
काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले ४ बुँदे निर्णय गरेको छ। केन्द्रीय सुरक्षा समितिको बैठकले कोभिड तेस्रो लहर बढ्ने सम्भावना उच्च भएकाले यसलाई रोकथाम तथा नियन्त्रण गर्ने निर्णय गरेको हो।
त्यस्तै, जनताको स्वास्थ्यसम्बन्धी स्वास्थ सामग्रीलाई सहज व्यवस्थापन तथा कालोबजारी नियन्त्रण गर्ने निर्णयसमेत गरेको छ। बैठकले बाढीपहिरो र डुबानमा परेका समुदायलाई राहत, उद्धार, नियत्रण स्वास्थ्य तथा खाद्य सामग्री सहजीकरण गर्न हेली व्यवस्थापन गर्नेसमेत निर्णय गरेको छ।
पछिल्लो समय साइबर क्राइमका घटना बढिरहेकाले त्यसलाई ध्यानमा राख्दै नियन्त्रण तथा व्यवस्थापन गर्नेसमेत केन्द्रीय सुरक्षा समितिको बैठकले निर्णय गरेको छ।
समितिले गरेको निर्णयमा ‘साइबर क्राइम बढेको र व्यवस्थापन एवं नियन्त्रण गर्ने’ उल्लेख छ। उक्त बैठकमा गृहसचिव महेश्वर न्यौपाने, नेपाली सेनाका रथी प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख गणेशप्रसाद अधिकारी, रक्षा मन्त्रालयका कामु सचिव आलोकचन्द्र श्रेष्ठ, गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेललगायत सहभागी थिए।