सिमकोट– सदगुरु पैदल मार्गबाट लाप्चातर्फ लागेका छन्। सदगुरुकै चाहनाअनुसार उनको टोली हिँडेर लाप्चातर्फ लागेको हो।
उनको टोलीमै रहेका होटल तथा पर्यटन व्यवसायी विजय लामाले बिहीबार सिमकोटबाट लाप्चातर्फ सदगुरुले हिँडेर यात्रा थालेको बताए।
उनले सदगुरु हिँडेर १५ किमीको दूरीमा रहेको नाम्खा गाउँपालिकाको हेक्पा खोलासम्म जाने र त्यसपछि हेक्पा खोलाबाट लेकधिंगासम्म मोटरसाइकलमा जाने जानकारी दिए। सो क्षेत्रमा कच्ची सडक छ।
त्यसपछि बिहीबार टोली लेकधिंगामै बास बस्नेछ। शुक्रबार पनि टोली सोही स्थानमा बस्नेछ। तीन हजार पाँच सय मिटर उचाइमा रहेको लेकधिंगाबाट पर्यटकीय दृश्य अवलोकन गर्ने कार्यक्रम पनि रहेको छ।
सदगुरुका लागि धिंगाका स्थानीय बासिन्दाले लामा साँस्कृतिक झाँकी प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ। टोलीलाई बासको व्यवस्था गर्न केही शेर्पाको टोली बुधबार नै त्यसतर्फ लागिसकेको छ।
त्यससँगै हुम्लामा भएका बोलेरो जीपको पनि व्यवस्था गरिएको छ। उनी बुधबार काठमाडौँबाट नेपालगञ्ज र नेपालगञ्जबाट सिमकोट हवाई जहाजमा आइपुगेका थिए।
टोलीमा उनीलगायत ५९ जना पर्यटक र ५५ जना पर्यटक व्यवसायी पनि सँगै छन्। पैदलमार्गबाट लाप्चा क्षेत्र पुग्न टोलीले ११ दिन लगाउने कार्यक्रम छ।
सदगुरुले प्रत्येक बास बस्ने स्थानमा दुई रात बिताउनेछन्। बिहीबारबाट एघारौँ दिनमा लाप्च पुगेर टोलीले कैलाश मानसरोवरको दर्शन गर्ने कार्यक्रम छ।
यसअघि चार दिनदेखि ५५ जना कुक र गाइड तथा दुई दिनदेखि ४६ जना विभिन्न देशका सदगुरुसँग जाने पर्यटक सिमकोट बास बसेका थिए।
टोलीमा २५ जना स्थानीय भारी बोक्ने कामदारको व्यवस्था गरिएको छ। केही स्थानीय युवा पनि टोलीसँग व्यक्तिगत रूपमा लाप्चा जान लागेका छन्।

भर्खरै
लोकप्रिय






































































































































































































