काठमाडौँ – भ्याली एक्सप्रेसले भदौ ९ गते चाबहिलको ‘के एल टावर’ मा नयाँ शाखा सञ्चालनमा ल्यायो। यससँगै भ्याली एक्सप्रेसको ६ शाखा पुगेका छन्।
काठमाडौँ उपत्यकामा शाखा खोल्नुभन्दा पनि गुणस्तर र स्वादलाई सँग–सँगै लगेर शाखा सञ्चालनमा ल्याउने योजना रहेको भ्याली एक्सप्रेसका सञ्चालक सुरेन्द्र प्रधान बताउँछन्। यति मात्र होइन, आफूहरू उपत्यकाबाहिर जाने योजनामा समेत रहेको उनी बताउँछन्।
‘हामी भ्यालीबाहिर जाने योजनामा छौँ। त्यसैले यस्तो प्यान्डामिकमा पनि आफ्ना आउटलेट ल्याएका छौँ’, उनले भने, ‘काठमाडौँ उपत्यकामा सर्टेन नम्बरमा आउटलेट बनाउने योजना छ।’
भ्याली एक्सप्रेसलाई देशका विभिन्न ठाउँबाट ‘फ्रेन्चाइज’ को प्रस्ताव पनि आइरहेको प्रधान बताउँछन्। तर, अहिले उनी ‘फ्रेन्चाइज’ मा जाने सोचमा भने छैनन्। त्यसका लागि आफूहरूले ब्रान्ड र विश्वासलाई साथै लगेर एउटा ‘बेन्च मार्क’ कायम गरेपछि जान सकिने उनले बताए।
‘हामीले क्वालेटीको स्ट्यान्डर मेन्टेन गरेर मात्र आउटलेट खोल्ने हिसाबले अगाडि बढिरहेका छौँ’, प्रधानले भने, ‘बानेश्वर र जाउलाखेलमा छिट्टै शाखा लोल्ने प्लान छ।’
अहिलेसम्म सञ्चालनमा आएका शाखामा धेरैले रोजगारी पाएका छन् विशेषगरी विद्यार्थीले जो यसैसँग सम्बन्धित विषयमा अध्ययन गरिरहेका छन्।
प्रधानका अनुसार आफूहरूले बढीभन्दा बढी रोजगारी सिर्जना गर्ने र देशको अर्थतन्त्रमा योगदान गर्ने उद्देश्य छ। ‘अहिले हामीसँग कति सहयात्री छन् भन्ने म भन्न सक्दिनँ’, उनले भने, ‘तर हामी दुई सिफ्टमा काम गर्छाैं।’
कोभिड महामारीका बेला पनि उनले आफ्नो व्यवसाय सरकारले तोकेको मापदण्डको अधीनमा रही सञ्चालन गरिरहेका छन्। सरकारले रेस्टुरेन्टहरू होम डेलिभरी र टेक अवे’ का लागि मात्र खुला गरेको छ। तर, सरकारको यस्तो निर्णयमा उनले गुनासो गरेनन्।
धेरै रेस्टुरेन्ट व्यवसायीले रेस्टुरेन्ट भौतिक रूपमा खोल्नुपर्ने माग राखे पनि उनले भने सरकारले तोकेको मापदण्ड पालना गरी राम्रो व्यवसाय भइरहेको बताए।
उनले भने, ‘राज्यले केही गरेन म भन्दिनँ। तर राज्यले सपोर्ट गर्ने पाटो धेरै ठाउँ छन्। त्यसो भन्दैमा आफूले राज्यलाई कुरेर बसेर पनि मिल्दैन। सरकारले काम सुरु गर्ला र म केही गर्ला भनेर कहिले पनि काम अगाडि बढ्दैन। आफूले काम गर्ने वातावरण बनाएपछि सरकारको आशा गर्नु ठीक होला ।’
उनले थपे, ‘कोभिडको मार नेपालमा मात्र होइन, विश्वमै छ। जतिबेला पूर्ण लकडाउन थियो त्यति बेला हामीले पनि बन्द गरेका थियौँ। तर, जति पनि हाम्रा स्टाफ हुनुहुन्छ उहाँहरूलाई कामबाट निकालेनौँ । जुन बेला सरकारले रेस्टुरेन्ट व्यवसायलाई टेक अवे र होम डेलिभरीका लागि खुला ग¥यो त्यतिबेलादेखि नै ग्राहकको रेस्पोन्स उत्साहजनक थियो। त्यस कारण हामीले जुन ठाउँ लिएका छौँ। अहिले जति पनि ग्राहकको हामीमाथि विश्वास छ त्यसमा हामी सन्तुष्ट छौँ।’
कोरोना भाइरसले व्यवसायमा असर पारे पनि यसले अवसर पनि जन्माएको उनले बताए। ‘कोरोना भाइरसले व्यवसायलाई त असर गरेको छ। तर यसले अपर्चुनेटी पनि जन्माएजस्तो लाग्छ’, उनले भने, ‘किनभने हाम्रो यस्तो बानी थिएन। यो विदेशमा पहिलेदेखि चलिआएको कुरा हो। हाम्रोमा सकेसम्म घरमा अर्डर गरेर खाने र या रेस्टुरेन्टमै बसेर खाने। टेक अवे गरेर खाने चलन थिएन। तर यसले नयाँ बिजनेसको बाटो खोलिदिएको छ। यसले गर्दा कति यस्तो प्यान्डामिकमा धेरै राइडरले रोजगारी पाएका छन्।’
कोरोना महामारीबीच पनि धेरैले व्यवसाय सञ्चालनमा ल्याएका छन्। व्यवसाय गर्न चाहनेहरूका लागि यसबेला धेरै अवसर रहेको उनको भनाइ छ।
उनले आफूले पहिले कामको सिर्जना गर्नुपर्ने अहिले धेरै व्यवसाय पनि सञ्चालनमा आएका छन्। उनले पहिले कामको सिर्जना आफूले गर्नुपर्ने हुँदा नेपालमा धेरै अवसर रहेको बताए।
विशेषगरी अहिलेका युवावर्ग तथा व्यवसायीलाई सुझाव दिदैँ उनले भने, ‘जुनमा इच्छा छ त्यो काम गर्नुस् अथवा जुन तपाईंले काम गर्दै हुनुहुन्छ नि त्यसमा इच्छा जगाउनुस्। यो दुईटामा एउटा पनि फलो गर्नुभयो भने कुनै पनि काममा सफल भइन्छ जस्तो लाग्छ। कुनै पनि काममा आफू लगनशील र अनुशासित भएर लागेमा तपार्इंका सहयात्रीले पनि फलो गर्छन्। योचाहिँ अहिलेको जेनेरेसन र व्यवसायमा जरुरी छ।’
६ वर्षअघि चितवनबाट सञ्चालनमा आएको भ्याली एक्सप्रेसले अहिले काठमाडौँ उपत्यकामा राम्रो पकड जमाएको छ। व्यवसायमा सफल हुन मुख्य कारण लगनशीलता र अनुशासन भएको उनको भनाइ छ।
६ वर्षको अवधिमा हाल भ्याली एक्सप्रेसले काठमाडौंका मुख्य क्षेत्रमा स्थापना भएका आउटलेटबाट ग्रिल्ड चिकेन, चिकेन वर्गर, फ्राइड चिकेन, ससेज मिल, चिकेन पपकर्नलगायत परिकार उपलब्ध गराउँदै आएको उनले जानकारी दिए।
०४१ सालदेखि मासुजन्य व्यापार गर्दै आएको भ्याली कोल्ड स्टोर प्रालि (भ्याली गु्रप ) ३१ वर्षपछि फाष्टफुडको व्यापारमा प्रवेश गरेको थियो ।
कम्पनीले ३७ वर्षको दौरान मासु प्रशोधनसँगै आधुनिक दाना उद्योग र आधुनिक ह्याचरी उद्योगसमेत गरी पोल्ट्री व्यवसायलाई एकीकृत रुपमा सञ्चालन गरिरहेको उनले बताए।
भ्याली ग्रुपमा अहिले मासुजन्य व्यापारसँग सम्बन्धित देशका विभिन्न स्थानमा कोल्ड स्टोर, फिड इन्डस्ट्री, ह्याचरी उद्योग, आधुनिक वधशाला र फास्टफुड चेनहरू सञ्चालनमा रहेको पनि उनले बताए।