
सिमकोट – कर्णाली प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको छ। चालु बजेट अधिवेशन बुधबार राति १२ बजेदेखि अन्त्य भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
कर्णाली प्रदेश सरकारको सिफारिसमा बजेट अधिवेशन अन्त्य गरिएको प्रदेश प्रमुख कार्यालयका सचिव ठाकुरप्रसाद सिक्देलले जानकारी दिए। बजेट अधिवेशन अन्त्य भएसँगै कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट अध्यादेशबाट पास गर्ने भएको छ।
सरकारले संसदबाटै बजेट पास गराउन धेरै प्रयास गरेको तर प्रतिपक्ष सहमत नभएपछि अब अध्यादेशबाट पारित गर्नुको अन्य विकल्प नभएको सरकारको प्रवत्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री सीता कुमारी नेपालीले बताइन्। संभवत आज (बिहीबार) अध्यादेशबाट बजेट पास गर्ने तयारी सरकारले गरेको छ।
प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले संसदमा बजेट प्रस्तुत भएयता १० पटक बैठक अबरुद्ध गरेको थियो। संसदबाट बजेट पारित गराउन १० पटक (असार ४ गते, ६ गते, ८ गते, ११ गते, १३ गते, १८, २४, २७, २९ र ३० गते) संसद बैठक चलाउने प्रयास गरिएको थियो।
सात पटक बैठक बसेर पनि कार्यसूचिमा प्रवेश नै नगरी स्थगित भएको थियो भने तीन पटक (असार ४ गते, ६ गते र ८ गते) एमालेको असहमतिका कारण सूचना टाँसेर बैठक स्थगित भएको थियो।
१० पटकसम्म प्रयास गर्दा पनि प्रतिपक्षले बजेट पारित गर्न नदिएपछि बाध्य भएर अध्यादेश ल्याउने परिस्थिति आएको प्रवक्ता नेपालीले बताइन्।