
काठमाडौँ– नेकपा एमाले एकता अब असम्भवप्रायः देखिन्छ। तैपनि, झिनो आससहित दोस्रो तहका नेताको दौडधूप जारी छ।
तर, जसै उनीहरू एकताका लागि दौडधुप गर्छन्, अध्यक्ष केपी शर्मा ओलीले त्यसलाई आफ्ना तिखा र तल्लो स्तरका अभिव्यक्तिले एकाएक भत्काइदिन्छन्।
पछिल्लो पटकका उनका विरोधी लक्षित सार्वजनिक र बन्दकोठाभित्रका अभिव्यक्तिले उनी एकता हैन आफूलाई ‘हिरो’ मात्रै सावित गर्न चाहन्छन् भन्ने संकेत गरेको छ।
वास्तवमा उनका अभिव्यक्ति एकताका लागि तगारो बन्न थालेका छन्। सर्वोच्च अदालतले उनको इच्छाविपरीत संसदलाई जोगाएपछि र शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्ने अनुमति दिएपछि नेपालप्रति क्रुद्ध भएका थिए कि उनले आफ्नो बोलीलाई काबुमा राख्नै सकेनन्।
बालुवाटारबाट बाजागाजासहित बालकोट पु¥याएका कार्यकर्ताले बरन्डाबाट नेपाललाई ‘लाल गद्दार’ भनेको सुनेर ओलीले पनि घोषण गरे, ‘आफ्नै पार्टीको सरकार ढालेर विपक्षीलाई साथ दिने माधव नेपाल लाल गद्दार हुन्।’
त्यसअघि सरकारमा रहँदा अनेकौँ विवादास्पद अभिव्यक्ति दिएर आफ्नो ओज घटाएका ओलीले बालकोट पुगेपछि त्यसलाई आँखा चिम्लिएको देखियो।
जतिबेला एमाले एकताका लागि गठित कार्यदलका दुवैतिरका सदस्य सर्वोच्चको फैसलासँगै पार्टी एकताका लागि तीव्र कसरत गरिरहेका थिए।
सकेसम्म शेरबहादुर देउवालाई विश्वासको मत नदिने सहमति पार्टीमा जुटाउने उनीहरूको कसरत थियो।
तर, ओलीले नेपाललाई ‘लाल गद्दार’ घोषणा गरेपछि त्यो सबै भाँडियो। नेपालका प्रतिनिधिका रूपमा पार्टी एकताको प्रयासमा निरन्तर जुटिरहेका नेता भीम आचार्यले भने, ‘बालकोट पुगेर ओलीले दिएको अभिव्यक्तिबाट एकता झन् टाढियो। उहाँले ट्यापे, मुन्द्रेहरूले बोल्ने भन्दा पनि तल्लोस्तरको अभिव्यक्ति दिनुभयो। यसबाट उहाँले एकता चाहनुहुन्न भन्ने देखियो। अरु मामिलामा यसै पनि ओलीसँग रुष्ट हुनुभएका नेपाल झन् आक्रोशित हुनुभयो।’
शेरबहादुर देउवालाई विश्वासको मत दिन ओलीको बालकोटको अभिव्यक्तिले बल पुर्यायो। विश्वासको मत रोक्न आफ्नै खेमाका नेताहरूले चर्को दबाब दिइरहेका बेला नेपालले देउवालाई आफूले मात्रै मत दिएनन् अन्य २१ जना सांसदको मत पनि दिलाए।
त्यसलाई आफ्नो निर्देशन उल्लंघन गरेको ठहर गरेका ओली त्यसपछि नेपालसँग झन् टाढिने गरी अभिव्यक्तिहरूलाई निरन्तरता दिएका छन्।
देउवालाई मत दिँदा पार्टी ह्वीप नलाग्ने सर्वोच्चको आदेश थियो। तैपनि, ओलीले आफ्नो केन्द्रीय कमिटी बैठकबाट नेपालसहित २२ जनालाई २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण सोध्ने निर्णय गराए।
तर, स्पष्टीकरण पत्र पाउनुपूर्व देउवालाई विश्वासको मत दिने सांसदहरूले आफूहरूलाई स्पष्टीकरण आए त्यसलाई सर्वोच्च गएर चुनौती दिने धम्की दिएपछि पहिलो २४ घण्टा ओली मौन बसे।
फेरि अर्को २४ घण्टे म्याद राखेर ओलीले उनीहरूलाई स्पष्टीकरण पत्र पठाएका थिए। त्यसको पृष्ठभूमिमा ओलीले बैठकमा भनेका थिए, ‘गद्दारी गरेकालाई २४ घण्टे अल्टिमेटम सोधिनेछ। जवाफ केलाएर थप निर्णय गरिनेछ। गल्ती गरेर आउनेलाई अन्तिम मौका दिइनेछ।’ तर स्पष्टीकरण पत्रको जवाफ आउँदा नआउँदै ओलीले द्वेध चरित्र प्रदर्शन गरेर केन्द्रीय कमिटी बैठक समापन गरे।
‘हिजो महामहिम श्री ५ महाराजाधिराज सरकारले माधवकुमारलगायत माननीय सदस्यहरूलाई जति पनि स्पष्टीकरण सोधिएको छ त्यसलाई आममाफी दिइन्छ, एम्नेष्टी इज ग्रान्टेड रे! कति हाँस्नु। हामी गद्गद् भयौँ। अब हामीलाई आममाफी दिइँदै छ। यही हो खुसीको कुरा! यस्तोलाई कम्युनिष्ट भनिन्छ!’
पार्टी एकताका लागि अन्तिमसम्म प्रयास गर्ने जिम्मा आफैँले लिएका ओलीले भने पार्टी एकताका लागि गल्ती गरेका, बाटो बिराएकाहरूलाई ‘आममाफी’ दिइने विवादास्पद अभिव्यक्ति दिए।
उनले बैठकमा नेपाल र उनी समर्थक नेताहरूलाई लक्ष्य गर्दै भनेका थिए, ‘ एम्मेस्टी इज ग्रान्टेड’। अब एमालेलाई एक बनाऔँ।’
ओलीको यो अभिव्यक्ति अरू दिनको भन्दा फरक सुनिन्थ्यो। तर, वास्तवमा उनले आफैँलाई निर्णयकर्ताका रूपमा पेस गरेका थिए। यसलाई नेपालले ठाडै चुनौती दिएका छन् त्यसको २४ घण्टा नबित्दै। नेपालले ओलीको यो अभिव्यक्तिलाई दम्भकै निरन्तरताका रूपमा लिएको घोषणा गरेका छन्।
उनले आफूलाई ‘आममाफी दिन्छु भन्ने ओलीलाई श्री ५ महाराजाधिराजको उपमा दिएका छन्। राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले भने, ‘हिजो महामहिम श्री ५ महाराजाधिराज सरकारले माधवकुमारलगायत माननीय सदस्यहरूलाई जति पनि स्पष्टीकरण सोधिएको छ त्यसलाई आममाफी दिइन्छ, एम्नेष्टी इज ग्रान्टेड रे! कति हाँस्नु। हामी गद्गद् भयौँ। अब हामीलाई आममाफी दिइँदै छ। यही हो खुसीको कुरा! यस्तोलाई कम्युनिष्ट भनिन्छ!’ नेपालको थप प्रश्न थियो, ‘ओलीले बरु स्पष्टीकरण सोध्नु गल्ती थियो भनेको भए या मैले त्यसमा हतार गरेँ भनेको भए हाइट घट्थ्यो। मर्यादा कम हुन्थ्यो? उस्तै छ।’ नेपालको ओलीप्रति कटाक्ष त्यतिमा सीमित थिएन। उनले ओलीलाई लक्ष्य गर्दै भने, ‘डोरी झर्यो, गाँठो उस्तै छ।’
उनले ओली सुध्रिने झिनो आससहित पछिल्लो पटक आफू सार्वजनिक कार्यक्रममा मौन रहने कोसिस गरेको पनि सुनाए। उनले भने, ‘हिजो पुष्पलाल स्मृति दिवसका अवसरमा चम्पादेवीमा कार्यक्रम थियो। म बढो होसियारपूर्वक बोलेँ। मीठोमीठो स्वरमा भाषण गरेँ। एक–एक शब्दमा ध्यान दिएँ। साथीहरूले पनि मलाई कमरेड ख्याल गरेर बोल्नुहोला भनिरहनुभएको थियो।’
उनले भक्तपुरमा पनि पिपुल्स भोलेन्टियर कार्यक्रममा पनि त्यसैगरी संयमता अपनाएको बताए। उनले भने, ‘भक्तपुरमा गएर मैले आफ्ना कार्यकर्तालाई डन प्रवृत्ति नसिक्नु, माधव नेपालको घरवरपर गएर बाँदर जुलुस ननिकाल्नु भनेको थिएँ।’ आफ्नो घरवरपर हिजोआज मोटरसाइकलमा उपरखुट्टी लगाएर डनहरूले तर्साउन खोजेको उनको भनाइ थियो। ‘माधव नेपाल तर्साएर तर्सिने मान्छे हो? कस्ता कहाँ गए? कोही तर्सिनेवाला छैन। हामी विशेष धातुले बनेका मान्छे हौँ।’