खाने तेल व्यवसायीले भारत पठाउँदा नेपालमा महँगाे

खाने तेल व्यवसायीले भारत पठाउँदा नेपालमा महँगाे
+
-

काठमाडौँ– भान्सामा नभई नहुने वस्तु तेल। तेलको मूल्य अहिले दिनहुँ बढिरहेको छ। जसका कारणले उपभोक्ताहरु मारमा परेका छन्।

भैंसेपाटीकी पार्वती ज्ञवाली भन्छिन्, ‘तेल नभई नहुने भएकाले मात्र हो किन्ने। कहिलेकाहीँ चाहिने भएको भए कहिल्यै किन्दैन थिएँ। तेलमा मात्रै कति धेरै खर्च हुन्छ। अरु कुरा पनि त्यस्तै महँगो। बजारमा छोइनसक्नु छ। के गर्ने होला ?’

कोरोनाले दुःख दिइरहेका बेला अब बजारमा बढेको मूल्यले सताइरहेकोे गुनासो उनको छ।

करिब चार–पाँच महिनादेखि तेलको भाउ बढिरहेको उनी बताउँछिन्। ‘करिब ४–५ महिना भयो। तेलको भाउ बढेको बढ‍्यै छ’, उनले भनिन्, ‘यसरी सधैँ चाहिने चिजको पनि भाउ बढाए कसरी बाँच्नु?’

यो उनको मात्र चिन्ताको विषय होइन। उनी त केवल प्रतिनिधि पात्रमात्र हुन्। यो हरेकको समस्या हो।

खुद्रा व्यापारी देवी मगर होलसेलबाटै आफूहरुले महँगो खरिद गरेकाले महँगोमा बेच्नु परेको बताउँछिन्। उनले भनिन्, ‘हामीले आफूखुसी बढाएको होइन। होलसेलबाटै महँगो खरिद गरेपछि एक–दुई रुपैयाँ त नाफा खानै पर्‍यो नि।’

देवीका अनुसार होलसेल पसले पनि बाहिरबाटै बढेर आएकोले महँगो भएको भन्छन्।

तेलको मूल्य भने गतवर्षको अन्त्यतिरदेखि नै बढ्दै गएको खुद्रा व्यापार संघको तथ्यांकमा उल्लेख छ।

२०७७ चैत १२ मा भुटेको तोरीको तेलको प्रतिलिटर २६० देखि ३०० रुपैयाँ रहेको खुद्रा संघले जानकारी दिएको थियो। तर भुटेको तोरीको तेलको मूल्य ३६० रुपैयाँ पुगेको छ।

यस्तै प्रतिलिटर २०० रुपैयाँ पर्ने काँचो तोरीको तेलको मूल्य बढेर अहिले २६० रुपैयाँ रहेको छ।

भटमासको तेलको प्रतिलिटर मूल्य २४० रुपैयाँ, सनफ्लावरको तेल मूल्य २५० रुपैयाँ र डाल्डा घिउको मूल्य २२० रुपैयाँ रहेको खुद्रा संघले जनाएको छ।

खुद्रा व्यापार संघको तथ्यांकअनुसार साउन २३ देखि भदौ २१ सम्मको एक महिनामा तेलको मूल्य लिटरमा ४५ रुपैयाँ र कार्टुनमा ४५० रुपैयाँले बढेको थियो। केही महिनाअघि प्रतिकार्टुन दुई हजार दुई सय रुपैयाँमा पाइने फेमिली, अमृत, सुनौलो किरणलगायत ब्राण्डका तेलको मूल्य अहिले दुई हजार तीन सय रुपैयाँ पुगेको छ।

संघका अनुसार तेलको मूल्य बीचमा ५/१० रुपैयाँ घटे पनि अहिले फेरि बढ्न थालेको छ। संघका एक कर्मचारीले नाम नबताउने सर्तमा भने, ‘अझै तेलको मूल्य बढ्छ। व्यवसायीहरुले तेल लुकाएका छन्।’

नेपालबाट खाने तेल भारत गइरहेको छ उनकाे दावी छ। नेपालमा तेल सस्तो छ तर भारतमा महँगो।

‘त्यसैले  व्यवसायीले उतै पठाउँछन्’, उनले भने, ‘अनि मूल्य बढ्दैन ? सरकारले अनुगमन नै गर्दैन।’

तर नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले भने तेलको कच्चापदार्थ तेस्रो मुलुकबाट आयात गर्नुपर्ने भएकाले तेलको मूल्य बढेको जनाएको छ।

उत्पादक संघले मंगलबार विज्ञप्ति जारी गर्दै संघले सहायक कच्चा पदार्थ र प्याकिङ्ग सामग्रीमा प्रयोग हुने सामानको मूल्यसमेत अन्तर्राष्ट्रिय बजारमा अत्यधिक वृद्धि भएको जानकारी दिएको छ।

साथै विश्वभर फैलिएको कोरोना भाइरस तथा विश्वको राजनीतिक घटनाक्रमले तेलको मूल्यमा समेत अस्वाभाविक रुपमा वृद्धि हुन गएको हो, जुन हालसम्मको ऐतिहासिक मूल्यवृद्धि रहेको उत्पादक संघको दावी छ।

खाने तेलमा भन्सार महसुल १० प्रतिशत र मूल्य अभिवृद्धिकर १३ प्रतिशत भएकोले १७ महिनामा कच्चापदार्थको मूल्यमा भएको दोब्बरभन्दा बढी वृद्धिका कारण गत वर्षमा महसुल सरदर २० रुपैयाँ प्रतिलिटर रहेकोमा हाल सरदर ४५ रुपैयाँभन्दा बढी पुगिसकेको उत्पादक संघको विज्ञप्तिमा उल्लेख छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा भटमास खेती २६ हजार हेक्टरमा गरिन्छ । वार्षिक करिब ३४ हजार ४३४ टन उत्पादन हुन्छ । तेलहन (तोरी, आलस, सनफ्लावर) खेती २ लाख ६१ हजार ४३२ हेक्टरमा हुन्छ । यसबाट वार्षिक २ लाख ७४ हजार ५ सय ४ टन उत्पादन हुन्छ । उक्त उत्पादन स्वदेशी उपभोक्तालाई पुग्दैन। जसका कारणले उद्योगहरुले क्रुड सोयाविन तेल, क्रुड सनफ्लावर तेल र तोरीको गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्ट्रेलिया, युक्रेनलगायतका देशहरुबाट आयात गर्छन्।

यसरी मुख्य कच्चापदार्थ अन्तर्राष्ट्रिय बजारबाट आयात गर्दा अन्तर्राष्ट्रिय बजारको व्यापारअनुरुप नै नेपालको बजारको समेत मूल्य निर्धारण गरिएको उत्पादक संघको दावी छ। तर महँगीको चपेटामा सबैभन्दा बढी उपभोक्ता परेका छन्।

भन्सार विभागको तथ्यांकअनुसार २०७७/७८ मा ५३ अर्ब ३८ करोड ७८ लाख रुपैयाँको ४५ करोड २६ लाख २६ हजार ५ सय किलो भटमासको तेलकाे कच्चापदार्थ आयात भएको छ।

यस्तै २०७६/७७ मा १८ अर्ब ७२ करोड ३६ लाख रुपैयाँको १९ करोड ९५ लाख ३६ हजार १ सय २६ किलो भटमासको कच्चापदार्थ आयात भएको थियो । तथ्यांकअनुसार निर्यातमा भटमासको तेल पहिलो नम्बरमा रहेको छ।

यसैगरी २०७७/७८ मा ५३ अर्ब ६५ करोड १६ लाख रुपैयाँको २९ करोड ८० लाख ४३ हजार किलो भटमास तेल निर्यात भएको भन्सार विभागले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?