
बुटवल – पाल्पाको तिनाउ गाउँपालिका–५ मा बिहीबार पहिरोले ६ घर बगाउनुका साथै एक जनाको मृत्यु भएको छ भने एकजना बालक हराएका छन्।
सिद्धार्थ राजमार्गअन्तर्गत हिउँदेखोला नजिकै खसेको पहिरोमा चार वर्षीय बालक बेपत्ता छन् भने ७ जना घाइते भएका छन्।
हिउँदे खोलामा खसेको पहिरोले ६ घर बगाएको स्थानीय बद्रीप्रसाद श्रेष्ठले जानकारी दिए।
तिनाउ–५ कै अन्दाजी ४५ वर्षीय वीरबहादुर गुरुङको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।
स्थानीय पूजा परियारका चार वर्षीय छोरा आरोप बेपत्ता भएका हुन्।
दोभान प्रहरी चौकीका धर्मराज न्यौपानेका अनुसार नरबहादुर राना, आकाश तामाङ, हरि दर्लामी, वीरबहादुर गुरुङ र रमेश परियारको घर पहिरोले बगाएको छ।