले कार्यक्रम तर्जुमा गरेको छ।
पर्यटन क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राखेर गाउँपालिकाले आफूसँग भएको सीमित स्रोतबाट बजेटको व्यवस्था गरेको छ भने प्रदेश सरकार र संघीयसँग पनि गुरुयोजना मार्गनिर्देश गरेका योजनालाई कार्यान्वयन र बजेटको व्यवस्थाका लागि आग्रह गरेको छ।
उनले अहिलेको आवश्यकता, जनताको माग र भएको साधन–स्रोतलाई ध्यानमा राख्दै बजेट ल्याएको जानकारी दिए। कोरोना त्रास अझै हटिनसकेकाले स्वास्थ्य क्षेत्रलाई बजेटले उच्च प्राथमिकतामा राखेको छ।
त्यसैगरी, उनले बजेटले शिक्षा, हिल्सा र यारी विद्युतीकरण पनि पहिलो प्राथमिकतामा राखिएको बताए। असार १० गते बस्नुपर्ने वडा नम्बर ६ का अध्यक्ष र सदस्यहरू न्यालु लेकमा हिमपातका कारण उपस्थित हुन नसक्ने जानकारी आएपछि सभाको मिति पछि सारिएको थियो।