‘बाउबाजेले नगरेको काम गर्नुपर्यो। दुःख लाग्यो नि साह्रै! पहिलो दिन काम गरेर घर आएपछि त रोएँ धुरुधुरु। फोहोरको गन्धले ५ दिनसम्म त केही पनि खान मन लागेन।’
६ महिने छोरालाई काखमा च्यापेर फोहोरको थुप्रोमाथि बसी खाना खाँदै गरेकी ३१ वर्षीया अनिता नेपाली सुनाउँदै थिइन् आफ्ना कथाव्यथा। ‘त्यत्रो दाल पकाएको थिएँ, आज त कति थोरै ल्याएछ यो राजकुमारले। कसरी खानु अब मैले यत्रो भात’, जेठो छोरालाई कराउँदै उनले भनिन्।
त्यत्ति नै खेर रुन थाल्छ काखमा भएको ६ महिने कान्छो छोरा। सायद अनिताले खाना खाँदै गर्दा उसलाई काखमा अप्ठ्यारो भएको हुँदो हो।
खाँदै गरेकी अनिता जुरुक्क उठिन् र त्यही फोहोरको थुप्रोमाथि बनाएको झुलामा छोरालाई सुताएर फेरि खान सुरु गरिन्।
छोरा फेरि रुन थाल्छ। मलाई संकेत गर्दै उनले भनिन्, ‘नानी त्यो झुला धकेल्दिनू न, एकपटक बाबु निदाउँछ अनि मैले आरामसँग खान पाउँछु।’
मैले झुला धकेल्दै थिएँ, अनिताले थपिन्, ‘तपाईंलाई त अहिले फोहोरको गन्धले सास फेर्न पनि गाह्रो भयो होला है! सुरु–सुरुमा मलाई पनि त्यस्तै हुन्थ्यो। के गर्नु पेट पाल्नु परिहाल्यो। अहिले त बानी पर्यो।’
हुन पनि मलाई उकुसमुकुस भइसकेको थियो। दुई वटा मास्क लगाउँदा पनि फोहोरको गन्धले सास अड्केलाजस्तो भएको थियो।
तैपनि, केही नभएको भावमा पुनः सोधेँ, ‘पहिलाचाहिँ के काम गर्नुहुन्थ्यो नि?’
उनी भन्दै थिइन्, ‘एउटा पार्टी प्यालेसमा भाँडा मोल्थेँ। जुठा भाँडा मोल्दा बरु त्यति रुन मन लाग्या थिएन। अहिले त दुनियाँले फालेको फोहोर टिप्नुपरेको छ।’
‘मन त छ नि अरू काम गर्ने। घरमा भए त बरु मेलापात गरेर भए पनि खान्थेँ। अर्काको घरमा भाडा तिरेर त बस्नुपर्दैनथ्यो,’ उनले थपिन्।
हातमा पञ्जा लगाउँदै जुरुक्क उठिन् र फोहोरको डंगुरबाट प्लास्टिक, सिसा, कपडा, बोतललगायत छुट्याउन थालिन्।
उनी भन्दै थिइन्, ‘के गर्नु र ! कहिलेकाहीँ त पञ्जा किन्ने पैसा पनि हुँदैन।’
हातमा लगाएको पञ्जा देखाउँदै भनिन्, ‘यो पञ्जा पनि यही फोहोरको थुप्रोमा भेट्टाएको। हस्पिटलबाट फाल्दो रै’छ त्यही बटुलेर राखेको थिएँ।’
०००
अनिताले जडीबुटीस्थित मनोहरा डम्पिङ साइडमा काम गर्न थालेको एक वर्षजति भयो। बिहान साढे ५ बजे उठेर खाना बनाउँछिन्, सानो छोरालाई लिटो खुवाउँछिन् र घरधन्दा सकेर ७ बजे उही काममा निस्कन्छिन्।
बिहान पकाएर राखेको खाना जेठो छोराले ल्याइदिन्छ काम गरेकै ठाउँमा। दिनभर काम गरेर बेलुकी ७ बजेपछि बल्ल फर्किने बेला हुन्छ उनको।
कक्षा ५ मा पढ्ने उनको जेठो छोराले अहिले अनलाइन क्लास हुन थालेपछि भने पढ्न पाएको छैन रे! उनी थप्छिन्, ‘लकडाउनभन्दा अगाडि स्कुलमै गएर पढ्थ्यो। अहिले अनलाइन क्लास भइरा’छ, के गर्नु मोबाइल छैन।’
तैपनि, छोराहरूलाई लिएर उनले ठुल्ठूला सपना बुनेकी छन्। सायद सपना देखे पूरा गर्ने हौसला मिल्छ भन्ने बुझेकी छन् उनले। यद्यपि, कहिलेकाहीँ छोराहरूको साना इच्छा पनि पूरा गर्न नपाउँदा भने मन अमिलो हुन्छ उनको। तैपनि, हिम्मत हारेकी छैनन् उनले।
‘यो कोरोनाका बेला पनि काममा गएको भनेर कतिले त छिःछि र दुर्दुरको व्यवहार गर्थे। हामीलाई पनि हाम्रो ज्यानको त माया छ नि! खानका लागि दुःख गर्नै पर्यो’, उनले थपिन्।
जेठो छोरालाई ब्रिटिस आर्मी बनाउने धोको छ उनको । भन्छिन्, ‘राम्रो पढाएर छोरा ब्रिटिस आर्मी भएको हेर्ने मन छ…’ बोल्दा बोल्दै अवरुद्ध भयो उनको गला।
मैले कुरा अन्त मोड्ने प्रयत्न गर्दै भनेँ, ‘कस्तो गर्मी है आज?’ टाउकामा बाँधेको पछ्यौराको छेउले पसिना पुछिन् र भनिन्, ‘अहिले त पाल टाँगेर अझ सजिलो भएको छ नि नानी! नत्र घाम त के मुसलधारे पानीमा पनि रुझेर काम गर्नुपर्थ्यो।’
पछिल्लो समय काठमाडौँको खोला नाला किनारा यसै प्रदूषित छन्। मानवीय चापका कारण न फुटपाथमा खुट्टा अटाउने ठाउँ छ न त फोहोर फाल्ने डम्पिङसाइड।
यसकारण अनिताजस्ता फोहोर बटुल्ने सयौँको स्वास्थ्यमा असर नगर्ला भन्न सकिन्न। अनिता भन्छिन्, ‘फोहोरको गन्धसँग बानी परिसक्यो जस्तो लाग्छ अब त। केही समय अझ यही कामलाई अगाडि बढाएँ भने त मैले वासना र गन्ध पनि पत्ता पाउन छाड्छुहोला।’
सधैँ यही फोहोर बटुलेर बस्न भने मन छैन उनको। एउटा गाडा किनेर कपडा पसल खोल्ने सपना बुनेकी छन् उनले। भावुक हुँदै भनिन्, ‘मन मात्र भएर नि के गर्नु, आकाशको फल आँखा तरी मर जस्तै हुन्छ जस्तो छ।’
‘दिनभर काम गर्यो, एक महिनामा बल्ल १० हजार कमाइन्छ। डेराभाडा तिर्नु कि चामल, ग्यास भर्नु कि बालबच्चालाई पढाउनु’, लामो सुस्केरा हाल्दै उनले थपिन्, ‘यत्तिकै जिन्दगी जान्छ जस्तो छ।’
एउटा दुःखबाट पार लाग्न फोहोरको थुप्रोमा सपना बुन्दै गरेकी अनितालाई श्रीमान्ले पनि भरथेग नगर्ने रहेछन्। जाँड, रक्सी र कुलतमा फसेका उनका श्रीमान्बाट उनले माया त दूरको कुरा मीठो बोली पनि सुन्न पाएकी छैनन्।
भन्छिन्, ‘उहाँ आफैँ कमाउनुहुन्छ, आफैँ रमाउनुहुन्छ। कहिलेकाहीँ पैसा दिए पनि भोलिपल्टै त्यो पैसा रक्सी खान चाहिन्छ।’ रक्सी खाएर कराउने बानीले गर्दा मलाई कुन दिन यो डेराबाट पनि निकालिदेलान् भन्ने डर लाग्छ।’
अनिता र उनका श्रीमान्को भेट भने ठमेलको एक लुगा सिलाउने कारखानामा भएको रहेछ। अनिताका अनुसार उनका बुवा र ससुरा सँगै कारखानामा काम गर्थे।
‘हामी दुई जना पनि त्यहीँ काम गर्थ्यौँ। मन परापर भयो अनि बुवा–आमाले बिहे गर भनेर उहाँहरूकै सल्लाहमा ०६५ सालमा विवाह गरेको हो’, उनले अतीत खोलिन्।
अनिताले रक्सी खान छुटाउने एउटा औषधि पाइने सुनेकी रहिछन्। ‘रक्सी छाड्ने औषधि हुन्छ रे नि! त्यसलाई २५ सय पर्छ रे! पैसा भयो भने त्यो खुवाउँछु भन्ने सोच छ,’ उनले थपिन्।
श्रीमान्को कुटाइले कति रात त भोकै बिते त कति रात आँसु पिएर अघाइन् रे उनी। तर, लाग्थ्यो उनको मुस्कानमा भोक, व्यथा, रोदन सबथोक लुकेको छ।
उनले थपिन्, ‘के गर्नु नानी, दुःख पाएपछि कसैले पनि नहेर्ने रहेछ। माइतीतिर बुवा, दाजु, भाइ, दिदी, बहिनी सबै छन्। भएर पनि के गर्नु र! म सुत्केरी हुँदा एकछाक खाना त बोलाएनन्।’
अनिताको आमाले घर छाडेर गएको धेरै वर्ष भयो रे! उनका अनुसार बुवाले अर्की श्रीमती ल्याएपछि आमा विदेश गएकी छन्।
मैले पुनः सोधेँ, ‘कुन देश?’ निन्याउरो स्वरमा भनिन्, ‘खै नानी विदेश रे!’
आमासँग भेटेर एकपटक भक्कानिएर रुन मन छ उनलाई। भन्छिन्, ‘आमाको एकपटक नम्बर पाउन पाए ऋण गरेर भए पनि फोन गर्थें।’
बाह्र वर्षपछि खोला पनि फर्किन्छ भन्ने उखान सायद अनिताले मनन गरेकी छन्। त्यसैले त उनी आमाको प्रतीक्षामा छिन्।
आशा लाग्दो स्वरमा उनले भनिन्, ‘यो भिडियो छिट्टै हाल्दिनुस् है! सायद मेरो आमाले यो भिडियो हेर्नुभयो भने पक्कै मलाई भेट्न आउनुहुन्छ।’
जीवनका विभिन्न आरोहअवरोह तथा रोदन–क्रन्दनलाई आफ्नो जीवनसाथी बनाएर हिँडेकी अनिता अनेकौँ भोगाइसँगै बाटोमा छरिएका काँडा पन्छाउँदै मीठो सपना बुनिरहेकी छन्, छोरालाई ब्रिटिस आर्मी बनाउने र आमासँग एकपटक भेट्ने। सायद यिनै सपनाले होला फोहोरको डंगुरमा पनि हौसिएर काम गर्ने जाँगर चलेको उनलाई।
तस्बिरहरु : सुलभ श्रेष्ठ
भिडियो: गोविन्द खत्री
भिडियो हेर्नुहोस्: