
काठमाडौँ– पाल्पाको तानसेनमा वि.सं. २००८ साल पुसमा जन्मिएका श्याम कक्षपतिको ७० वर्षको उमेरमा यही साउन २५ गते क्यान्सरका कारण निधन भयो। उनी विगत पाँच वर्षदेखि क्यान्सरसँग लडिरहेका थिए।
‘चार महिनादेखि उपचारका लागि बैंकक हस्पिटलमा उपचारका लागि उहाँ भर्ना हुनुभएको थियो। सर्जरी थियो, लास्टमा निमोनिया भयो र डेथ भयो। उहाँको पाँच वर्षदेखि क्यान्सरको उपचार भइरहेको थियो,’ रेष्टुरेन्ट व्यवसायी श्याम कक्षपतिका कानुनी सल्लाहकार त्रिलोचन मिश्रले भने।
श्याम कक्षपति एक सफल व्यवसायी हुन्। उनलाई सबैले ‘रेष्टुरेन्ट कल्चर’ भित्र्याउने व्यक्तिका रुपमा चिन्छन्। उनले व्यापारको दुनियाँमा किराना पसलबाट पाइला टेकेको उनका साथीभाइ बताउँछन्। उनी आफ्ना बुबाको मृत्युपछि १९ वर्षकै उमेरदेखि व्यापारमा लागे।
किशोरावस्थामै व्यापारमा लागेका कक्षपतिको किराना पसल लोकप्रिय हुँदै थियो, विशेषगरी युवाहरु माझ। काठमाडौँको सबैभन्दा राम्रो ‘क्याण्डी’ पसल। विस्तारै उनको पसल फस्टाउँदै गयो। उनी यतिमा खुसी थिएनन्। उनलाई व्यवसाय अझै फराकिलो बनाउनु थियो।
त्यसैले उनले रत्नपार्कमा सन् १९७४ मा ‘क्याफे डे पार्क’ सञ्चालनमा ल्याए। सो क्याफे विशेषगरी पर्यटक र युवालाई लक्षित गरेर खोलेका थिए उनले। यो नै नेपालको पहिलो क्याफे हो। यति मात्र होइन, बर्गर, पिज्जा, स्यानवीच लगायतका पश्चिमा संस्कृतिका परिकारलाई नेपालमा पस्किन थाले।
मिश्रले भन्छन्, ‘त्यतिबेला नेपालमा पिज्जा, वर्गर लगायतका वेस्टर्न फुड नपाउने। रोटी तरकारी, समोसा लगायतका खानेकुरा पाउने। पाए पनि ठूला पाँच तारे होटलमा मात्रै। उहाँले बाहिर गएको बेला यस्तो नेपालमा पनि गर्नुपर्छ भनेर सुरु गर्नुभयो।’
कक्षपतिले रत्नपार्कमा ‘क्याफे डे पार्क’ करिब दुई वर्ष चलाए। यस क्याफेले धेरै मानिसहरुको ध्यान तान्यो। फलस्वरुप कक्षपति र उनका भाइ गोपालको संयुक्त प्रयासमा दरबारमार्गमा ‘नाङ्लो’को जन्म भयो सन् १९७६ मा।
नेपाली नामाकरण गरेको सो रेष्टुरेन्ट मानिसहरुको भेटघाटको थलो बन्यो। युवालाई लक्षित गरे पनि विस्तारै सबै उमेर समूहका लागि लोकप्रिय बन्यो ‘नाङ्लो’।
तर सन् २०१४ मा भाडाको म्याद सकिएको भन्दै दरबार मार्गको नाङ्लो बन्द गरियो। त्यसपछि कक्षपतिले सोही ठाँउमा ‘स्याम्स वान ट्री क्याफे’ खोले।
वर्तमान अवस्थामा देशभर नाङ्लो अन्तर्गत एक दर्जनभन्दा बढी रेष्टुरेन्टहरु रहेको मिश्रले बताए।
श्यामको उद्यम अभियान निरन्तर चलिरह्यो। उनले सन् १९९६ मा कुरिन्टारमा रिभर साइड स्प्रिंग रिसोर्ट खोले। उनका अनुसार कक्षपतिले बेकरी क्याफे पनि खोले र त्यसको आउटलेटहरु अहिले विभिन्न ठाँउमा छन्।
उनले व्यवसायमा मात्र ध्यान नदिइ रेष्टुरेन्टहरुको संरक्षणका लागि पनि निकै संर्घष गरेको रेष्टुरेन्ट एण्ड बार एशोसिएशनका पूर्व अध्यक्ष तेजेन्द्र नाथ श्रेष्ठ बताउँछन्।
‘श्याम दाइले रेबानलाई बनाउन निकै मेहनत गर्नुभयो,’ उनले भने, ‘१० वर्षको संर्घषले आज रेबान बनेको हो।’
श्रेष्ठ कक्षपतिसँग १८ वर्षको उमेरदेखि नै जोडिएका हुन्। कक्षपति रेबानका संस्थापक अध्यक्ष हुन्।
उनी होटल एशोसिएशन हानका अध्यक्ष पनि भए। नेपाल पाउरोटी उद्योग संघ भनेर पनि चलाए। जसका उनी संस्थापक अध्यक्ष समेत हुन् भने शुभतारा स्कुलका पनि उनी संस्थापक हुन्। जुन अहिले बन्द अवस्थामा छ।
यस्तै कक्षपतिले रेष्टुरेन्टलाई मात्र नभएर मोःमोलाई पनि चिनाए।
उनी व्यवसायमा मात्र सक्रिय नभएर समाजसेवामा पनि सक्रिय रहेको मिश्र बताउँछन्। २० वर्षअघि उनले आफ्नो रेष्टुरेन्टमा अशक्त व्यक्तिहरुलाई रोजगार दिएर नयाँ कुराको थालनी गरे।
‘उहाँले आफ्नो विजनेशमा बहिरा र होचा–पुड्कालाई पनि काम दिनुभयो। त्यतिबेला वेटरमा काम दिए पनि अहिले उहाँहरु क्याप्टेन लेबलमा पुगिसक्नुभयो। उहाँले नयाँ सुरुवात गर्नुभयो,’ उनले भने।
उनको सक्रियतामा सानेपामा स्वास्थ्य चौकी बनेको छ।
‘उहाँ मिलनसार, शान्त स्वभावको र सबैलाई समान व्यवहार गर्नुहुन्थ्यो,’ उनले भने, ‘मालिक हुँ भन्ने भावना थिएन। अहंकार थिएन। श्रमको सम्मान गर्नुहुन्थ्यो।’
उनी सबैका लागि प्रेरणाको स्रोत भएको मिश्र बताउँछन्।

नाङ्लो क्याफे।
तानसेनमा जन्मेका श्याम कक्षपतिले पर्यटन क्षेत्रमा ठूलो योगदान दिएका छन्। रेष्टुरेन्ट कल्चरलाई नेपालमा भित्र्याएर लाखौँले रोजगारी पाएका छन्। उनको देश विदेश घुम्ने बानीले रेष्टुरेन्ट व्यवसाय अहिले धेरै नेपालीको रोजगार बनेको छ।
कक्षपतिको पत्नी रानी कक्षपतिले प्रतिष्ठित स्कुल व्यवसायीका रुपमा लामो समय शुभतारा स्कुल सञ्चालन गरेकी थिइन्। कोभिडको प्रभावका कारण अहिले स्कुल बन्द छ।
उनका एक छोरा र छोरी छन्।