
सिमकोट – हुम्लाका बैंकमा सेवाग्राहीको भीड बढेको छ। आर्थिक वर्षको अन्तिम समय आएको कारण राजस्व जम्मा गर्ने र चेक सटही गर्ने संख्यामा वृद्धि हँुदा कारोबार वृद्धि भएको हो।
ताँजाकोट गाउँपालिका– २ का रामबहादुर जोसीले बिहान १० बजेबाट बैंकमा चेक सटही गर्न लाइनमा बसेर भुक्तानी लिन नसकिएको बताए।
बैंकमा कामको चाप बढी हुनु र सम्बन्धित कार्यालयबाट निकासा कोष तथा लेखा नियन्त्रण कार्यालयमा पठाए पनि त्यताबाट बैंकमा ढिलो गरी निकासा बैंक खातामा आउने भएको कारण भुक्तानीमा समस्या भएको सेवाग्राहीको गुनासो रहेको छ।
उनले दुई दिन लगाएर डेढ लाखको चेक साट्न पाएको सुनाए। बैंकमा बिहानैबाट भुक्तानीका लागि लाइनमा सेवाग्राहीले बस्नुपर्ने अवस्था रहेको र त्यो पनि त्यसै दिन भुक्तानी हुने–नहुने निश्चित हुने गरेको छैन।
कतिपय सेवाग्राही लाइनमा बसेर फिर्ता हुनुपर्ने अवस्था छ। अर्का सेवाग्राही पेमा तामाङले पाँच घण्टा लाइनमा बसेर ३० हजारको भुक्तानी लिनुपरेको बताए।
असार मसान्त लागेकै कारण कहिल्यै नदेखिने सेवाग्राहीको लाइन बैंकमा देखिने गरेको बताउँदै उनले बैंकबाट भुक्तानी लिन सास्ती खेप्नुपर्ने अवस्था रहेको जानकारी दिए।
वाणिज्य बैंकका सहायक प्रबन्धक मानबहादुर शाहीले अन्य बेलाभन्दा बैंकमा भुक्तानी लिनेको चाप बढेको बताए।
बैंकले विकटको ठाउँमा पनि दैनिक छ सयसम्म चेक भुक्तानी गर्नु परिरहेको र दैनिक चार करोड भुक्तानी दिनु परेको बैंकले जनाएको छ।
भुक्तानीका लागि सेवाग्राही लामो समय लाइनमा बसेर पनि भुक्तानी दिन नसकिएको बैंकले जनाएको छ।
उनले यसमा नेट स्लोले पनि समस्या गरेको बताए। कामको चाप बढेपछि बैंकका कर्मचारी बिहान ८ बजेबाट बेलुका ८ बजेसम्म कार्यालयमा काम गरिरहनुपरेको छ। सरकारी कारोबारमा प्रत्येक भौचर राजस्व छुट्टै जम्मा गर्नुपर्ने भएका कारण पनि बैंकमा कामको चाप बढेको हो।
हाल बैंकमा १९ करोडसम्म मात्र मौज्दात रहेको र धेरै ठूला कार्यालय र आयोजनाको भुक्तानी दिन बाँकी रहेका कारण पैसा अभाव हुन सक्ने बैंकले जनाएको छ। बैंकले एक÷दुई दिनमै थप पैसा मगाउने तयारीसमेत गरेको जनाएको छ।
यता, सिटिजन्स, सांग्रिला र कृषि विकास बैंकले पनि सेवाग्राहीको चाप बढेको जनाएका छन्।