
सिमकोट – हुम्ला आएर हिल्सामा निर्माण भएको प्रवेशद्वारको उद्घाटन गर्ने धोको कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाको पूरा हुन पाएन।
हेलिकप्टर उडानका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको अनुमति लिनुपर्ने भएपछि बिदा परेका कारण सो अनुमति नआउँदा मन्त्री बुढाले आउन नपाएका हुन्।
नेपाल र चीनको सिमाना हिल्सामा गत वर्ष निर्माण भएको प्रवेशद्वार उद्घाटन गर्ने कार्यक्रम हाललाई स्थगन भएको डिभिजन वन कार्यालयका प्रमुख रेनुका न्यौपानले बताइन्।
संघीय पर्यटन मन्त्रालयको हेलिकप्टर उडान गर्न पाउने अनुमति पत्र नआउनु र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री बुढालाई हुम्ला नजान निर्देशन दिएपछि मन्त्री बुढाको प्रवेशद्वार उद्घाटन गर्ने कार्यक्रम पुनः एक पटक स्थगन भएको हो।
यसअघि पनि पटक–पटक मन्त्री बुढा सो कार्यका लागि हुम्ला आउन खोजेका थिए। कार्यालयले प्रवेशद्वार उद्घाटनका लागि वार्षिक कार्यक्रम नै तय भएको जनाएको छ।
प्रमुख न्यौपानेले सबै तयारी भएको भए पनि मन्त्री नआउने भएपछि हाललाई कार्यक्रम स्थगन भएको बताइन्। अब सो कार्यक्रम आगामी भदौमा गर्ने जनाइएको छ।
हेलिकप्टरमा आउन लागेको मन्त्रीको टोली सिमकोटबाट हिल्सा जाने कार्यक्रम रहेको थियो। कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आर्थिक सहयोग र डिभिजन वन कार्यालय हुम्लाको प्राविधिक सहयोगमा प्रवेशद्वार निर्माण भएको हो।
मन्त्रीको टोली एक रात जिल्लामै बस्ने तय भएको थियो। ७५ लाखमा सीमा प्रवेशद्वार निर्माण सम्पन्न भएको थियो। हेलिकप्टरले हिल्साका लागि दुई उडान भर्ने व्यवस्थाका लागि तयारी भइरहेको छ।