
सिमकोट – हुम्लामा निर्माणधीन दुई वटा पक्की पुलको काम रोकिएको छ।
पुलमा काम गरिरहेका कामदारलाई एन्टिजीन किटबाट कोरोना परीक्षण गर्दा संक्रमण देखिएपछि निर्माण कम्पनीले पुलको काम बन्द गरेको पुल निर्माण कम्पनी सपना धुलिखेल जेभीका स्थानीय प्रतिनिधि गणेश बहादुर महतले बताए।
उनले कर्णाली करिडोर अन्तर्गत सिमकोट हिल्सा सडक खण्डको हेक्पा र ताग्रु खोलामा पुल निर्माण भइरहेका बेला २५ जना कामदारको कोरोना परीक्षण गर्दा १५ जना कामदारलाई संक्रमण देखिएकाेले काम राेकिएकाे बताए।
संक्रमित मध्ये तीन जना डोजरका चालक हुन्। कामदार मध्ये केहीलाई रुघाखोकी लागेपछि निर्माण स्थलमै कोरोना परीक्षणको व्यवस्था गरिएको थियो ।
कोरोना देखिएका कामदार मध्य ११ जना सिमकोटस्थि रानीवनको आइसोलेशनमा रहँदै आएका छन् भने चार जनालाई निर्माणस्थल क्षेत्रमै आइसोलेशनमा राखिएको छ।
हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख बिसुन दास लामाले पुल निर्माण कार्यले गति लिएका बेला एकाएक कामदारमा कोरोना देखिएपछि काममा बाधा पुगेको बताए।
निर्माणधीन पुल मध्ये हेक्पा खोलाको पुलको नौ करोड ९५ लाख र ताग्रु खोलाको पुलको नौ करोड ८५ लाखमा चार वर्ष अगाडि सम्झौता भएर निर्माण कार्य सुरु भएको थियो।