
सिमकोट – असार ३१ गते नेपाली सेनाले हस्तान्तरण गरेको कर्णाली करिडोरको हुम्ला खण्डको सलीसल्ला क्षेत्रको कर्णाली नदीमा फेरी सञ्चालन वा बेलिब्रीज निर्माण गरेर यातायात सञ्चालनमा ल्याइने भएको छ।
सलीसल्लाको कर्णाली नदी वारी र पारीसम्म सडक निर्माण भए पनि नदीमा पुल नभएको कारण यातायात सञ्चालन हुन नसकेको बेला पुल निर्माण गर्न लागिएको हो।
हिल्सा-सिमकोट सडक आयोजनाका योजना प्रमुख बिसुनदास लामाका अनुसार तत्कालका लागि पक्की पुल निर्माण गर्ने कार्य सम्भव नदेखिएपछि सलीसल्लामा बेलिब्रीज वा फेरी सञ्चालनमा ल्याउने तयारीमा आयोजना लागेको हो।
सो क्षेत्रमा ७० मिटर लम्बाईको बेलिव्रीज निर्माण गर्नुपर्ने स्थलगत सर्भेले देखाएको हो। हाल आयोजनासँग ४८ मिटरका बेलिव्रीज भएको र त्यो भन्दा लामो नभएको कारण फेरी सञ्चालन वा नयाँ बेलिब्रीज निर्माणको विकल्पसहितको योजना लिएर योजना प्रमुख लामा हाल विभागमा स्वीकृतिका लागि काठमाडौँ लागेका छन्।
स्थलगत अध्ययनपछि माग लिएर काठमाडौँ गएको र दुई वटा विकल्प मध्ये एउटा विकल्प लिएर जिल्ला फर्कने उनले बताए।
नदीको सतह चौडा भएको कारण बेलीव्रीज निर्माणको योजना स्वीकृत भएर बिचमा पिल्लर निर्माण गर्नु पर्नेछ। जुन काम नदीको बहाव घटेपछि सुरु गरिनेछ। बेलिव्रीज निर्माणको सम्भावना नभए केही दिन अगाडि नेपाली सेनाको निर्माण दलले आयोजनालाई हस्तान्तरण गरेको फेरीलाई सलीसल्लामा ल्याएर सञ्चालन गर्ने योजनामा आयोजना रहेको छ।
जसरी पनि आयोजनाले आगामी असोजसम्म सलीसल्ला क्षेत्रको कर्णाली नदीमा बेलिब्रीज निर्माण वा फेरी सञ्चालन गरेर यातायात सुचारु गर्ने योजनामा लागेकाे छ।
यसका लागि साउन महिना भित्रै आयोजनाले टेण्डर आह्वान प्रकृया पनि अगाडि बढाउने तयारी गरेको छ। हाल बाजुरा हुँदै हुम्ला खण्ड आएका यातायातका साधनहरु सलीसल्लाको कर्णाली नदी पारीको भागसम्म आउने गरेका छन् भने सलीसल्लाकै कर्णाली वारीको क्षेत्रबाट सर्केगार्ड गाउँपालिकाको स्याल्तडीसम्म आयोजनाले सडक निर्माण गरिसकेको छ। सो क्षेत्रमा हेलिकोप्टरबाट ढुवानी गरिएका बाेलेरो जीप सञ्चालन हुँदै आएका छन्।