
बुटवल– अविरल वर्षापछि आएको पहिरोले बुटवलमा १९ घर जोखिममा परेका छन्। बुटवल उपमहानगरपालिका वडा नम्बर–३ ज्योतिनगरमा पहिरोले एक दर्जन घरमा क्षति पुर्याएको हो।
आइतबार बिहान ५ बजे चुरेबाट खसेको पहिरोले खिम क्षेत्रीलगायत एक दर्जन स्थानीयको घरमा क्षति पुगेको छ। उनले आफूहरू सुतिरहेका बेला ढुंगासहितको लेदो आएपछि भागेर ज्यान बचाएको बताए।
पहिरो आएको चाँडै थाहा पाएकाले मानवीय क्षति हुन नपाएको स्थानीयले बताएका छन्। यहि भदौ १० गते उक्त बस्तीमाथिको चुरेमा पहिरो गएपछि स्थानीयले सावधानी अपनाउँदै आएका छन्।
पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने रिङरोडमा क्षति पुगेको छ। बुटवलको वडा नम्बर ३ र ४ माथि रहेको चुरेमा दुई वटा ठूलो पहिरो खसेको छ। सोही ठाउँमा २०५५ सालमा पनि पहिरो खस्दा ५ दर्जन घरमा क्षति पुगेको थियो।