
काठमाडौँ– पर्यटन क्षेत्रसँग जोडिएको एउटा महत्वपूर्ण पाटो हो, ‘टुरिष्ट गाइड’। कोरोना महामारीबाट सबै क्षेत्र मारमा परिरहेका बेला टुरिष्ट गाइड पनि त्यसबाट अछुतो रहेनन्।
नेपालमा कोरोना भाइरसको संक्रमण (पहिलो लहर) देखिनेबित्तिकै सरकारले २०७६ चैत ११ गतेदेखि लकडाउन गर्यो। देश नै लकडाउनमा परेपछि विदेशी पर्यटक आउने कुरै भएन। र त्यो सम्भव पनि थिएन। कोरोना कहरबाट विश्व नै आक्रान्त थियो। जसका कारण घुमफिर बन्द भयो। घुमफिर गर्नेहरु नभएपछि घुमाउने मान्छेको पनि काम भएन। गाइडहरु बेरोजगार भए। आम्दानीको स्रोत बन्द भयो।
करिब दुई वर्ष हुन लाग्यो, पर्यटन क्षेत्र चलायमान नभएको। तर कोरोना अझै चलायमान नै छ। आफ्नो रुप (नयाँ भेरियन्ट) फेर्दै विश्वभर दौडिरहेको छ। तर पर्यटन क्षेत्रसँग जोडिएका गाइडहरु भने रोजगारीको विकल्प खोजिरहेका छन्। आम्दानीको अर्को विकल्प खोज्ने क्रममा टुरिष्ट गाइडका रुपमा करिब चार वर्ष काम गरेका अभिमन्यू खड्की यतिबेला शेयर बजारतिर लागेका छन्।
‘कोरोना महामारीले काम नै लग्यो। यतिकै बसेर पनि के गर्नु? आज सकिएला भन्यो, भोलि सकिएला भन्यो। कोरोना बढेको बढ्यै छ,’ खड्गी भन्छन्, ‘कहिले सकिन्छ र पर्यटक आउँछन् केही थाहा छैन। काम नभएपछि अर्को विकल्पका रुपमा उनले सेयर बजारलाई रोजेँ।’
उनले धेरै समय भएको छैन शेयर बजारलाई रोजेको। केही महिना भयो। उनी एक वर्षदेखि पर्खिरहेका थिए। अवस्था अझ गम्भीर हुँदै गएपछि आफूले अर्को बाटो रोज्नु परेको उनको भनाइ छ।
‘काठमाडौँमा घर भएकाले बाहलबाट घर खर्च चल्थ्यो। केही समय आर्थिक समस्या त भएन,’ उनले भने, ‘तर लामो समय काम नगरी बस्न पनि गाह्रो हुन्छ। केही त गर्नु पर्यो नि।’
उनले यही वर्ष बिहे पनि गरे। जिम्मेवारी थपियो। टुरिष्ट गाइडबाट राम्रो आम्दानी हुने उनी बताउँछन्। उनले भने, ‘काम चलेका बेला राम्रो आम्दानी हुन्थ्यो। तर बच्दैन थियो। राम्रो कमाइ भए पनि भविष्य अन्यौल नै छ।’
अर्थतन्त्रको ठूलो हिस्सा ओगटेको पर्यटन क्षेत्रमा काम गर्ने टुरिष्ट गाइडहरुलाई सरकारले नहेरेको उनको गुनासो छ।
अर्की टुरिष्ट गाइड अञ्जु थापालाई पनि कोरोनाले संकटमा पारेको छ। उनले पनि काम गुमाइन्। अहिले अञ्जु घरमै छिन्। ‘अहिले यत्तिकै घरको काममा व्यस्त छु। रोजगारी छैन,’ उनले भनिन्, ‘कोरोनाले अरुजस्तै काम नै गयो,’ सामाकोशीकी अञ्जुले अहिलेसम्म अर्को विकल्प रोजेकी छैनन्।
अञ्जुजस्तै गाइडका रुपमा काम गर्दै आएकी अञ्जल लिम्बु अहिले योगतिर लागेकी छन्। अञ्जल योगको तालिम लिन थालेको करिब तीन महिना भयो।
लामो समय पर्यटकहरु नआएपछि यत्तिकै बस्नुभन्दा नयाँ कुरा गर्दा आफूलाई थप फाइदा पुग्ने भएकाले योग सिक्नतिर लागेको अञ्जल बताउँछिन्।
पर्यटन क्षेत्रले ठूलो जनशक्तिलाई रोजगारी दिएको थियो। तर अहिले टुरिष्ट गाइडहरुसँगै धेरैले आफ्नो रोजगारी गुमाए भने व्यवसायीले व्यवसाय। कोरोनाका कारणले देशभरका करिब ४ हजार ५ सय जना गाइडहरु बेरोजगार बनेका छन्।
‘अहिले त्यस्तो काम सुरु गरेकै छैन। गेष्टहरु आउने सम्भावना पनि छैन। अहिले योगहरु मेडिटेशन गरिराखेको छु,’ अञ्जल भन्छिन्, ‘पछि यो चल्छ भनेर भनिराखेका छन्।’
आफूलाई ‘अपग्रेड’ गर्न विभिन्न ‘लोकल’ ठाँउहरु घुम्न थालेको उनी बताउँछिन्।
अञ्जलसँगै जमुना पनि योगको तालिममा व्यस्त छिन्। उनी पनि टुरिष्ट गाइड हुन्। कोरोनाको मारमा उनी पनि परिन्। त्यसैले दुबै साथीहरु मिलेर योग सिकिरहेको जमुनाले बताइन्।
तर जमुनाले भने पर्यटन व्यवसायलाई नै पर्खिरहेकी छन्। ‘मैले पनि अहिले केही गरेको छैन। पर्यटक आउँछन् भनेर पर्खेर बसेको छु,’ जमुना भन्छिन्, ‘माइण्ड फ्रेसका लागि योग सिकिरहेकी छु।’
पर्यटन क्षेत्र चलायमान हुने बित्तिकै जमुना यसै क्षेत्रमा फर्कने बताउँछिन्। जमुना प्रश्न गर्छिन्, ‘खै कहिले खुल्छ?’
अहिले उनको प्रश्नको जवाफ कसैसँग छैन। सबै अन्योलमा छन्। उनी पनि अन्यौलामा छिन् के गर्ने भनेर!
‘टुरिजम सुरु भयो भने फेरि रिटर्न हुन्छौँ। कहिले खुल्छ भन्ने नभएर अलमल भएको छु। कोरोना पनि बढिरहेको छ। के गर्ने के गर्ने भइरहेको छ क्या!,’ जमुनाले भनिन्, ‘आफैलाई डाउट भइरहेको छ। आफ्नो बिजनेश सुरु गरौँ भने पिकअप हुन पनि २/३ वर्ष लाग्छ। बिजनेश सुरु गरेर फेरि पर्यटकहरु आयो भने सबै छोडेर आउन पनि सकिँदैन। के गर्ने, के नगर्ने। त्यसैले योग क्लास गरिहेकी छु।’
उनले योग ‘क्लास’ लिन थालेको २/३ महिना भयो।
पर्यटन क्षेत्रले ठूलो जनशक्तिलाई रोजगारी दिएको थियो। तर अहिले टुरिष्ट गाइडहरुसँगै धेरैले आफ्नो रोजगारी गुमाए भने व्यवसायीले व्यवसाय। कोरोनाका कारणले देशभरका करिब ४ हजार ५ सय जना गाइडहरु बेरोजगार बनेका छन्।
नेपाल पर्यटन बोर्डका अनुसार पर्यटन क्षेत्रमा १० लाख जनशक्ति निर्भर रहेको आँकडा छ। हालको अवस्थामा ७ लाख बेरोजगार छन् भने ३ लाख जनशक्तिले काम पाएको बोर्डको तथ्यांकमा उल्लेख छ। प्रत्यक्ष रुपमा कोरोनाका कारणले ८० प्रतिशत बेरोजगार रहेको बोर्डले जनाएको छ।
महामारीमा यो क्षेत्र ठप्प हुँदा मासिक १० अर्ब रुपैयाँ बराबारको क्षति हुने नेपाल पर्यटन बोर्डको आँकलन छ।