
सिमकोट – नाम्खा गाउँपालिका–३ को खगालगाउँमा रहेको स्वास्थ्य चौकी बन्द हुँदा बिरामीको उपचारमा समस्या भएको छ। तीन दिनदेखि स्वास्थ्य चौकी बन्द भएपछि बिरामीको उपचारमा समस्या देखिएको हो।
बुधबारदेखि कोरोनाविरुद्धको भेरोसेल खोप लगाएर स्वास्थ्यकर्मीले चौकी बन्द गरी नफर्केपछि बिरामीलाई उपचारमा समस्या भएको स्थानीय देव लामाले बताए।
स्वास्थ्य चौकीमा उपचार गर्न पाउने अवस्था नरहेपछि बिरामीलाई सदरमुकामस्थित जिल्ला अस्पतालमा आउनुपर्ने अवस्था सिर्जना भएको उनले बताए।
स्वास्थ्य चौकी बन्द हुँदा उपचारका लागि गएका बिरामी उपचार नगरी फिर्ता हुनुपरेको उनले गुनासो गरे। बिरामीलाई उपचारका लागि व्यवस्था गर्न तत्काल स्वास्थ्य चौकी खोल्न पनि उनले गाउँपालिकासँग आग्रह गरेका छन्।
गाउँपालिकाका स्वास्थ्य संयोजक ग्यास्टो लामाले स्वास्थ्य चौकी बन्द भएको सूचना पाएलगत्तै तीन जना स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न खोजेपछि सम्पर्क हुन नसकेको बताए।
दुई दिन लगातार बिदा भएका कारण पनि बन्द रहेको हुन सक्ने बताउँदै यसबारे आफूले बुझिरहेको र तत्काल स्वास्थ्य चौकी खोल्ने व्यवस्था गरिने जानकारी दिए। स्वास्थ्य चौकी रहेको खगालगाउँ सदरमुकाम सिमकोटबाट तीन घण्टा पैदल लाग्ने गर्छ।