
काठमाडौँ – नेकपा एमाले नेता भीम रावलले स्थायी कमिटी र संसदीय दलको बैठक स्थगन गर्नुपर्ने आफूहरूको माग सम्बोधन नभएका कारण माधव नेपाल पक्षले बैठक बहिष्कार गरेको बताएका छन्।
स्थायी कमिटी सदस्यसमेत रहेका कार्यदल सदस्यहरूले बैठक स्थगन गर्न र शीर्ष तहमा सहमति गरेर मात्रै बैठक सञ्चालन गर्न माग गरे पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक सञ्चालन गरेपछि आफूहरू बैठकमा सहभागी नभएको नेता रावलले बताए।
अध्यक्ष ओलीको पछिल्लो अभिव्यक्तिका कारण एकतामा अप्ठ्यारो सिर्जना गरेको भन्दै केही समयपछि बैठक राख्न आग्रह गर्दा पनि अध्यक्ष ओलीले बैठक सञ्चालन गरेको उनले बताए।
‘एकतालाई अगाडि बढाउन अध्यक्ष केपी ओली र बैठकमा उपस्थित नेताहरूले गम्भीर रूपमा सोच्नुहोस्। यो बैठक स्थगन गर्नुहोस् र हामीले जुन कार्यदलमा सहमति गरेर यो प्रक्रिया अगाडि बढ्ला भन्ने अपेक्षा गरेका थियौँ,’ उनले भने, ‘स्वयं पार्टी अध्यक्षबाट आफ्नो निवासमा सर्ने क्रममा दिएका अभिव्यक्तिले हामीलाई झन् अप्ठ्यारो परेको छ। त्यसकारण अलिकति हामीलाई समय आवश्यक प¥यो। यो समय हामीलाई दिनुस्, स्थायी कमिटी बैठक स्थगन गर्नुस्। संसदीय दलको बैठक स्थगन गरौँ।’
पार्टी अध्यक्ष र वरिष्ठ नेताबीच शीर्ष तहमा कुराकानी गरेर अगाडि बढ्न आग्रह गरेको उनले बताए। उनले भने, ‘पार्टी अध्यक्षले यो बैठक जारी रहन्छ। यसका लागि कार्यसूची अगाडि बढाउनुस् भनेपछि बैठकमा हाम्रो सहभागिता छैन भनेर हामी हिड्यौँ।’
नेता रावलले आफूहरू पार्टी एकताको पक्षमा रहेको र कार्यदलमा सहमति गरेअनुरुप पार्टी बैठक सञ्चालन गरिनुपर्ने बताए।