
सिमकोट– नेपाली सेनाले निर्माण कार्य गर्दै आएको कर्णाली करिडोरको खुलालु, लैफु सलीसल्ला खण्डको सडक हस्तान्तरण गरेको छ। सेनाले सो सडकको निर्माण कार्य सम्पन्न भएपछि सडक विभाग अन्तर्गतको हिल्सा सिमकोट सडक आयोजनालाई हस्तान्तरण गरेको हो।
नेपाली सेनाको कर्णाली करिडोर सडक निर्माण कार्यदलका प्रमुख मिलन कार्कीले सम्पन्न सडकलाई हिल्सा सिमकोट सडक आयोजनालाई हस्तान्तरण गरिएको बताए।
प्रमुख कार्कीले कोरोनाका कारण निर्धारित समयमा कामसक्न केही ढिलाई भएको बताउँदै सेनाले काम भने पूरा गरेको बताए। हस्तान्तरण कार्यक्रम बाजुरा जिल्लाको तिथी चौरमा आयोजना गरिएको थियो।
कर्णाली करिडोरको खुलालु, लैफु हुँदै हुम्लाको सलीसल्ला खण्डको सडक हस्तान्तरण गर्नुअघि सेनाको निर्माण दलका तर्फबाट कार्की र हिल्सा सिमकोट आयोजनाकातर्फबाट योजना प्रमुख बिसुनदास लामाले हस्ताक्षर गरेका थिए। सो पत्र कार्कीले आयोजना प्रमुख लामालाई हस्तान्तरण गरेका थिए।
हस्तान्तरणपछि सडकको जिम्मेवारी लिँदै योजना प्रमुख लामाले अब सडकको पूर्णरुपमा अपनत्व लिने बताए। हस्तान्तरण कार्यक्रममा बाजुरा जिल्लाको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्लको पनि उपस्थिति रहेको थियो।
सेनाले सो खण्डको कालिकोटको खुलालु हुँदै हुम्ला जिल्लाका सलीसल्लासम्मको १२२ दशमलव ७५ किलोमिटर सडकको निर्माण कार्य पूरा गरेको हो। निमार्ण भएको कुल सडकमध्ये हुम्ला खण्डमा ३८ दशमलव चार किलो मिटर निर्माण भएको सडक पर्छ।
कोरोनाका कारण सडक हस्तान्तरण कार्यक्रम सेनाले केन्द्रीयस्तरको कार्यक्रम नराखेर जिल्लास्तरमा राखिएको जनाएको छ। खुलालु लैफु हुँदै सलीसल्ला खण्डको काम २०७० सालमा सेनाले काम सुरु गर्दै आएको थियो भने हुम्ला खण्डमा २०७३ चैत्र ९ गतेबाट निर्माण कार्य सुरु गरेको थियो।