
कोरोना भाइरसको उत्पति र उद्गम स्थलबारे अध्ययन गर्न अमेरिकी राष्ट्रपति जो बाइडेनले दिएको निर्देशन अनुसार गुप्तचर निकायले गरेको अध्ययन निष्कर्ष बिहीन अर्थात अनिर्णित रहेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।
गुप्तचर निकायहरु पहिलोपटक चीनमा देखिएको कोरोना भाइरस प्राकृतिक रुपमा जनावरबाट मानिसमा सरेको हो वा प्रयोगशालामा भएको दुर्घटनाबाट मानिसमा फैलिएको हो भन्ने बिभाजित रहेको दाबी गरिएको छ ।
राष्ट्रपति बाइडेनको आदेश अनुसार गुप्तचर निकायले गरेको अध्ययन प्रतिवेदनको सारांस आउँदो केही दिनमा सार्वजनिक हुने अपेक्षा गरिएको छ ।
चीनका विदेश मन्त्रीले अमेरिकी गुप्तचर निकायको प्रतिवेदनलाई ‘विज्ञान–विरोधी’ भन्दै स्वीकार्य नहुने बताएका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अध्ययनलाई अमेरिकाले बेवास्ता गरेको वा लत्याएको आरोप चिनियाँ विदेश मन्त्री वाङ्ग यीले लगाएका छन् । अमेरिकाले आफ्नो राजनीतिक स्वार्थ पूर्तिका लागि यस्तो गरेको उनको आरोप छ ।
सन् २०१९ को अन्तिमतिर चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म विश्वभर ४० लाख भन्दा बढी मानिसको ज्यान गएको छ ।
विश्वभरका देशहरुले भाइरसको संक्रमण नियन्त्रणमा लिने प्रयास गरिरहेका बेला वैज्ञानिकहरु भने भाइरसको उत्पति कहाँ र कसरी भयो भन्ने खोजीमा लागि परेका छन् ।
वुहान शहरको भ्रमण गरि अध्ययन गरेको डब्लुएचओको टोलीले यो वर्षको सुरुमा सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा वुहानको मासु बजारबाट भाइरस मानिसमा सरेको हुन सक्ने सम्भावना बलियो रहेको उल्लेख थियो ।
सो प्रतिवेदनले वुहान इन्स्टिच्यूड अफ भाइरोलोजीमा भएको दुर्घटनाबाट भाइरस मानिसमा सरेको हुन सक्ने सम्भावना निकै दुर्लभ रहेको बताएको थियो । तर केही वैज्ञानिकहरुले भने सो प्रतिवेदन अस्वीकार गरेका थिए ।
भाइरस प्रयोगशालाबाट चुहावट भएको हुन सक्ने सम्भावनाका सम्बन्धमा विस्तृत अध्ययनको चीनले अवरोध गरेपछि गएको मे मा अमेरिकी राष्ट्रपति बाइडेनले आफ्नो गुप्तचर निकायलाई ९० दिनको समय दिएर अध्ययन गर्न आदेश गरेका थिए ।
वुहान प्रयोगशालाका केही अनुसन्धानकर्ता कोरोना भाइरसको संक्रमण औपचारिक रुपमा बाहिर आउनु भन्दा केही समय पहिले सोही प्रकृतिको लक्षणसहित अस्पताल भर्ना भएको भन्ने गुप्तचर निकायको प्रतिवेदनपछि बाइडेनले अध्ययनको आदेश दिएका थिए ।