
काठमाडौँ– नेपाल राष्ट्र बैंकले नोट चलनचल्तीमा (२०१६) ल्याएदेखि नै झुत्रा नोट जलाउने गर्थ्यो लामो समय नोट जलान प्रक्रिया चलिरह्यो।
नोट जलान प्रक्रियाप्रति वरपरका बासिन्दाले आपत्ति जनाए, नोट जलान प्रक्रियाबाट निस्केको धुवाँका कारण समस्या भयो भन्दै।
जलान प्रक्रिया चलिरह्यो। यस विषयमा जनताले बारम्बार आवाज उठाउन थाले। आवाज काठमाडौँबाट मात्र नभई विराटनगरदेखि धनगढी कार्यालयसम्मबाट आउन थाल्यो। उनीहरूले नेपाल राष्ट्र बैंकलाई यस्तो कार्य नगर्न आग्रहसमेत गरे।
यस विषयलाई नेपाल राष्ट्र बैंकले गम्भीर रूपमा लिँदै आधुनिकीकरण तवरबाट जानुपर्ने भनी अगाडि बढेको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले बताए।
‘चलनचल्ती अयोग्य नोटलाई हामीले (फर्नेस) भन्ने शब्द प्रयोग गर्छौं। जनताले बुझ्ने भाषामा आगो लगाएर जलाउने’, उनी भन्छन्, ‘जलान गर्ने प्रक्रियाले वातावरण प्रदूषण हुनेलगायत कुरा आउन थाले। यसै क्रममा हामीले विभिन्न देशको अध्ययन, अवलोकन, गर्यौँ। र, विस्तारै यो जलान प्रक्रिया बन्द गर्नुपर्छ भन्ने आवाज अन्तर्राष्ट्रियस्तरमा उठ्दोरहेछ। जसकारण ४–५ वर्षअघि बैंकले आधुनिकीकरण गरेर जानुपर्ने सोच बनायो।’
सरकारी काम भएकाले विभिन्न प्रक्रिया पूरा गर्नुका साथै आफूहरूसँग यस्ता खालका प्रविधि अवलम्बन गर्न नसक्नु र दक्ष जनशक्ति अभावका कारण ढिला भएको उनले बताए।
त्यसका लागि राष्ट्र बैंकले सन् २०२० को जनवरीमा झुत्रा नोट जलान अर्थात् ब्रिकेट बनाउने टेण्डर आह्वान गर्यो।
‘सन् २०२० को जनवरीमा हामीले टेण्डर आह्वान गर्यौँ। टेण्डर आह्वान गरेपछि विभिन्न कम्पनीले प्रतिस्पर्धा गर्नुभयो’, कार्यकारी निर्देशक नेपालले भने, ‘सो प्रतिस्पर्धामा नेदरल्यान्डको कुस्टल इन्जिनियरिङ कम्पनीसँग सम्झौता भयो।’
उक्त टेन्डरअन्तर्गत कम्पनीसँग ८ वटा मेसिन खरिद गर्ने सम्झौता भएको कार्यकारी निर्देशक नेपालले जानकारी दिए।
‘सम्झौता गरिसकेपछि यसलाई हामीले २ चरणमा बाँड्यौँ। पहिलो चरणमा ४ वटा मेसिन ल्याउने र यसको परीक्षण गरेर हेर्ने’, कार्यकारी निर्देशक नेपालले भने, ‘यसको काम कस्तो रहेछ र गुणस्तरीय छ या छैन । हेरिसकेपछि दोस्रो चरणको मेसिन ल्याउने हो। त्यसअनुसारको सम्झौता गर्यौँ।’
उनका अनुसार कम्पनीले नियमित तालिकाअन्तर्गत ४ वटा मेसिन सप्लाई गर्यो। ‘आएका मेसिनको काठमाडौँ, विराटनगर र वीरगञ्जमा परीक्षण सफल भएको छ। नेपालगञ्जको परीक्षण जारी छ। उहाँहरूले एक–२ दिन हेर्छौं र शुक्रबारसम्म त्यहाँ पनि ओके हुन्छ भन्ने मलाई लाग्छ’, उनले भने।

रेवतीप्रसाद नेपाल।
सबै ठाउँबाट परीक्षण पूरा भएपछि अर्को सातादेखि मेसिन सञ्चालनमा आउने बताए। केही हप्तामा सञ्चालनमा आउने मेसिनको मूल्य प्रतिमेसिन ३ लाख ८१ हजार युरो रहेको कार्यकारी निर्देशक नेपालले जानकारी दिए।
उक्त मेसिनको प्रतिघण्टामा सय केजी नोटको ब्रिकेट उत्पादन गर्ने क्षमता रहेको पनि उनले जानकारी दिए।
उनले भने, ‘मेसिनले प्रतिघण्टा सय बन्डल नोट सय नोट बन्डलभन्दा सय केजी नोटको कटिङ गरे ब्रिकेट उत्पादन गर्ने क्षमतामा छौँ। यो मेसिन दैनिक ८ घण्टा चल्न सक्छ। कम्तीमा पनि हामी २ घण्टा चलाउँछौँ। अयोग्य नोटको मात्र बढ्यो भने दिनको ८ घण्टा चलाउन सक्छौँ।’
अयोग्य नोट जति धेरै भयो त्यति धेरै ब्रिकेट उत्पादन हुने उनले बताए। अयोग्य नोट बढी हुने समय दसैँ–तिहार भएको उनले जानकारी दिए। ‘हामीले पुराना नोट लिने हो। दसैँ–तिरहारमा बढी नोट फोहोर हुन्छन्’, उनले भने, ‘दसैँ–तिहारमा दान दक्षिणा दिने चलन भएकाले त्यसमा टीका रंग लाग्छ। जसले गर्दा नोट बिग्रन्छ। हामीले असोज र कात्तिकलाई नोटको फोहोर हुने सिजन मान्छौँ।’
साना दरका (५ देखि १०० रुपैयाँ) नोटको आयु २ वर्ष र ठूला दरका (५०० र १०००) नोटको आयु ४ वर्ष भए पनि मानिसले नोटको जतन कसरी गर्छ भन्नेमा निर्भर रहने उनले बताए।
मानिसले नोटको सही तरिकाले जतन गरेमा त्यसको आयु बढी हुन सक्ने र नोट जथाभावी राख्दा, फोहोर गर्दा आयु घट्ने उनी बताउँछन्।
उनले भने, ‘साना दरका नोटको आयु दुई वर्ष र ठूला दरका नोट ५ सय र हजारको आयु ४ वर्षको हुन्छ। ती नोट (भ्यालोसिटी) कति चरणमा मान्छेको हातबाट ट्रान्समिट हुन्छ। जतनको मात्रा कति हुन्छ भन्ने आधारमा नोट कसरी फोहोर हुन्छ भन्ने कुरा त्यसले डिटरमाइन गर्ने हो।’
उनले मानिसको जतन गर्ने तरिकाको उदाहरण दिँदै थपे, ‘सहरमा बस्नेले अक्सर पर्स प्रयोग गर्छन्। त्यसरी जतन गरेर राख्दा अलि नोटको आयु लम्बिन्छ। तर आमजनसमुदायले पैसालाई धेरै जतन गरेको देखिँदैन। कसैले सिरानीमुनि, कसैले पोल्टोमा जहाँ मन लाग्यो त्यहाँ राख्छन्। पूजाआजामा पानी, अक्षता चढाउँछौँ। यसले गर्दा नोट फोहोर हुन्छ। र, नोटको आयु ठ्याक्कै यति हो भनेर डिटरमाइन गर्न कठिन हुन्छ।’
राष्ट्र बैंकसँग विभिन्न तरिकाबाट फोहोर भएका अयोग्य सबै दरका नोट २२ सय बन्डल रहेको उनले जानकारी दिए। उक्त नोटबाटै ब्रिकेट बनाउने हो।
आधुनिक तरिकाले उत्पादन गरेको ब्रिकेटको मूल्य सस्तो हुने राष्ट्र बैंकले जनाएको छ। विश्वका ९८ मुलुकले आधुनिक तरिकाले नै ब्रिकेट उत्पादन गरिरहेको र छिमेकी राष्ट्र भारतले पनि यसरी ब्रिकेट उत्पादन गरी भारतीय ५ रुपैयाँमा बिक्री गरिरहेको उनले बताए।
‘सस्तो त हुनै पर्यो नत्र पुरानो नोट कसले लैजान्छ र?,’ उनले भने।
तर हालसम्म बिक्रेटको मूल्य निर्धारण भएको छैन। मूल्य निर्धारणको काम छलफलकै अवस्थामा रहेको उनले बताए। ‘सामान्यतया किलोको आधारमा किनबेच गर्न सकिन्छ। होलसेलका आधारमा बेच्दा संस्थालाई सय केजीभन्दा कम बेच्दैनाैँ र प्रतिव्यक्ति २० केजी बेच्ने भन्ने प्रस्ताव गरेका छौँ। यो पनि छलफलका क्रममा छाैँ’, उनले भने।
यसरी उत्पादन गरेको ब्रिकेट काठमाडौँको हकमा नेपाल राष्ट्र बैंकलाई र जिल्लाका हकमा म्यानेजरले सम्बन्धित उद्योगसँग समन्वय गरेर बेच्ने र त्यसको अनुभवका आधारमा कार्यविधि बनाएर व्यवस्थित तरिकाले जाने राष्ट्र बैंकको योजना रहेको पनि उनले बताए।
‘अहिले हाम्रो इँटाभट्टा कम्पनीसँग छलफल भइरहेको छ। पेपर इन्डिस्ट्रिजसँग पनि छलफलको क्रममा छ’, उनले भने।
यसरी उत्पादित ब्रिकेट करिब एक हप्तापछि बेच्न मिल्ने पनि उनले बताए। यसका लागि सम्झौता भएको नेदरल्यान्डस्को कम्पनीले भारतका इन्जिनियर र प्राविधिक खटाएको उनले बताए। तर कोरोना महामारीका कारण इन्जिनियरिङ र प्राविधिक समयमै नेपाल आउन सक्ने अवस्था देखिँदैन।
‘जतिसक्यो चाँडो बनाउन लागिपरेका छौँ। कोभिडका कारण फ्लाइटको भाडा बढी र आए पनि क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ। जसले गर्दा अलि सजिलो अवस्था भएपछि गर्न पाए हुने भन्ने उनीहरूको भनाइ छ’, उनले भने, ‘तर हामी एज सुन एज पोसिबल गरौँ भन्नेमा छौँ। हाम्रो लगानी पनि भइसकेको छ। जतिसक्यो त्यति छिटो गर्नेमा हामी छौँ।’
यस्ता अयोग्य नोटको ब्रिकेटबाहेक अन्य विकल्प पनि हुन सक्ने जिज्ञासा मेटाउँदै उनले भने, ‘ नोटमा केही मात्रामा केमिकल मिसिएको हुन्छ। पत्रिका र नोटको फिचर अलि फरक छ। नोट कटन सफ्ट्र्याक हो। यसमा थोरै मात्रामा पोलिस्टर मिसिएको हुन्छ। अन्य केही प्रयोग गरिएका कारण नोट टिकाउपन बढाउनका लागि सहयोग गर्छ भनेर विशेष प्रकारको कागज उत्पादन गर्दै योभन्दा अन्य विकल्पमा जाने अवस्था न्यून छ।’