
बुटवल– नेकपा एमालेले प्रतिपक्षी दललाई वेवास्ता गरेर लुम्बिनी प्रदेश सभाको बैठक सञ्चालन गरेर सभामुखले निर्लज्जता प्रस्तुत गरेको आरोप लगाएको छ। सोमबार मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिएपछि एमालेले सभामुखले पदको गरिमा र पदीय मर्यादा नांगिएको प्रतिक्रिया दिएको हो।
केसीले विश्वासको मत लिँदा प्रदेश सभा बहिस्कार गरेको एमालेले मंगलबार विज्ञप्ति जारी गर्दै सोमबारको प्रदेश सभामा नाटक मञ्चन भएको बताएको छ।
‘प्रदेश सभा बैठक बहिस्कार गरिरहेको प्रमुख प्रतिपक्ष दलसँग सल्लाह नगरी प्रदेश सभा बैठक चलाउनुले सभामुखको पदीय मर्यादा र गरिमा नांगिएको छ,’ प्रमुख सचेतक भूमिश्वर ढकालले विज्ञप्तिमा भनेका छन्, ‘प्रतिपक्षले बहिस्कार गरेर खाली भएको प्रदेश सभामा सत्तापक्ष मात्र सहभागी भएर विश्वासको मत लिने नाटक मञ्चन भएको छ।’
सोमबारको गतिविधिले केसी नेतृत्वको सरकार असंसदीय र लोकतन्त्र विरोधी भएको पुष्टि भएको एमालेको तर्क छ। विज्ञप्तिमा ढकालले नियमावली उल्लंघन गरेर विश्वासको मत लिएको उल्लेख गरेका छन्।
‘विश्वासको मत लिनुभन्दा २४ घण्टा पहिले सबै प्रदेश सभा सदस्यलाई जानकारी गराउनुपर्नेमा सदस्यहरुलाई थाह नै नदिइ, नियमावली उल्लंघन गरी प्रमुख प्रतिपक्षको मागलाई वेवास्ता गर्दै एक्लै दौडेर पहिलो हुने सोँच अनुसार भएका क्रियाकलाप हाम्रो दललाई कदापी स्विकार्य हुन सक्दैन,’ उनले भने।
आफूहरुले उठाएको माग पूरा नभएसम्म प्रदेश सभाको बैठक अवरुद्ध गर्ने आन्दोलन निरन्तर रहने एमालेले बताएको छ। एमालेले सूर्य चिन्हबाट चुनाव जितेका नवलपरासीका अजय शाही र दाङकी विमलाकुमारी खत्री वलीलाई कारवाही गरेको छ। प्रदेश सभाबाट कारबाहीको सूचना दिनुपर्ने माग गर्दै नवौं अधिवेशन सुरु भएदेखि बैठक अवरुद्ध गर्दै आएको छ।