काठमाडौँ– सन् २०१९ को अन्त्यतिर चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण सुरु भयो। विस्तारै भाइरसले आफ्नो आकार बढाउँदै जाँदा विश्व नै आक्रान्त बनिरहेको छ। करिब डेढ वर्ष भइसक्दा पनि संक्रमण अझै नियन्त्रणमा आएको छैन। घट्नुको साटो नयाँ–नयाँ भेरियन्टहरु देखिइरहेका छन्।
कोरोनाले विश्वभर लाखौँ मानिसहरुको ज्यान मात्रै लिएको छैन, आर्थिक रुपमा शक्तिशाली देशहरुमा समेत अर्थतन्त्र तहसनहन बनाइदिएको छ जसबाट नेपालसमेत अछुतो छैन।
कोरोना भाइरसले नेपालको अर्थतन्त्र पनि शिथिल बनायो। पहिलो लहरमा (२०७६ चैत ११ गतेदेखि) सरकारले नेपालमा कोरोना भाइरस संक्रमणको दोस्रो केस देखिनेवित्तिकै चैत ११ गतेबाट लकडाउन गर्यो। करिब ६ महिनापछि मात्र लकडाउन खुकुलो भयो। त्यसपछि व्यापार व्यवसाय सञ्चालनमा आएसँगै होटल तथा रेष्टुरेन्ट पनि सञ्चालनमा आए, स्वास्थ्यका मापदण्ड पालना गरेर।
होटल तथा रेष्टुरेन्टका लागि सरकारले स्वास्थ्य प्रोटोकल तयार गरेको थियो, कसरी होटल तथा रेष्टरेन्ट सञ्चालनगर्ने भनेर। र होटल तथा रेष्टुरेन्टहरुले स्वास्थ्य प्रोटोकल अनुसार सेवा सुरु गरे। तर व्यापारले सामान्य अवस्थामा जस्तो गति लिन सकेन।
०००
विदेशी पर्यटकले धानेको रेष्टुरेन्ट तथा होटल व्यवसाय। कोरोना महामारीले गर्दा पर्यटक नै आएनन्। आन्तरिक पर्यटकहरुले मात्र होटल तथा रेष्टुरेन्ट उभो नलाग्ने व्यवसायीहरु बताउँछन्। होटलमा ग्राहकहरु नभएपछि र संक्रमण बढ्दै जाँदा सरकारले ठूला होटललाई विदेशबाट आउने मानिसहरुका लागि क्वारेन्टिन बनाउने निर्णय गर्यो। होटलहरुले क्वारेन्टिन बनाए पनि।
होटलहरुलाई केहि राहत भए पनि रेष्टुरेन्टहरु एण्ड बार ठप्प। पहिलो लहरमा पनि मार खेपेको रेष्टुरेन्टको अवस्था दोस्रो लहरमा पनि उस्तै छ।
होटललाई सरकारले हेरे पनि रेष्टुरेन्ट व्यवसायीहरुलाई नहेरेको रेष्टुरेन्ट एण्ड बार एशोसिएशनका महासचिव एकराज अधिकारी बताउँछन्।
रेष्टुरेन्टमा क्वारेन्टिनको व्यवस्था नगरिएको र आन्तरिक पर्यटकसमेत नआएकाले व्यापार नभएको महासचिव अधिकारी बताउँछन्।
‘हामीले त अब विस्तारै सकिएला कोरोना सोचेका थियौँ। विस्तारै व्यापार उकालो लाग्छ। विदेशी पर्यटक आउँछन् भन्ने लागेको थियो। तर वास्तविकता फरक भयो,’ उनले भने।
पहिलो लहरले थलापरेको रेष्टुरेन्ट व्यवसाय आंशिक रुपमा सञ्चालनमा आए पनि दोस्रो लहरले अझै थला पर्यो। दोस्रो लहरमा केही महिना बन्द गरेर सरकारले विस्तारै खुकुलो बनाउँदै अहिले व्यापार व्यवसाय तथा होटल रेष्टुरेन्ट बिहान ९ बजेदेखि ७ बजेसम्म खोल्न पाइने निर्णय गरेको गर्यो।
अन्य व्यवसाय भौतिक रुपमा सञ्चालन गर्न अनुमति दिए पनि रेष्टुरेन्ट व्यवसायमा भने ‘टेक अवे’ मात्र गर्न दिने निर्णय गर्यो। सोही निर्णय अनुसार रेष्टुरेन्ट व्यवसायहरु सञ्चालन भइरहेका छन्। तर यस्तो तरिकाले व्यवासाय सञ्चालन गर्न नसकिने उनले बताए।
‘हाम्रो व्यवसाय पर्यटक केन्द्रित हो। पर्यटक नआएपछि व्यवसायको अवस्था निकै नाजुक छ। त्यसमाथि सरकारले टेक अवे सिस्टम लगायो,’ उनले भने, ‘नेपाली ग्राहकहरु रेष्टुरेन्ट थोरै नै आउँछन्। अभौतिक रुपमा सञ्चालन गर्दा भाडा तिर्न पनि मुस्किल छ।’
सरकारको यस निर्णयले रेष्टुरेन्ट व्यवसायीहरुलाई राहत नभएको उनको गुनासो छ। सरकारले रेष्टुरेन्ट व्यवसायीहरुलाई पक्षपात गरेको उनको आरोप छ।
‘सरकारले अन्य व्यवसायलाई भौतिक रुपमा सञ्चालन गर्न दिएको छ। बजेटमा पनि उनीहरुलाई समेटेको छ। होटल व्यवसायलाई सेवामूलक उद्योगको रुपमा सम्बोधन गरियो तर उस्तै प्रकृतिको रेष्टुरेन्ट तथा बार व्यवसायलाई छुटाएको छ। हामीलाई बजेटमा पनि छुटायो। अब आउने मौद्रिक नीतिमा समेटिने आशा छ। अहिले अर्थमन्त्रीले हाम्रो माग सम्बोधन गर्नुहुन्छ भन्ने आशा छ। किनभने उहाँले भेट हुँदा साना तथा मझौला व्यवसायीहरुलाई प्राथमिकता दिने भन्नुभएको छ।’
अर्थमन्त्रीले रेष्टुरेन्ट व्यवसायीहरुलाई सहयोग गर्ने आश्वासन दिए पनि मौद्रिक नीति कहिले आउँछ भन्ने अन्यौल नै छ। तर सरकारसँग व्यवसायीहरुले स्वास्थ्य प्रोटोकल अपनाएर भौतिक रुपमा सञ्चालन गर्न दिन आग्रह गर्दै आएका छन्। तर आफ्नो आग्रहको सुनुवाई नभएको उनले गुनासो गरे।
उनले भने, ‘९५ प्रतिशत रेष्टुरेन्टहरु रेन्टमा सञ्चालन छन्। यस अवस्थाले रेन्ट तिर्न सक्ने अवस्था छैन। तिरे पनि केही ठाँउमा साथीहरुलाई घरबेटीले सताएको अवस्था छ भने अधिकांश घरबेटीले सपोर्ट गरेका छन्,’ उनले भने, ‘हामीलाई त अहिले सरकारभन्दा पनि घरबेटीले सहयोग गरेका छन्।’
यस्तै सरकारले ‘भिजिट २०२०’ लाई पर्यटन वर्षका रुपमा मनाउने लक्ष्य लियो। पर्यटन वर्षको तामझामका साथ स्वागत पनि भयो। तर आफूहरुलाई बढी पर्यटन वर्षले नै नाजुक अवस्थामा ल्याएको उनको भनाइ छ।
‘सरकारले पर्यटन वर्ष २०२० पर्वका रुपमा मनाउने भनेपछि बैंकबाट लोन लिएर, रेष्टुरेन्टका पुराना सामान फालेर नयाँ सामान राख्यौँ। रेष्टुरेन्टलाई फराकिलो बनायो। सबै गर्नुपर्ने कामगरियो,’ उनले भने, ‘त्यसपछि कोरोनाको लहर सुरु भइहाल्यो।यदि कोरोना २०२५ तिर आएको भएपनि व्यवसायको अवस्था यस्तो हुने थिएन।’
‘अब बैंकहरुले पनि ब्याज बुझाउन ताकेता गर्छ। दक्ष कर्मचारीहरु पलायन भइरहेका छन्,’ उनले भने।
उनका अनुसार करिब डेढ लाखलाई रेष्टुरेन्टले रोजगारी दिएको छ। यदी रेष्टुरेन्टहरु विस्थापित हुने हो भने लाखौँले रोजगारी गुमाउनेछन्। कतिले गुमाइसकेको उनले बताए।
‘रेष्टुरेन्टले रोजगारी मात्र होइन, कृषिलाई पनि जोडेको छ,’ उनले भने, ‘दैनिक करिब चार करोडभन्दा बढीको कृषि उपज खरिद गरी विविधिकरण गर्दै किसानहरुलाई बजारको प्रत्याभूति गराएका छौँ। अझ सरकार रोजगारी दिने कुरा गर्छ। तर देशमा भएको रोजगारीलाई बचाउन सकिरहेको छैन।’
तर पनि सरकारले रेष्टुरेन्ट व्यवसायलाई पुनरुत्थानका लागिआर्थिक वर्षको बजेटमा पनि आफ्ना माग तथा सुझावहरुको कुनै सुनुवाई नभएको उनी बताउँछन्।
बजेटमा पनि सुनुवाई नभएपछि मौद्रिक नीतिमार्फत अति आवश्यक माग तथा सुझावहरु सम्बोधनका लागि पर्यटन मन्त्रालय, अर्थ मन्त्रालय, नेपाल पर्यटन बोर्ड लगायतका सम्बन्धित निकायहरु र नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका नीति क्षेत्रका छाता संगठनहरुमार्फत आफ्ना मागहरु पेश गरेको उनले बताए।
‘आफूहरुले रेष्टुरेन्ट व्यवसायलाई होटल व्यवसाय सरह सेवामूलक उद्योगका रुपमा सम्बोधन गर्नुपर्ने, सहुलियतपूर्ण कर्जा सहज उपलब्ध गराउनु पर्ने, रेष्टुरेन्ट तथा बार व्यवसायलाई पनि पुनोरुत्थानमा कम्तिमा एक पटकका लागि विना धितो ५० लाखसम्मको सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनुपर्ने, भ्याट छुट गर्नुपर्ने लगाएका माग गरेका छौँ,’ उनले भने, ‘तर सरकारले हाम्रा सबै माग पूरा नगरे पनि एक माग सम्बोधन गरे धेरै राहत हुने थियो।’
आफूहरु मौद्रिक नीतिको पर्खाइमा रहेको र मौद्रिक नीतिमा पनि आफ्ना माग सम्बोधन नभए आन्दोलनमा जाने उनले बताए।
यसैगरी उनले रेष्टुरेन्ट व्यवसायलाई पुरानै लयमा फर्काउनका लागि पर्यटक आउने बाटो सहज बनाइदिन सरकारसँग आग्रह गरे।