
काठमाडौँ – केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी–पहिरो गई जनजीवन प्रभावित बनेको छ।
उक्त प्रभावित इलाकामा नेपाली सेनाले स्रोत–साधन प्रयोग गरी बाढीपहिरो पीडितको उद्धार गर्दै आएको छ।
चितवन जिल्लाको शक्तिखोर, न्युरो, लाहुरेचोक, क्लबचोक र बिघा इलाकामा बाढीका कारण डुबानमा परेका स्थानीयलाई सेनाले उद्धार गरेको छ।
सोही जिल्लाको, राप्ती नगरपालिका–१२ स्थित पर्खालेको पहिरोमा पुरिएका ४ जनाको शव निकाल्न सेनाको उद्धार टोली खटिएको थियो।
उक्त टोलीले १ जनाको शव निकालेको र हराइरहेका अन्य ३ जनाको खोजी जारी राखेको छ।
त्यस्तै, इटहरी उप–महानगरपालिका, इनरुवा नगरपालिका, कोसी, हरिनगरा र भोक्राहा नरसिंह गाउँपालिका आसपासका इलाकामा बाढीले बगाएर ल्याएको फोहोर पुलमा जम्मा भई आसपासका बस्ती डुबानमा परेका थिए। सेनाको उद्धार टोलीले उक्त फोहोर हटाई थुनिएको खोला खोलेको छ।
साथै, भोक्राहा नरसिंह गाउँपालिका–७ आसपासका इलाकामा आएको बाढीले भत्काएको बाँध सेनाको उद्धार टोलीले स्थानीयको सहयोगमा मर्मत गरेको छ।
त्यसैगरी, रौतहट जिल्ला, राजदेवी नगरपालिका– ९ स्थित नं. १ र नं.२ ठोकरमा कटान गरेकाले सेनाको उद्धार टोलीले उक्त कटान नियन्त्रण गर्न पुनर्निर्माण थालेको छ।
त्यस्तै, काभ्रेपलाञ्चोक जिल्ला, धुलिखेल नगरपालिका–११ स्थित फसकोट इलाकामा पहिरोका कारण ३ वटा घर जोखिममा परेको हँुदा सेनाको उद्धार टोलीले उक्त घरका सामान सुरक्षित स्थानमा स्थानान्तरण गर्न सहयोग गरेको छ।
त्यसैगरी, सिरहा नगरपालिका–६, बसबिट्टास्थित हुलाकी राजमार्ग जोडिने पुल आसपासको इलाकामा कमला नदीमा आएको बाढीले डुबान हुने जोखिम कम गर्न २ सय वटा बोरा व्यवस्थित तरिकाले राखी पानीको बहाव नियन्त्रण गरेको छ।
साथै, कमला नदीमा बाढीको सम्भावना रहेकाले उक्त नदीको नजिक बस्ने १ जनालाई उद्धार गरी सेनाले प्रहरीको रोहवरमा आफन्तलाई बुझाएको छ।