
काठमाडौँ – वातावरणीय अध्ययनको क्षेत्रमा सक्रिय रहेका उत्तमबाबु श्रेष्ठले नेशनल जिओग्राफिक एक्स्प्लोरर अवार्ड पाएका छन् ।
‘कोभिड–१९ र संरक्षणः नेपालको संरक्षण कार्यक्रममा कोभिड–१९ को प्रभाव’ विषयमा केन्द्रित भएर गरिने अध्ययनका लागि अध्येता श्रेष्ठले अवार्ड पाएका हुन् ।
अमेरिकी संस्था नेशनल जिओग्राफिक सोसाइटीबाट अनुसन्धान वृत्ति स्वरुप उनले ४६ हजार अमेरिकी डलर (हालको विनिमयदर अनुसार ५४ लाख ६५ हजार भन्दा बढी नेपाली रुपैयाँ) पाएका छन् । उनी यो वर्ष अवार्ड पाउने विभिन्न देशका १० जना मध्ये एक हुन् ।
ग्लोबल इन्स्टिच्युट फर इन्टरडिस्प्लिनरी स्टडिजका निर्देशक समेत रहेका श्रेष्ठले यसअघि पनि दुईपटक सो अवार्ड पाएका थिए ।
उनले सन् २०१९ मा ड्रोनको माध्यमबाट हिमाली खर्कहरुको अध्ययनका लागि ७३ हजार अमेरिकी डलर बराबरको अवार्ड पाएका थिए । यस्तै सन् २०१२ मा उनले ‘माउन्टेन, मसरुम एण्ड पिपुलः चेसिङ्ग इन्टरकनेक्सन’ विषयको अध्ययनका लागि नेशनल जिओग्राफिक एक्सप्लोरर अवार्ड पाएका थिए ।
यसपटक पाएको अवार्ड अन्तर्गत श्रेष्ठले एक वर्ष भित्र (सन् २०२२ को अगस्ट) सम्ममा कोरोना भाइरसको महामारीले नेपालको संरक्षण प्रयासमा परेको प्रभाव सम्बन्धमा अध्ययन गर्ने छन् ।
अध्येता श्रेष्ठ वातावरणीय अनुसन्धानसँगै पछिल्लो समय स्वतन्त्र रुपमा सञ्चालन हुने नेपाल विश्वविद्यालयको स्थापना प्रयासमा पनि संलग्न छ ।
वातावरण विज्ञानमा विद्यावारिधि उपाधि प्राप्त उनी नेपाल विश्वविद्यालय पूर्वाधार विकास तयारी समितिमा पनि छन् ।