
सिमकोट– गाउँसभाद्वारा पारित भएर वार्षिक विनियोजित बजेटबाट ५ वटा गाउँपालिकाको बजेट रोक्का गरेर राज्य कोषमा फिर्ता पठाइएको छ।
बजेट शीर्षकभन्दा पनि जथाभावी बेशीर्षकमा खर्च गरिएको भेटिएपछि कोष तथा लेखा नियन्त्रण कार्यालयले आर्थिक वर्ष ०७७।७८ को तेस्रो चौमासिक बजेट निकासामै कटाएर राज्य कोषमा जम्मा गरिएको हो।
कार्यालय प्रमुख नवीन विकले जिल्लाका सातमध्ये पाँच वटा गाउँपालिकाले विनियोजित शीर्षकभन्दा जथाभावी खर्च गरेको पाइएकाले तीन करोड ७७ लाख ८४ हजार ७४५ रुपैयाँ तेस्रो चौमासिकमा गाउँपालिकाले पाउने निकासबाटै कटाएर राज्यकोषमा जम्मा गरिएको जानकारी दिए।
जथाभावी बेशीर्षकमा बजेट खर्च गर्ने गाउँपालिकामा ताँजाकोटले २२ लाख ६१ हजार दुई सय, अदानचुली गाउँपालिकाले एक करोड ६७ लाख ६८ हजार ९०७, चंखेली गाउँपालिकाले ३९ लाख, सर्केगार्ड गाउँपालिकाले ७० लाख ५१ हजार ६३ र सिमकोट गाउँपालिकाले ७८ लाख चार हजार ५७५ रुपैयाँ छ।
यो बजेट ०७६।७७ मा गाउँपालिकाले जथाभावी खर्च गरेको पाइएको थियो। वैशाखको अन्तिम लेखापरीक्षण गर्ने क्रममा बेरुजु औँल्याइएको थियो।
प्रमुख विकले नियमानुसार यसरी जथाभावी खर्च गर्न नपाइने भएकाले महालेखाले खर्च गरेको रकम असुलउपर गर्नुपर्ने पत्राचार गरेका कारण निकासाबाटै कटौती गरेर राज्यकोषमा जम्मा गरिएको बताए।
गाउँसभाबाट पारित भएको कार्यक्रममा विनियोजित बजेट सत्रुमा इन्ट्री भएपछि अन्य शीर्षकमा खर्च गर्न नपाइने प्रावधान छ। खर्च गर्नै पर्ने भए गाउँसभाबाट निर्णय गरेर एक शीर्षकको बजेट अर्कोमा रकमान्तर गर्नुपर्ने व्यवस्था छ।
तर, गाउँपालिकाले बजेट शीर्षक नै नहेरी जथाभावी चेक काट्ने कार्य गरेको परिणाम भोग्नुपरेको हो। नाम्खा र खार्पुनाथ गाउँपालिकाले भने शीर्षकअनुसार खर्च गरेको पाइएको छ।