विश्वका अधिकांश राष्ट्रले पहिलो प्राथमिकतामा शिक्षकलाई खोप उपलब्ध गराए। नेपालमा हालसम्म पनि सबै शिक्षकले खोप पाउन सकेका छैनन्। अन्यत्र मर्यादाक्रममा शिक्षकलाई सम्मान गरिन्छ, हामीकहाँ पूरै बेवास्ता। ३५ वर्षअगाडिको जनशक्तिलाई अहिलेसम्म कुनै क्षमता अभिबृद्धिबिनै काममा कजाएर अहिलेको विश्व बजारमा प्रतिस्पर्धा गर्ने जनशक्ति उत्पादन गर्ने अभिलाषा राखिन्छ।
विश्व स्वास्थ्य संगठनले कोरोनाको तेस्रो लहरको चेतावनी दिइरहेको बेलामा कर्णाली प्रदेशको सल्यान जिल्लाको बागचौर नगरपालिका अन्तर्गत पर्ने एउटा विद्यालयले भौतिक रूपमा नै विद्यार्थीहरुलाई उपस्थित गराएर पठनपाठन सञ्चालन गर्दै आएको रहेछ। युट्युब पत्रकारद्वारा विद्यालयमा निरीक्षण गरिएको र एक शिक्षिकालाई Science को स्पेलिङ सोधेर भद्दा मजाक उडाइएको भिडियो सामाजिक सञ्जालमा आजभोलि निकै भाइरल छ। एक शिक्षिकाको चरित्र हत्या भएको छ। भिडियोमा गुरुशिक्षकजस्तो सम्मानित पेशाको अपमान गरिएको छ।
मानिसहरूका आ-आफ़्नै टिप्पणी छन्। कसैले पत्रकारलाई गाली गर्दैछन् त, कसैले शिक्षिकालाई। म पनि एउटा सरकारी विद्यालयमा नै पढाउने शिक्षिका भएका कारण त्यहाँ शिक्षिकालाई तेर्साएको हँसियाजत्रो प्रश्नवाचक चिह्नले मेरो मनमा कोपेको छ। विगत डेढ़ वर्षदेखि मैले भोगेकी छु, सरकारी विद्यालयका समस्याहरु जहाँ पर्याप्त शिक्षक दरबन्दी छैनन्, विषयगत शिक्षक छैनन्, आवश्यक भौतिक पूर्वाधार छैनन्, शैक्षिक सामग्री छैनन्। योभन्दा पनि ठूलो समस्या सम्बन्धित निकायलाई सरकारी विद्यालयप्रति केही चासो नै छैन। प्रावि दरबन्दीमा नियुक्त्त शिक्षकहरूले मात्रै पनि माध्यमिक विद्यालय चलेको छ। मावि तहमा एउटा पनि दरबन्दी छैन। प्रावि तहको शिक्षकले मावि तहमा पढाइरहँदा नतिजा राम्रो आएन भनेर दोष कसलाई दिने? तिनै प्रावि तहका अधिक कार्यभार बोकेका शिक्षकहरुलाई कि सम्बन्धित शिक्षा निकायलाई? समस्याहरु त कति छन् कति।
मकै छोडाउन बोलाएको खेतालालाई आली खन्न पठाई आधुनिक आलीको अपेक्षा गर्नु कत्तिको जायज हो? त्यो पनि मकै छोडाउने ज्यालामा।
अब फेरि लागौँ भिडियोतर्फ नै। ग्रामीण भेगको शिक्षिकाले सायद कहिले पनि यसरी क्यामेरा र माइकको सामना गर्नु परेको थिएन होला। उहाँलाई एक्कासी माइक तेर्साएर Science को स्पेलिङ भन्नुस् भन्दा आत्तिएर गलत भएको पनि हुनसक्छ।उहाँलाई Science को स्पेलिंग थाहा भएको भए राम्रो हुन्थ्यो। एक अर्थमा थाहा हुनु पनि पर्थ्यो तर उहाँलाई दक्ष जनशक्ति अभावको बेलामा राखिएको पनि त हुनसक्छ। पत्रकारज्यू, के तपाईँले उहाँले पढेको विषय के हो? संस्थागत समस्याहरु के के छन् भनेर सोध्नुभयो?
मकै छोडाउन बोलाएको खेतालालाई आली खन्न पठाई आधुनिक आलीको अपेक्षा गर्नु कत्तिको जायज हो? त्यो पनि मकै छोडाउने ज्यालामा।
यो एउटा शिक्षक र एउटा विद्यालयको मात्रै समस्या होइन। नेपालको अधिकांश सरकारी विद्यालयको अवस्था यस्तै नै छ। यो समग्र नेपालको शिक्षा प्रणालीको नै दोष हो। शिक्षकहरूको कमी कमजोरी नियगमन गर्ने छुट्टै निकाय छ। यसरी एउटा शिक्षिकाको कमजोरीमा औँला उठाउँदा तपाईँको पेशागत कमजोरीहरु पनि छर्लंङ्ग देखिएका छन्। जस्तै: व्यक्तिको गोपनीयताको ख्याल नगर्ने, मिडियाको दुरुपयोग गरेर चरित्र हत्या गर्ने। अरुलाई औँला उठाउनुभन्दा पहिले आफ्नो औँला सफा छ कि छैन, त्यो पनि हेर्न जरुरी छ।
अझ मलाई रोचक लागेको कुरा के भने गलत स्पेलिङ लेखिएकै कारण चरित्र हत्या गरेर भाइरल भएको भिडियोमा लेखिएको Highlight को स्पेलिङ नै गलत रहेछ। पत्रकारज्यू, तपाईँ वा तपाईँको टिमले Highlight को स्पेलिङ नजानेर गलत लेख्नु भएको त पक्कै पनि होइन होला। हामी सबै मानिस हौँ। मानिसबाट कहिलेकाहिँ जानेर/नजानेर, अत्तालिएर/हत्तारिएर गल्ती हुन जान्छ। यसरी सामाजिक प्रतिष्ठामै आँच आउने गरी भिडियो बनाउन जरुरी थिएन। फरक यत्ति हो, तपाईँले अब यति भएपछि त युट्युबबाट डलर बर्सन्छ भनेर जोसमा हतारिएर गलत लेख्नुभयो भने म्याडमले क्यामेरा, माइक र तपाईँको प्रश्न सोध्ने शैलीबाट अत्तालिएर गलत लेख्नुभयो।
यस्तो महामारी फैलिरहेको बिषम परिस्थितिमा विद्यालय चलिरहँदा सरकारले तोकेका मापदण्डहरु पूरा गरेर विद्यालय सञ्चालन भएको छ कि छैन? कतै विद्यार्थीहरु जोखिममा त छैनन्? विद्यालयमा विद्यार्थीहरूका लागि साबुन, मास्क र सेनिटाइजर उपलब्ध छ कि छैन भनेर निरीक्षण गर्नुभएको रहेछ। त्यसका लागि म मनदेखि नै तपाईँको प्रशंसा गर्छु। राष्ट्रको चौथो अंग र तेस्रो आँखा भएका कारण देशका विभिन्न ठाउँमा भएका बेथितिहरूको उजागर गर्नु पक्कै पनि प्रशंसनीय कार्य हो तर कसैको कमजोरीको मजाक उडाएर विद्यार्थीहरूकै अगाडि एउटा शिक्षिकालाई लज्जित बनाएको भिडियोले साह्रै नै मन दुखेको छ। आफूलाई त्यो ठाउँमा उभ्याउन खोज्दा मात्रै पनि खुट्टा काँपेको छ, आँखा तिर्मिराएको छ,चारैतिर अन्धकार छाएको छ।
यति भइसकेछि पनि फेरि पत्रकारले Maths को स्पेलिङ लेख्नुस् भनिरहँदा दुईवटा हात कम्मरमा राखेर मुस्काउँदै मास्कले पनि छेक्न नसकेर आँखामा देखिएको निर्दोष मुस्कानले साँच्चिकै मन जितेको छ। म्याडम, हतोत्साहित नहुनुहोला।

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































