नेपाली लाेक नृत्यका संस्थापक

ब्रिटिस आर्मीकाे जागिर त्यागेर नाच्न हिँडेका भैरव बहादुर थापा

+
-

चाँदीजस्तै सेतो कपाल सपक्क पारेर दुई भागमा छुट्टाइएको छ। कपालका केस्रालाई काइँयोका दाँतीले सम्माएका छन् । लगाएको लुगा पनि लाग्छ कपालसँग ‘कलर कोडिङ’ गरिएको हो।

नृत्यगुरु भैरवबहादुर थापासँग कुनै एक शुक्रबार भेट्दा लाग्थ्यो, उनी कुनै नृत्य प्रस्तुतिको तयारी गरिरहेका छन्।

तर क्षणभरमा उनले अनुमान गलत सावित गरिदिए। लगाएको सेतो कुर्ता त उनको शुक्रबार लगाउने रंग रहेछ। ‘म बारपिच्छे फरक रंगका कपडा लगाउँछु,’ थापाले प्रष्ट पार्दै भने, ‘शनिबार कालो, आइतबार रातो, सोमबार सेतो, मंगलबार कलेजी, बुधबार हरियो, अनि बिहीबार पिताम्बर।’ कपडाजस्तै उनको खानाको रुटिन पनि रहेछ, बार अनुसारका। जस्तो कपडा, उस्तै रंगका दाल। बुहारीलाई पहिला नै बारअनुसार खाना बनाउन लिस्ट दिइसकेका रहेछन्।

आफूलाई सजाउनु उनको सोख हो। गोलो अनुहार, हँसिलो मिजास अनि आकर्षक ‘वाक् शैली’ उनको विशेषता हो। त्यो भन्दा धेरै नेपाली लोक नृत्यलाई संस्थागत गरेर विधाको रुपमा विकसित गर्न उनले ठूलो योगदान दिएका छन्। त्यसको केही प्रमाण उनको घरका भित्ताहरुमा टाँगिएको छ।

राजा त्रिभुवनदेखि महेन्द्र अनि वीरेन्द्र, राजकुमार दीपेन्द्रसँग सामूहिक फोटो, चिनका कुनमिङ लगायतका विश्वका विभिन्न शहरहरुको भ्रमण र धेरै संघसंस्थाबाट प्राप्त सम्मान पत्र । यी संग्रहले उनको कर्मलाई छर्लङ्ग पार्छन्। बाँकी उत्सुकता उनी आफै हौसिएर खुलस्त पार्छन्।

९० पुग्नै आँटेको शरीरलाई उनले फूर्तिलो बनाएका छन्, आँखाले दृष्टि कम दिँदा पनि लेखाइपढाइ छुटेको छैन। आफूले जानेको कुरा लेख्न र आफूलाई चाहिने कुरा पढ्न जाँगर कहिले मर्दैन।

त्यस दिन,

भर्‍याङ उक्लेर दोस्रो तला छिर्दा उनी ऐनामा कपाल मिलाइरहेका थिए। टी–टेबलमाथि ‘ए फोर’ साइजको कागज च्यापेको क्लिपबोर्ड थियो। बिर्को खोलिएको डटपेन बोर्डमाथि थियो। अनि साथमा प्रयोग गरिएको मास्क। बोर्डका छेउमा दुईवटा आइग्लास थिए, एउटा सानो र अर्को ठूलो। ‘आँखाले भेउ पाउँदैन, त्यसैले आइग्लास लगाएर हेर्छु’, उनले भने।

भलै त्यो चिया राख्ने टेबुल हो तर थापा त्यो टेबलमा निहुरेर लेख्छन्। कुर्सीमा बसेर खुट्टा झोल्याउँदा सुन्निन्छ भनेर काठको पिर्कामा टेक्छन्।
पन्नामा केही अक्षर देखिन्छ,

‘म अहिले शब्दकोष बनाउँदैछु।’ थापाले भने, ‘नाचसम्बन्धी पुस्तक बल्ल सार्वजनिक भएको छ, त्यसमा भएका शब्दावलीलाई बुझाउने शब्दकोष बनाउनै पर्ने छ।’

६५ वर्षमा तयार भएको नृत्याक्षर विज्ञान (डान्स नोटेशन पुस्तक)

यो नाचको प्राविधिक पाटोलाई लिएर लेखिएको पुस्तक हो। थापाका अनुसार उनले यो पुस्तक ६५ वर्ष लगाएर लेखेका हुन्। ‘भावभङ्गिमालाई नयाँ भाषा व्यक्त गरे। नाचको भाषा सुरु भयो’, थापाले भने, ‘नृत्य सजिलो छैन। सजिलो छैन, हुन त यो अभिनयको एक अंग हो। अभिनयलाई जुनसुकै भाषाबाट पनि प्रस्तुत गर्न सकिन्छ तर नृत्यलाई व्याख्या गर्ने भाषा छैन।’

उनले हरेक चाललाई वैज्ञानिक व्याख्या गर्न थोरै वर्षले नपुग्ने बताए। यो पुस्तक उनको तपस्या हो। जसलाई उनले धैर्यताका साथ सम्पन्न गरे।

‘एक अमेरिकी नागरिकको नाममा विश्वभर एउटा डान्स फर्म प्रख्यात छ, ‘बेनिस डान्स नोटेशन।’ उनलाई नोटेशन तयार २५ वर्ष लागेको बताइन्छ, लाबान डान्स नोटेशन तयार पार्नको लागि पनि २५ वर्ष लागेको थियो। उनले भने, ‘म त विश्वभरका विभिन्न विधाका नृत्यको नोटेशन तयार पारिरहेको छु, मलाई यति समय त लागिहाल्छ नि!’

उनलाई नाचको नोटेशनलाई लिपिवद्ध गर्नुपर्छ भन्ने ख्याल भएकै थिएन । जहाँ जान्थे, नाचेर सबैको मन जित्दै हिँड्थे। रसिला मिजासका उनलाई यो पक्षको बारेमा ख्याल थिएन।

वि.सं २०१३ सालमा राजा मन्हेन्द्र वीर विक्रम शाहदेवको तर्फबाट चीन जाने अवसर मिल्यो। त्यो बेलामा उनी मौलिक नाचको जगमा रहेर भावनृत्य प्रस्तुत गर्थे । कुनै कथालाई लिएर उनी ‘थेमेटिक डान्स’ गर्थे। उक्त कार्यक्रममा चीनका प्रख्यात नेता ‘माओ त्सेतुङ’ ले उनलाई माओ कलम दिए।

अचम्म! नाच्ने मान्छेलाई लेख्ने कलम । त्यो पनि साहित्यकारको जमात पनि साथै रहेकोमा माओले किन थापालाई पेन दिए?

थापाले यसको अर्थ लगाए, ‘शायद माओले बुझे, उनले मलाई पेन दिए भने क्रान्तिकारी नाचहरुलाई उतार्न सक्छ। मलाई प्रेरणा दिन होला भनेर धेरैले तर्क लगाए।’

‘मलाई त्यो बेलाका चिनियाँ प्रधानमन्त्रीले ३ साताका लागि गएको मान्छेलाई २ साता थपेर चीनका विभिन्न ठाउँमा नृत्य देखाउन जाने व्यवस्था मिलाइदिनुभयो। उहाँहरुले नेपाल नृत्यमा धेरै अगाडि बढेको प्रतिक्रिया दिनुभएको थियो,’ थापा हौसिए, ‘कुन्मिङ भन्ने ठाउँमा पुगेपछि मलाई एउटा कुरा खड्कियो । हामी डेलिगेशनमा गएका मान्छेलाई धेरै समय नहुने। त्यहाँका केही नाचहरु असाध्यै नै सिक्न मन लागेको थियो । त्यहाँ हाम्रो नेपाली नाच सिक्न चाहन्थे। भाषाले साथ दिएन तर यदि नोटेशन भएको भए सजिलो हुन्थ्यो।’

राम्रा नाच छुट्दै गयो। कुन्मिङमा उनले त्यहाँका नाच गुरुसँग नाचको केही डिस्क्रिप्सन मागे, नोटेशन भए लिएर नेपाल आउने इच्छा भएको सुनाए। तर गुरुले त्यो सम्भव नभएको र सिक्न मन लागेको भए त्यही बस्नुपर्ने बताए।

‘त्यही बेला मेरो दिमागमा ‘नोटेशन’ सुरु गर्ने आइडिया आयो। अरुले माओ त्सेतुङबाट बन्दुकसम्म चलाउने प्रेरणा पाउँछन्, म कलम किन नचलाउने ?’ उनले भने, ‘मलाई त औडाहा छुट्यो अनि जिउमा सिस्नोले पोलेको जस्तै भयो।’

त्यसपछि उनले त्यही उपहारमा आएको पेनबाट लेख्न सुरु गरेर ६५ वर्षमा उक्त सोचले पूर्णता पाएको छ। उनको पुस्तक ‘नृत्याक्षर विज्ञान’ मदन पुरस्कार विजेता पुस्तकको छनौट सूचीमा परेको छ।

पहिलोपल्ट नाचेको सम्झना

थापा जसरी नेपाली मौलिक नृत्यका साधक बनेका छन् र जीवन पूरै नृत्यलाई समर्पण गरेका छन् यो उनको बाल्यकालदेखिको कला थिएन। उनले बताएअनुसार जब उनी १६ वर्षे ठिटो भए तबमात्र उनलाई आफूमा नाच्ने र गाउने सीप अनि त्यसको रस रहेको थाहा भयो।

थापा त्यही दिनमा पुगे, ‘बनारसमा म ठूलो दाइसँग बस्थे। उहाँ तबला बजाउने उस्तादमा गनिनुहुन्थ्यो। पहलवानी पनि गर्ने भएर उहाँ यता उता जानुहुन्थ्यो। म त्यतिबेला कक्षा १० मा पढ्थे। मीनपचासको बिदा चलेको थियो। पहलमानहरुको अखडा भएको गोरखपुरमा दाइले घुमाउन लैजानुभयो।’

युवा अवस्थामा भैरवबहादुर थापा।

उनीहरु गोरखपुर रेलवे स्टेशनमा पुगे। त्यहाँ गोर्खाली हवल्दार भेटिए। उनको नाम हरिकान्त राई। उनी ‘क्लर्क’ थिए। उनि आर्मीमा भर्ना हुने मान्छे खोजिरहेका रहेछन्। नेपाली भाषामा कुराकानी भयो। कुरैकुरामा पढाइको कुरा भयो अनि ‘हामीले खोजेको मान्छे नै यही हो’ भनेर थापालाई क्लर्क बनाउने प्रस्ताव राईले गरे।

‘सुरुमा दाजुले मान्नु भएन, उहाँले मलाई लडाईँ गर्न नभई अफिस भित्रको कामको लागि लैजान लागेको भनेपछि दाइ मान्नुभयो । पढाई बिग्रन्छ भन्ने कुरा पनि भएको थियो तर उहाँले पहिला कमाउने अनि पछि पढ्न मिल्छ भन्नुभयो।’

थापा त्यतिबेला १७ वर्ष टेक्नै आँटेका थिए, आर्मीमा भर्ती हुन उमेर १८ अनिवार्य हुनुपर्ने नियम भए पनि राईले उमेर मिलाइदिने भए। थापालाई बनारस ठेगाना नभई नेपाल भन्न पनि सिकाए।

आर्मीमा भर्ना भएपछि कर्मथलो जान जहाज चढ्नुपर्थ्यो। थापा उनै राईको पछि लागेर गएका थिए। कलकत्तामा जहाज चढ्न १० दिन कुर्नुपर्ने भएकोले राईको दाजुको घर थापा पनि पुगे।

उनका भतिजीहरु रमाइला थिए, जहाजको लागि जानुपर्ने भनिएको रात उनीहरुले राई र थापालाई रोके, उनीहरुले नेपाली भएको कारणले पनि धेरै जिद्दी गरे। त्यसपछि त्यहाँ सांगीतिक माहोल जम्यो । बंगाली समाजमा हुर्केका उनीहरु सांगीतिक ज्ञान थियो। राईले पञ्जाबी गीत गाए, थापाले थपे। थापाले गीत गाएपछि भतिजीहरु नाच्न थाले थापा झन् हौसिए।

उमेरको जोश हो या संगीतको रस तर त्यहाँ माहोल जमिहाल्यो। थापा विद्यालयमा राम्रो डम्फु बजाउँथे। त्यहाँ उनको लागि डम्फुको पनि व्यवस्था भयो। थापा बजाउँदै, गाउँदै, नाच्दै गरे। यसपछि भने अब उनीहरुबीचको फरकपन संगीतले मेटाइदियो। रातभर नाचे, झिसमिसेमा हिँडे।

त्यो पहिलोपल्ट थियो थापाले नाचेका । एकछिनको रमाइलोमा आफूले के गरे भन्ने थापाले भेउ गरेनन्। तर त्यो नै उनको नृत्य यात्राको पहिलो कदम थियो। थापालाई अहिले ती भतिजीहरुलाई प्रेरणा दिएकोमा धन्यवाद दिन मन लाग्छ।

कलकत्ताबाट उनको यात्रा सुरु भयो सिंगापुरसम्म । दुई दिन पानी जहाजमा नयाँ मान्छेसँग चिनजान भयो, ब्याडमिन्टन लगायतका खेल भए तर त्यसपट्टि जहाजमा थापाको मन लागेन।

‘जता हेरे पनि पानी, मलाई त जीवन खत्तम हुने भयो जस्तो लाग्यो। मलाई निसास्सिनु भन्दा त्यहाँ भएको ट्यामोरियन बजाएर रमाइलो गर्न मन लाग्यो,’ थापाले भने, ‘मैले गीत गाएर रमाइलो गर्न थालेपछि सबै छोडेर मेरै वरपर झुम्न थाले। अनि भोलिपल्टबाट केही समय नाच्ने समय छुट्याइयो।’

विभिन्न देशबाट भेला भएका जमातमा एकले अर्काको नाच सिक्दा सिक्दै तीन साताको यात्रा टुङ्गियो। छुट्टिने बेलासम्म उनले नाम कमाइसकेका थिए। नाच उनको शरीरमा, मन मष्तिस्कमा बसिसकेछ। त्यसैले २००७ सालमा जब उनले आर्मीको जागिर सुरु गरे, तालिमको समयमा राइफल समाउँदा चञ्चले भएकोले नाइकेको गाली पनि खाएका छन्।

लाहुरेकाे जागिर छोडेर ‘भैरव नृत्य दल’

सानै उमेरमा लाहुरेको जागिर खाएर देश विदेश घुमिरहेका उनले चटक्कै सबै बिर्सेर नृत्यमा जीवन किन सुम्पे र त्यसपछि उनको जीवनले कस्ता घुम्ती पार गर्‍यो, चाखलाग्दो कथा छ।

जसरी उनले उमेर नपुग्दै ब्रिटिस आर्मीको जागिर खाए, आर्मीमा पनि सेवा अवधि नपुगी जागिर छोडे। जागिर खाएको ३ वर्षमा छुट्टी मनाउन उनी जन्मस्थान कमलपोखरी आएका थिए। ६ महिने छुट्टीमा आएका भैरव त्यसपछि फर्केर गएनन्।

‘२०१० साल फागुन १० गते नाट्य सम्राटले मेरो नामको ‘भैरव नृत्य दल’ नामाकरण गर्नुभयो,’ थापा भन्छन्, ‘२०११ सालको जेठ २० गते बालकृष्ण समकै हातबाट मेरै निवासमा उद्घाटन भयो।’

दल सजिलैसँग जन्मियो तर यो अगाडिको वातावरण असामान्य थियो। २०१० साल असोज ३ गते नेपालको किसान संघको सम्मलेन भएको थियो। कमरेड पुष्पलाल श्रेष्ठको नेतृत्वमा भएको सम्मेलनमा भैरवले नृत्य देखाएका थिए। उनलाई त्यो बेलामा दरबार हाइस्कूल, जुद्ध पब्लिक स्कूल, नन्द स्कूलका विद्यार्थीहरुले सिक्न इच्छा गरे ।

‘यो समयमा नाच्ने खुल्ला वातावरण थिएन। त्यसैले सिकाउनको लागि ठाउँ सजिलै पाइँदैन थियो। जसले नाच्यो त्यसलाई गाईजात्रे भनेर थानकोटको डाँडा कटाइदिन्थे। मैले विद्यार्थीलाई विद्यालयको शिक्षकसँग कुरा गरेर बोलाउन लगाऊ भनेर पठाए,’ थापाले भने, ‘विद्यालयले पनि हुँदैन भने, गाईजात्रे काम भने। त्यसपछि स्काउटमा तालिमको दौरान विद्यार्थीलाई नाच्न सिकाउने व्यवस्था मिलाइयो।’

थापाले चौरमा स्काउटको तालिमको नाममा नाच्न सिकाए। त्यो बेलामा उनले बालबालिकालाई कपडा कोडिङ गरिदिए। सबैलाई एकनाश बनाएर उनले सिकाए।’

साँझ ५ बजेपछि उक्त चौरमा भीड लाग्न थाल्यो, त्यसबेला गाईजात्रे भनिने नाचलाई मानिसले स्काउटको नाममा स्विकारे । पछि पछि पनि स्काउटमा साँस्कृतिक कार्यक्रम गर्ने चलन नै बस्न थाल्यो। यसरी उनी साँस्कृतिक कार्यक्रमका सर्जक बनेर उदाए, उनले जहाँ काम गरे त्यहाँ राम्रो छवि छोडे। नेपालको लोकनृत्यलाई प्रबर्द्धन गर्दै लगे।

भैरवको ६ महिने बिदा सकिनै लाग्यो। उनले नाच सिकाएका विद्यार्थी थापालाई सिंगापुर पठाउन चाहँदैन थिए। त्यसैले उनलाई रोक्न नाट्य सम्राट बालकृष्ण सम आइपुगे। उनी नाम कमाइसकेका थिए, उनीहरुले दरबारमा बिन्ती चढाएपछि चल्थ्यो।

समले भैरवलाई नै अध्यक्ष बनाएर ‘भैरव नृत्य दल’ खोलिदिए। यो दल खोलेपछि भैरव सिंगापुर फर्केनन्।

सरकारको आँखामा परेनन् भैरव

६ महिनाको बिदामा आएका उनी नफर्केपछि भगौडाको सूचीमा परे। अब उनी फर्केर गए सजाय भोग्नुपर्थ्यो । अब उनी नेपालमा के गर्ने भनेर मेसो पाएका थिएनन्, बालकृष्ण समले सिंहदरबारमा आयोजित कार्यक्रममा थापाको नृत्य प्रस्तुति राखे। त्यहाँ राजा त्रिभुवन र युवराज महेन्द्रको पनि सहभागिता थियो।

‘नेपाली नाच कस्तो हुँदो रहेछ’ भनेर दरबारमा मलाई बोलाइयो ।’ उनले भने, ‘त्यसपछि देश विदेशमा घुम्न जाने अवसर पनि पाए।’ उनी मान्छे रिझाउन खप्पिस थिए। उनको सीपले पनि होला, कामको दुख भएन तर दामले भने समस्या पारे। तर उनका दुई दाइले जे गरे पनि सहयोग गरे, विश्वास गरे उनीमाथि । बाबु पदमबहादुर थापा र आमा ताम्बुला योञ्जन थापाको कान्छोछोरा हुनुको फाइदा भयो। दाजूहरुले सबै जिम्मेवारी खेलिदिए।

त्यतिबेला लोक सेवा आयोगबाट निकालिएको जागिर पाए। राष्ट्रिय नाचघरमा उनले नृत्य निर्देशक भएर सेवा दिन सुरु गरे। धेरै कार्यक्रमहरु ल्याए, नाम र दाम दुवै पाए। त्यसपछि उनको विवाह २०१८ सालमा भयो।

उनी अहिले पनि नेपालको मौलिक नृत्य जोगाउन नोटेशन लेखेर बसिरहेका छन्, तर सरकारको तर्फबाट उनलाई केही प्रोत्साहन छैन। आफैले निर्देशक भएर कयौँ वर्ष सेवा गरेको राष्ट्रिय नाचघरसँग उनको सम्बन्ध छैन।

उनको अनुभव र सीपलाई आर्काइभ गरेर राख्न सरकारले चासो दिएको छैन। कोही बितेका दिग्गज कलाकारको नाममा सरकारले केही गरेको उनले देखे भने भन्छन्, ‘जिउँदो छँदा नखोजेको सरकारले मरेपछि सम्मान गरेर के काम ?’

उनले २० औँ शताब्दीमा जन्माएका धेरै चेलाहरु छन्। राजपरिवारका पूर्व रानीहरु ऐश्वर्या, कोमल र उनकी बहिनी प्रेक्षा उनका शिष्य थिए। ‘म त पुरानो मान्छे, अहिलेका नेताले त मलाई चिन्दा पनि चिन्दैनन्,’ थापा भन्छन्, ‘नेपालको संस्कृतिको इतिहास मेटिएर जाला भन्नेमा मलाई चिन्ता छ। कुनै सरकारले यसको बारेमा बोलेको छैन।’

लोकनृत्य हराउने चिन्ता

थापाको सक्रिय समयमा साँस्कृतिक नृत्यको संस्कार बसाउनु र संरचना निर्माण महत्वपूर्ण थियो। थापाले छोडेर गएपछि संरचना निर्माण भए पनि नृत्यको संरक्षण भएको छैन। संस्कृति मन्त्रालयले यसमा काम गर्न नसकेको उनको दाबी छ।

‘नेपाल सरकारले वास्ता गरेको छैन। भन्सारबाट खटिएर आएको सचिवले संस्कृति के बुझ्ने ? कोही अर्थ मन्त्रालयबाट गएका हुन्छन्, मादलको आवाज सानो हुन्छ, हवाईजहाजको ठूलो । उतै लाग्छन्। हवाईजहाजको पाङ्ग्रामा धेरै पैसा आउँछ,’ उनी प्रतिक्रिया पनि सोध्छन्, ‘कस्तो लाग्यो तपाईँलाई ? सँस्कृति जोगाउने हो भने सँस्कृति मन्त्रालयमा दुई सचिव चाहिन्छ, एक सँस्कृति सम्वद्र्धनको लागि अर्को प्रशासनिक कामको लागि।’

कोरोना अगाडि उनलाई बोलाइने कार्यक्रममा उनी नृत्य हेर्न जान्थे। उनले सिकाएको शैली अहिलेसम्म मरेको छैन। तर पछिल्लो केही वर्ष यता विदेशी नृत्यहरु क्रमश: हावी हुन थालेको छ। विदेशी ‘जेस्चर’ नेपाली नाचमा मिसिन थालेकोले अहिले भविष्यमा नेपाली लोकनृत्यमा संकट आउने उनले देखेका छन्।

‘नेपालमा कुनै सँस्कृतिको बारेमा जानकार प्रशासक आयो भने सबै नियम कानुन फेरबदल हुन्छ। नत्र अहिलेसम्मको मेहनत झ्वाम,’ उनी भन्छन्, ‘त्यसैले नृत्यको बारेमा ज्ञान भएका व्यक्तिले राजनीतिक रुपमा नेपालको लोकनृत्यलाई सँस्थापन गर्नुपर्छ।’

‘हुन त पछिल्लो समय नृत्य भिडियो, स्कूलमा मात्र हैन, धेरै टेलिभिजन कार्यक्रममा पनि आउन थालेका छन्। तर यस्ता रियालिटी शो र नाचलाई संवर्द्धन नगर्ने थापाको तर्क छ,’ उनी भन्छन्, ‘उनीहरुमा ज्ञान नै छैन। नृत्य विश्वमा नै अपहेलित विधा हो। आजसम्म पनि यसलाई सम्मानको रुपमा हेरिन्न। जब सरकारले वास्ता गर्दैन तब यसलाई सँस्थागत गर्न गाह्रो हुन्छ।’

उनको उमेरले ९० छुन आँटेको छ, उनी आफ्नो जीवनकालमै नृत्य पाठशाला हुने कलेज खुलेको हेर्न चाहन्छन्।

उनी स्नातक र स्नातकोत्तरमा पनि विद्यार्थी नाचको बारेमा पढ्न आउन भन्ने चाहन्छन् ताकि यही जनशक्ति पछि नेतृत्व तहमा पुगोस् र नेपालको लोक नृत्यलाई संरक्षण गरोस, पुस्ता हस्तानतरण होस्।

‘६५ वर्ष लगाएर यस्सै पुस्तक लेखेको होइन नि ! मेरो पुस्तक लाइब्रेरीमा थन्किएको म हेर्न सक्दिन। हामी आफूमात्र भएन, हामीले अर्को पुस्ता जन्माउनुपर्छ,’ उनी भन्छन्, ‘अर्को पुस्ता जन्माउनु भनेको राष्ट्र बचाउनको लागि हो। संस्कार हाम्रो आयु हो।’

उनी संगीत नाट्य एकेडेमीले पनि सक्रियता देखाओस् भन्छन्, उनको पालमा व्यवस्था गरिएका क्रियाकलापलाई परिमार्जित गरेर अगाडि लैजाओस भन्ने उनले ठानेका छन्।

‘प्रतिभाशाली कुलपतिले आफ्नो सँस्कृति जगेर्ना गर्न आफ्नो शैली अपनाउँछ। प्रेरक खालको कार्यक्रम गर्नुपर्छ। सम्मेलन गरेर केही हुँदैन,’ उनी भन्छन्, ‘नयाँ आइडिया गराउनुपर्छ, लिपी गर्नुपर्छ, व्याकरण गराउनुपर्छ।’

उनका आँखाले देखेका सपना ठूला छन्, शरीरले साथ दिँदासम्म सपनातर्फका खुड्किला उनी उक्लन छाड्ने छैनन्। जीउले बेला बेला मर्मत सम्भार पनि खोज्छ ।

उनको देब्रे आँखाले साथ छोडेको धेरै वर्ष भईसक्यो, दाहिने आँखाको ज्योति जोगाउन डेढ महिनामा इन्जेक्सन हाल्ने गरेका थिए। कोभिड महामारी सुरु भएको ४ महिनामा जचाउँदा इन्जेक्सन महिनापिच्छे नै हाल्नुपर्यो। तिलगंगा आँखा अस्पतालकी डा. एलिना प्रधानले उनको आँखा हेरिरहेकी छन्।

उनी चिनाटिपन पनि बनाउँछन्। तर फुर्सद कहाँबाट पाउनु? ‘मलाई फुर्सद छैन, लेख्ने टाइम छैन, नृत्याक्षर विज्ञान तयार पार्नपट्टि लाग्नु कि ज्योतिषी लेख्नु ! मलाई अनेक झमेला आइराखेको छ, नृत्याक्षर विज्ञान सार्वजनिक भएपछि डिक्सनरी बनाउन परेको छ। प्रेसमा जानुपर्छ। कम्यूटर टाइप गराउन जानुपर्‍यो। २० हजार मासिक तलब दिएर टाइपिस्ट राखेको छु, खर्च भिन्दै छ,’ एकै सासमा उनले बोलेर भ्याए।

घरको टाइपिस्टले नभ्याएर पुतलीसडक र कालोपुलमा काम दिएका छन्। ६५ वर्षका मेहनत अंग्रेजी र हिन्दीमा पनि निकाल्नु छ।

नित्य कर्म, स्वास्थ्यको ख्याल अनि केही भेटघाटको कार्यक्रम पछि उनी फेरि समातिहाल्छन्, मोटा चश्मा । ठूला ठूला अक्षरलाई पन्नामा उतार्छन्।

पन्नामा कोरिएका ती अक्षर कसरी किताबमा छापिन्छन् र कसरी नृत्य क्याम्पसका विद्यार्थीको हातमा पुग्छन् भनेर कल्पना गर्न थाल्छन्। अनि फेरि त्यही सपनामा पुग्छन्, जहाँ उनका विद्यार्थीले नेपालको मौलिक नृत्य संरक्षणको लागि नेतृत्व तहमा बसेर काम गरिरहेका छन्।

उनी आफ्नो सपना सम्झेर हौसिन्छन्, उनलाई थाहा छ ।

‘सपना देख्न कहिले पनि ढिला हुँदैन।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?