
सिमकोट – जिल्लाका बैंकमा पैसाको अभाव भएका बेला हवाईमार्गबाट आएको छ। सबै बैंकमा पैसाको अभाव भएका बेला राष्ट्रिय वाणिज्य बैंकले माग गरेअनुसार नेपालगञ्जबाट हवाईमार्गबाट पैसा आइपुगेको हो।
राष्ट्रिय वाणिज्य बैंककी प्रबन्धक सविता शाहीले जिल्लाका अन्य बैंक र सेवाग्राहीलाई भुक्तानी दिन समस्या भएको बेला पैसा आइपुगेको बताइन्।
उनले हवाईमार्गबाट ३० करोड रुपैयाँ आइपुगेको जानकारी दिइन्। दैनिक धेरै र ठूला योजनाको भुक्तानी दिनुपरेपछि पैसाको अभाव हुन थालेको थियो। बैंकमा सीमित पैसा भएका बेला दैनिक ७ करोडसम्म भुक्तानी हुने गरेको थियो।
असार दोस्रो हप्तादेखि ३० गतेसम्म ४५ करोड बैंकले भुक्तानी दिएको जनाएको छ। प्रबन्धक शाहीले अझै आधाजति भुक्तानी दिन बाँकी रहेको बताइन्।
उनका अनुसार अब अन्य बैंकलाई आवश्यकताअनुसार भुक्तानी दिन सकिन्छ। पैसा कम भएपछि बाणिज्य बैंकले एक लाख र अन्य बैंकले ५० हजार रुपैयाँसम्म मात्र भुक्तानी दिन थालेका थिए।
जिल्लामा पैसा भित्रिएसँगै अब हप्ता दिनदेखि चेक साट्न नपाएर सदरमुकाम सिमकोटमा बस्दै आएका सेवाग्राहीलाई सहज भएको छ।