
सिमकोट– हुम्लामै स्थानीय रूपमा उत्पादित तरकारी पनि महँगोमा बिक्री हुने गरेको छ। बजारमा माग बढी र उत्पादन कम भएको कारण सेवाग्राही महँगोमा तरकारी किन्न बाध्य हुँदै आएका हुन्।
विजय होटलकी व्यवस्थापक याङ्की लामाले जिल्लामै स्थानीय रूपमा उत्पादित तरकारीको मूल्य निकै महँगोमा किन्नुपरेको बताइन्। उनले नेपालगञ्जदेखि हवाईमार्गबाट आएको तरकारीको मूल्य महँगो परिरहेका बेला स्थानीय रूपमा उत्पादित तरकारी पनि बढी मूल्य तिर्नुपरिरहेको बताइन्।
यी तरकारीको मूल्य हवाईमार्गबाट ढुवानी भएर आएका तरकारीको मूल्य भने सस्तो पर्ने गर्छ। नेपालगञ्ज र सुर्खेतबाट हवाईमार्गबाट आउने तरकारी हवाई ढुवानी महँगो पर्ने भएको बढी मूल्य पर्छ।
हाल नेपालगञ्जबाट प्रतिकेजी साढे दुई सयदेखि साढे तीन सयसम्म मूल्य पर्ने तरकारी स्थानीय रूपमा उत्पादन हुन थालेपछि साढे एक सयदेखि दुई सयसम्म प्रतिकेजी पर्ने गरेको छ। अर्का सेवाग्राही सुनमती सिंहले स्थानीय तरकारी बजारमा आउन थाले पनि मूल्य खासै नघटेको बताइन्।
तरकारी उत्पादक व्यापारी धर्मराज रोकायाका अनुसार स्थानीय रूपमा उत्पादित तरकारी काउली प्रतिकेजी दुई सय पर्ने गरेको छ भने बन्दा, प्याज, आलुको मूल्य डेढ सय पर्ने गरेको छ।
उनका अनुसार साग र धनियाँको मूल्य भने प्रतिमुठा ४० रुपैयाँ पर्छ। तरकारीको माग बढी र उत्पादन कम भएकै कारण मूल्य घट्न नसकेको हो।