
बागलुङ– बागलुङमा पछिल्लो दुई महिनाको अवधिमा ६६ घर पहिरोको उच्च जोखिममा परेका छन्। जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार दुई जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता छन्।
बेपत्ता हुनेमा ताराखोला गाउँपालिका–२ घुस्मेलीका १८ वर्षीय राजेन्द्र कार्की रहेको प्रहरीले जनाएको छ। वर्षात्को सुरुमै जिल्लाका विभिन्न स्थानमा दर्जनभन्दा बढी घरपरिवार विस्थापित भएका थिए।
उनीहरू छिमेकीकामा आश्रय लिएर बसेका छन्। काठेखोला, बडीगाड र ताराखोला गाउँपालिका तथा गलकोट नगरपालिकाका विभिन्न स्थानमा पहिरोले क्षति पुर्याएको छ।
पहिरोमा २५ घर र तीन गोठ पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए। मानवीय क्षति हुने सम्भावना बढेपछि जोखिम क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको उनको भनाइ छ। बाढीपहिरोबाट यस अवधिमा डेढ करोडभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ।
असार पहिलो साता नै बागलुङ नगरपालिका–७ पैराबारीमा घरमाथिबाट झरेको पहिराले एक घर भत्काएको थियो भने एक घर उच्च जोखिममा पारेको थियो।
पहिरोका कारण स्थानीय रविलाल गौतमको घर गोठ भत्काएको थियो भने गोठमा रहेको भैँसी पुरिएर मरेको छ।
सोही स्थानका महेन्द्र गौतमको घर उच्च जोखिममा परेपछि परिवार विस्थापित भएको जनाइएको छ। वर्षात्का कारण बागलुङ–४का नन्दलाल पौडेलको घर भत्केको र सोही स्थानका प्रदीप शेरचनको दुईतले पक्की घर, माया जिसीको कच्ची घर पहिरोका कारण उच्च जोखिममा परेपछि विस्थापित भएको थियो।
बागलुङ–१३ फर्सेडाँडा बस्ने पार्वती पौडेलको घरको अगाडि र पछाडिबाट पहिरो झरेपछि घर उच्च जोखिममा परेको थियो। बरेङ गाउँपालिका–१ भ्युडाँडाका विशाल विकको घर पनि जोखिममा परेपछि उनको परिवार पनि विस्थापित बनेको छ।
त्यसैगरी, गलकोट –४ चमुवाकी स्थानीय चन्द्रकला क्षेत्रीको घर पछाडिबाट पहिरो झरेपछि दुईतले कच्ची घर उच्च जोखिम परेको छ। घर जोखिममा परेपछि उनको परिवार विस्थापित भएको प्रहरीले जनाएको छ।
गलकोटकै डाँडाखेतमा पनि पहिरोले स्थानीय देवबहादुर खत्रीको घर उच्च जोखिममा परेपछि उनको परिवार विस्थापित भएको छ। विस्थापित परिवारलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको हवारीको भनाइ छ।
जिल्लाको जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकामा ११ घर पहिरोको उच्च जोखिममा परेका छन्। अविरल वर्षाको कारण जैमिनी–७ जैदीका आठ घर र काठेखोला–७ रेशका तीन घर पहिरोको उच्च जोखिममा परेका हुन्।
पहिरोको कारण तीन घरपरिवारले आफन्तकहाँ आश्रय लिएका छन् भने अन्य ५ घरका व्यक्ति भने बसाइ सरेको बताइएको छ। पहिरोका कारण कालिदास शर्मा, लेखनाथ शर्मा र दीपक शर्माको परिवार आफन्तकामा आश्रय लिएर बस्न बाध्य छन्।
असार पहिलो साता नै काठेखोला–७ रेशमा सडकमाथिबाट आएको पहिरोका कारण तीन घर विस्थापित भएका छन्। रेश हुँदै बागलुङ बजार जोड्ने सडकखण्डअन्तर्गत जिरेदीको कालिका मन्दिरदेखि गगनपानीसम्मको सडकमा माथिबाट खसेको पहिरोको सडकमाथि र सडकमुनिका तीन घर विस्थापित भएको प्रहरीले जनाएको छ।
विस्थापित तीन परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। जिल्लाको ढोरपाटन नगरपालिका–९ मा पनि दुई घर पहिरोको उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ। स्थानीय मीनबहादुर विक र मनरमा विकको घर पहिरोको उच्च जोखिमा रहेकाले सुरक्षित स्थानमा सारिएको छ।
जिल्लाको बरेङ गाउँपालिकामा पनि १८ घर पहिरोको उच्च जोखिममा परेका छन्। गाउँपालिकाको धुल्लुबाँस्कोटमा १४ घर पहिरोको उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ।
धुल्लुबाँस्कोटको भीउँ डाँडामा तीन घर, लुगरुङमा चार घर, थापाथरमा तीन घरगोठ, उर्लेनीमा तीन घर र धुल्लुबाँस्कोट मिलन चोकमा एक घर पहिरोको उच्च जोखिममा छ।
वडा नं २ को हुग्दीशिरमा तीन घर र वडा नं ५ सुखौरामा दुई घर पहिरोको उच्च जोखिममा रहेको स्थानीयको भनाइ छ। त्यस्तै, काठेखोला–८ लेखानीमा पनि नौ घर पहिरोको उच्च जोखिममा परेका छन्।