
काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले भदौ ८ गतेसम्मका लागि उपत्यकाको निषेधाज्ञा बढाएको छ।
तर, यो निषेधाज्ञा विगतको भन्दा परिवर्तन भएकाले आममानिसमा कोरोनाको तेस्रो लहर आएको हो कि भन्ने त्रास पैदा भएको छ। उपत्यकाका जिल्ला प्रशासनहरूले बिहीबारबाट लागू हुनेगरी राति ८ बजेबाट अत्यावश्यकबाहेक निजी तथा सार्वजनिक सवारीसाधन चलाउन नपाउने निर्णय गरेको थियो।
त्यसपछि आममानिसमा कोरोनाको तेस्रो लहर आएको हुन सक्ने अनुमान लगाउँदै त्रास पैदा भएको छ। यसै विषयमा केन्द्रित रहेर काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीसँग गरिएको कुराकानीको सम्पादित अंशः
काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुखहरूले मंगलबार के निर्णय गर्नुभएको हो?
– वैशाख १६ गतेदेखि जारी गरेको निषेधाज्ञा जारी छ। हामीले निरन्तरता दिएका छौँ। फेरि भदौ ८ गतेसम्मका लागि केही क्षेत्रलाई हामीले सीमित गरेका छौँ। हामीले अहिले दुई–तीनवटा कुरामा जोड दिएका छौँ। एउटा पूर्ण रूपमा निषेध गरिएका विषय छन्। त्यसमा सबै प्रकारका सभा सम्मेलन, खुला स्थानमा भेला हुने, जम्मा हुने, भीडभाड गर्नु नहुने, केही क्षेत्र खोल्न नपाइने छन्। अर्को भनेको स्वास्थ्यका मापदण्ड पालना गरेर कार्य सञ्चालन गर्ने भनेर छाडेका विषय पनि छन्। र, अहिले हामीले निषेधाज्ञा जारी गरेको साढे तीन महिना पुग्यो। बीचको २ महिनादेखि हामीले केही क्षेत्र खुलाएको अवस्था छ। तर, पछिल्लो चरणमा हिजो/अस्तिको डाटा हेर्ने हो भने कोरोनाको संक्रमण दर ह्वात्तै बढ्दै गइरहेको छ। संक्रमण दर बढेको छ, निको हुने दर घटेको छ।
मृत्युदर पनि बढ्न थालेको अवस्था छ। अस्पतालमा बिरामीको चाप अहिले बढेको देख्न सकिन्छ। त्यो कारणले अब यसलाई फरक दृष्टिकोणले हेर्नुपर्छ। एकैपटक पूर्ण निषेधाज्ञा जारी गर्नुभन्दा पनि पहिला हामीले पूर्वमा केही गर्नुपर्छ भनेर अनुगमनका रूपमा केही निर्णय गरेका हौँ। हिजो म आफैँ पनि अनुगमनमा निस्किएँ। सार्वजनिक यातायात क्षेत्रमा मास्क लगाएको छ कि छैन, मल पसलमा पनि भीडभाड कत्तिको छ? मास्क के छ, भनेर हामी निस्किएका थियौँ। मास्क अधिकांशले लगाएकै देख्यौँ। नलगाएकालाई बाढ्यौँ पनि। अब जरिवाना पनि सुरुवात गरेका छौँ। संक्रमण दर नबढोस् र दैनिक जीवनका कुरा पनि चालु हुन् भन्ने नै हाम्रो अहिलेको नीति हो। त्यसअनुसार हामी यो बीचमा बसेर काम गरिरहेका छौँ। अधिकांश साविकबमोजिमकै निर्णय छन्।
बेलुका ८ बजेपछि सबै बन्द भनेको के हो? कस्तो बन्द हो?
– हामीले मंगलबार थप एउटा निर्णय गरेका छौं, रात्रिकालीन व्यवसायका कारण होटल, रेष्टुरेन्ट, टेकवे मात्रै दिने भन्यौँ, हाम्रोमा गुनासा आए। मानिसहरू बाहिरै बसेर खाइरहेका छन्। रेस्टुरेन्ट चालु भइरहेको छ, होटलका मानिसले पनि स्वास्थ्य प्रोटोकल पालना गरेको देखिँदैन भन्ने गुनासो आएपछि हामीले भीडभाडजन्य गतिविधि रोक्न यो मास्क खोलेर हुने गतिविधि छ, बेलुकाको खानपिनको कार्यक्रम त्यसमा अलिकति निरुत्साहित गर्न सकियोस् भनेर हामीले सबैले आ–आफ्नो गन्तव्यमा ८ बजेभित्र पुगिसक्नुपर्ने सोचमा एउटा निर्णय थप गरेका हौँ।
त्यसमा अत्यावश्यक सेवाका गाडी चल्न पाउँछन्। गिट्टी, बालुवा, निर्माणजन्य सामग्री ढुवानी गर्न राति दिइएको छ। बाहिरबाट उपत्यका प्रवेश गर्ने गाडी पनि चल्न पाउँछन्। जस्तै जामको कारणले, कारणवश थानकोटदेखि तल रोकिनुपर्ने स्थिति नआओस् भनेर उपत्यका आउने–जानेलाई पनि सहजीकरण गरिदिनु भनेका छौँ। सबै निजी र सार्वजनिक सवारी साधन ८ बजेभित्र गन्तव्यमा पुगिसक्नुपर्ने भनेको मतलव रात्रिकालीन व्यवसायमा, माहोलमा भीडभाड नहोस् भन्ने मुख्य उद्देश्य हो।
यसमा पनि हिजो हामीले आदेश जारी गर्यौँ। केही सुझाव हामीलाई प्राप्त भएको छ। राति कोरोना सर्ने दिउँसो नसर्ने, दिउँसो भीडभाडमा कोरोना नलाग्ने, राति लाग्ने भन्ने प्रश्न पनि आएको छ। हाम्रो मुख्य उद्देश्य सवारी साधन रोक्ने होइन, तर यो भीडभाडजन्य गतिविधि मोटरसाइकल पार्किङ, गाडी पार्किङ गरेर रेस्टुरेन्टतिर खाने प्रवृत्ति धेरै देखियो, मास्क नलगाउने प्रवृत्ति देखियो त्यसैले हामीले अनुगमन पनि गरिराखेका छौँ। त्यसलाई कडाइ गर्ने मुख्य उद्देश्य हो। अरू साविकबमोजिम नै छ।
तर, अब अलिकति काठमाडौंमा रेड जोनमै हामी पुगिसकेका छौँ भन्ने स्वास्थ्य विज्ञहरूको रिपोर्ट आइराखेको छ। यो जारी गरेको आदेश जुनसुकै बखत पनि पुनरवलोकन हुन सक्छ। हामी प्रतिदिन डाक्टरसँग स्वास्थ्य मन्त्रालयसँग समन्वयमा छौँ, हाम्रो मुख्य उद्देश्य भयावह नहोस् भन्ने नै हो। अक्सिजन अहिले हाम्रो ब्यालेन्समा छ। अक्सिजन नपुगेर कोही व्यक्तिको पिक टाइममा मृत्यु भयो तर त्यसमा अहिले सुधार आएको छ। बेडमा अलिकति चाप भएकाले बेड थप गरेको हो।
अनुगमन गर्दागर्दै पनि सेवाग्राहीले स्वास्थ्यका मापदण्ड पालना गरिरहेको देखिँदैन नि?
– हरेक ठाउँमा हरेक निकायको जिम्मेवारी हुन्छ। यहाँ पनि सेवाग्राही आउनुभएको छ, म बेलाबेलामा गएर आफैँ हेरिरहेको हुन्छु। मास्क नलगाएकोलाई लगाउनुस् भनिरहेका छौँ, भीडभाड गर्नेलाई अलिकति दूरी कायम गरेर बस्नुस् भनिरहेका छौँ, यो सबैले पालना गर्नुपर्ने हुन्छ। सेवाप्रदायक संस्थाले पनि आफ्नो कार्यालयको व्यवस्थापनमा ध्यान दिनुपर्यो। नागरिकले पनि आफू कसरी सुरक्षित हुने भनेर ध्यान दिनुपर्यो। मास्क कसरी लगाउने, भरसक सम्भव भएसम्म भीडभाडजन्य गतिविधि नगर्ने, सेवा लिनुपर्दा पनि दूरी कायम गरेर बस्नुपर्ने हुन्छ।
गर्न सक्दा टोकन सिस्टम लागू गरिदिने हो भने हरेक कार्यालयले टोकन दिने त्यसपछि उसको पालो तोकिन्छ र पालोमा आउने सिस्टम भए राम्रो हुन्छ। विद्युत् प्राधिकरण, दूरसञ्चार, खानेपानीतिर यो सम्भव हुन्छ तर हाम्रो यो नागरिकता वितरणको कार्य छ, त्यसमा एउटा व्यक्ति पटक–पटक सम्पर्कमा हुनुपर्छ। सनाखत गराउनुपर्यो, कार्डमा ल्याप्चे गर्नुपर्यो, त्यसमा समस्या हुन्छ। मैले यहाँ पनि टोकन सिस्टम लागू पनि गरेँ। तर, व्यावहारिक रूपमा त्यति कार्यान्वयन गर्न सकिएन। त्यो भएको हुनाले भीडभाडजन्य गतिविधि रोक्नका निम्ति सेवाप्रदायक संस्थाले पनि ध्यान दिनुपर्यो र नागरिकहरुले पनि त्यत्तिकै ध्यान दिनुपर्यो। अब अनुगमनमा हामी निस्केका पनि छौँ, स्थायी संयन्त्र पनि मैले बनाइदिएको छु, हाम्रो सहायक सिडिओ साबहरूलाई आजदेखि नै दिनमा तीन पटक अनुगमन गर्ने भनेको छु। एकपटक बिहानपख, मध्याह्न र बेलुकाको गतिविधि अनुगमन र रिपोर्टिङ गरेर त्यहाँ जरिवाना गर्ने अधिकार पनि प्रत्यायोजन गरेको छु। हामीले गरिरहेका छौँ तर आमनागरिक र सबै क्षेत्रबाट सरोकारवाला संस्थाहरूको सहभागिता बिना यो सम्भव छैन। प्रहरीको गाडी जाँदा बन्द गर्ने, प्रहरी जाँदा रेस्टुरेन्टबाट उठेर हिँड्ने र फेरि प्रहरी गएपछि खोल्ने त्यो प्रवृत्तिले यो नियन्त्रण हुँदैन।
प्रहरीको संलग्नता कति क्षेत्रमा गराउने हेर्नुहोस् त अहिले खोप व्यवस्थापनमा प्रहरी, परीक्षाको सुरक्षामा प्रहरी, जुलुस व्यवस्थापन प्रहरी, हरेक ठाउँमा सीमित प्रहरी हुन्छ। काठमाडौँमा ३०–४० लाख जनसंख्या सबैको पछाडि प्रहरी लगाएर साध्य हुने पनि होइन। हामीले अनुगमन गर्नेभन्दा पनि व्यक्ति स्वयं नै सचेत हुनुपर्छ। यसो भयो भने कोरोना नियन्त्रण गर्न सकिन्छ।
काठमाडौँ उपत्यकामा राजनीतिक दलबाट भइरहेका अवरोध तथा नारा जुलुसलाई हस्तक्षेप गर्न किन सक्नुभएन?
– हामीले अहिले राजनीतिक दललाई पनि अनुरोध गरेका छौँ। यो बीचमा मैले एउटा स्टेटमेन्ट पनि निकालेँ। सभा–जुलुस नगर्नू भनेर। त्यसपछि अलि कम भएको छ। र, हामीले यो सबैको विषय हो, सबै जिम्मेवार हुनुपर्छ, अहिले जुलुस सभा गर्ने अवस्था होइन भनेर अनुरोध गर्यौँ। अनुमति कसैलाई दिएका छैनौँ। र, हस्तक्षेपको कुरा, एउटा माग राखेर जुलुस निकालेको छ त्यहाँ प्रहरीले लाठीचार्ज गर्ने कि नगर्ने ? शान्ति–सुरक्षा, अपराध नियन्त्रणको प्रश्न त होइन, एउटा स्वास्थ्य मापदण्ड पालना गर्न अपनाउने अभियान हो, उहाँहरूलाई हामीले भनेका छौँ, मानिराख्नुभएको पनि छ, कोरोना नियन्त्रण गर्न राजनीतिक दल, नागरिक समाज, आमजनता सबैको दायित्व हो, त्यो सबैले आ–आफ्नो भूमिका दायित्व बुझेर नियम पालना गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु। अब आउने दिनमा त्यस्ता गतिविधि नहोला भन्ने अपेक्षा गरेका छौँ।
कोरोना महामारी बढ्दै गयो भने त्यसविरुद्ध लड्न कस्तो तयारी छ?
– अब अहिले त प्रमुख अक्सिजन नै हो। अक्सिजन अहिले ब्यालेन्समा गइरहेको छ र कतिपय अस्पतालमा अहिले लिक्विड अक्सिजनको व्यवस्था गरेकाले त्यस्तो समस्या देखिँदैन, स्वास्थ्य सामग्री पनि स्वास्थ्य मन्त्रालयले व्यवस्थापन गरेकै छ। प्रमुख समस्या भनेको अहिले खोपको हो। खोपको माग आपूर्तिको बीचमा दूरी छ। धेरैलाई खोप लगाउनुपर्ने छ। खोपको मात्रा कम आइरहेको छ। त्यो भएको हुनाले भीडभाड हुने, सबै नागरिकले खोप पाउने, नपाउने सुनिश्चितता नहुने, त्यो कारणले नै भीड भएको हो। त्यसको लागि क्रमशः हामीले आपूर्ति बढाउँदै जानुपर्छ खोपको लागि र स्वास्थ्य सामग्रीको लागि पनि हामीले सम्बिन्धत निकायलाई भन्नुपर्छ।
यो स्वास्थ्य मन्त्रालयले नै गर्छ तैपनि भन्नुपर्छ। जस्तो अक्सिजन प्लान्टको लागि दिनदिनै जानकारी लिइरहेको छु, अवस्था के छ, तयारी अवस्थामा हुनुपर्यो भनेर। हरेक हिसाबले हामीले आफ्नो सम्बन्धित सरोकारवाला निकायलाई आफ्ना कुरा भन्ने राख्ने गरिरहेका छौँ। त्यस्तो भयावह आत्तिहाल्नुपर्ने अवस्था होइन तर अहिले हामीले लापरवाही गर्दै गयौँ, हेलचेक्र्याइँ गर्दै गयौँ भने बीचको दोस्रो कोरोनाको लहरले धेरै व्यक्तिको निधन भयो त्यो अवस्थामा नपुग्न हामी आफू पनि सचेत हुनुपर्यो।